कीर्तिमानी अंगुरबाबा
बुहारी पढायो भने सासूलाई हेप्छे भनेर निकै हल्लाखल्लासमेत भएछ। तर, अन्ततः उनलाई पढाउने कुरामा सासू पनि राजी भइन्।
आजभन्दा ८८ वर्षअघि काठमाडौंको डिल्लीबजारस्थित पन्त परिवारमा दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि परिवारमा खासै खुसीयाली थिएन। त्यति मात्र होइन, अढाई वर्षसम्म बालिकाको बोलीसमेत नफुटेपछि घरका मात्र होइन आउने जानेले समेत उनलाई लाटी भनेर बोलाउन थालेछन्। ‘यो लाटीले कसरी घर गरेर खाली’ भन्ने आफ्नी आमाको हरबखतको चिन्ता र आफ्ना दौंतरीहरूको सक्रियता देखेर ती अबोध बालिकालाई लघुताभास भएछ। ती बालिका थिइन्, अंगुरबाबा जोशी।
‘म जन्मँदै ‘थ्यालिसिमिया माइनर’ भन्ने रोग बोकेर आएकी रहेछु। त्यसैले मेरा शरीरका अंगहरूमा पर्याप्त अक्सिजन नपुगेर बारम्बार मूच्र्छा पर्ने र दुगुर्न नसक्ने भएँछु।’ तिखो स्वरमा जोशीले भनिन् ‘मभन्दा १३ महिनापछि भाइ कृष्णप्रसाद पन्त जन्मिए। दुई छोरीपछि जन्मिएको हुनाले उनको भाउ नै अर्कै भयो।’
सुरुमा हेलाँ गरिएकी अंगुरबाबा विस्तारै सबैकी प्यारी हुँदै गइन्। बुवाआमाले सँगसँगै हिँडाउन थाले। त्यसबेला छोरीलाई पढाउने चलन थिएन। पन्त परिवार एकदमै आध्यात्मिक भएकाले गुरुहरू आवत्जावत गरिरहन्थे। कथा, प्रवचन भइरहन्थे। यो प्रभाव उनमा पनि पर्यो। केटाकेटीलाई समेत गीता पाठ गर्ने र माला जपेपछि मात्रै खाने नियम बनाइएको थियो। भन्छिन्, ‘मैले सानैदेखि मानवीय मूल्य मान्यताका कुराहरू थाहा पाएँ। सत्य, निष्ठा, शत्व्यवहार, चारित्रिक शुद्धता र आध्यात्मिक चेतनालगायतका कुरा बुझेँ।’
‘काका र बुवाका गरी हामी नौजना केटाकेटी एउटै छानामुनि हुर्कियौं। भाइहरू अंग्रेजी पढ्न थाले। दिदी र मलाई हिन्दी मात्रै पढाउने कुरा भयो। आत्माराम गुरुले भाइहरूलाई अंग्रेजी पढाउँदा दिदी र मलाई समेत अंग्रेजी पढ्ने रहर जाग्यो।’ विगत सम्झिँदै जोशी भन्छिन्, ‘हामी भाइहरूका किताब चोरेर पढ्न थाल्यौं। एकदिन गुरुले पाठ सोध्दा भाइहरूले जानेनन्। हामीले खरर भनिदियौं। त्यसदिन आमा पनि हुनुहुन्थ्यो। गुरुले आमालाई दुलही नानी छोरीहरूले पनि अंग्रेजी पढ्न ज्यादै रहर गरे बाबु हजुरलाई बिन्ती गरिदिनुपर्यो, भन्नुभयो।’ यसरी दिदीबहिनीको समेत अंग्रेजी पढाइ सुरु भयो।
सात वर्षकै उमेरमा उनका भाइको व्रतबन्ध भएछ। व्रतबन्धमा गुरुले दोसल्ला ओढाएर गायत्री मन्त्र सुनाएको दृृश्य देखेपछि उनका मनमा उत्सुकताको सीमा नै रहेन। नङ र मासुजस्तो मिल्ने भाइलाई सोध्दा कसैलाई नभन्नु भनेको छ सान्दिदी भन्ने जवाफ पाइन्। उनका मनमा गायत्री मन्त्र जान्ने उत्कट अभिलाशा थियो। शिवरात्रिका बेला फोटो बेच्दै हिँड्ने साधुसँग सरस्वतीको फोटो किनिन्। संयोगवश त्यसमा गायत्री मन्त्रसमेत लेखेको रहेछ। मन्त्र कण्ठ पारेर सुनाउँदै हिँड्दा बडिमुमाले ‘छोरी भएर गायत्री मन्त्र भन्ने’ भनेर झाँको झारिछन्।
उनका बुवाको खेतीपाती मधेसमा पनि थियो। खेती लगाउन, उठ्तीपुठ्ती गर्न बेलाबेला मधेस जाने चलन थियो। कहिलेकाहीँ उनीहरू पनि जाने मौका पाउँथे। हात्ती र घोडामा सवार भएको घटना अंगुरबाबाका स्मृतिमा आजपर्यन्त ताजै छ। उनका बुवा होमियोपेथीको बाकस बोकेर गाउँगाउँ डुल्दै बिरामीको उपचार गर्थे। एकदिन अंगुरबाबा पनि आफ्ना बुवाका साथ लागेर गाउँ घुम्न निस्किइन्। एक मधेसी महिला छातीमा घाउ बोकेर छट्पटाइरहेकी रहिछन्। त्यो दर्दनाक दृश्य देखेर अंगुरबाबाका बाबुले तिनको घाउ सफा गरिदिन अह्राए। ‘सायद, त्यो नै मेरो पहिलो समाजसेवा हुनुपर्छ,’ जोशीले भनिन्।
उनका पालामा रजस्वला हुनुपूर्व नै विवाह गर्ने चलन थियो। छोरी मोटी र हेर्दा पनि उमेरदार देखिन थालेपछि उनकी आमालाई चिन्ताले सताउन थालेछ। डिठ्ठा चन्द्रकान्त जोशीका नाति बलराम जोशी त्यसबेला १२ वर्षका थिए। उनैसँग बिहेको कुराकानी छिनियो र बिहे सम्पन्न भयो। २०५० सालसम्म ५० वर्ष सात महिना चखेवाकै जोडीझैं बसे। प्रा.डा. जोशी हाल बितिसकेका छन्।
बिहेअघिकै सल्लाहअनुसार अंगुरबाबाको पढाइलाई निरन्तरता दिने बारेमा उनका बुवा र सासूबीच कुराकानी भएछ। बुहारी पढायो भने सासूलाई हेप्छे भनेर निकै हल्लाखल्लासमेत भएछ। तर, अन्ततः उनलाई पढाउने कुरामा सासू पनि राजी भइन्। इतिहास, भूगोल आदि विषय उनका श्रीमान्ले नै पढाएछन्। संस्कृत गोपालनिधि तिवारीले पढाएछन्।
‘त्यसपछि मेरा दुलाहाले दुवैजनाले सँगै एसएलसी दिने भनेर प्रस्ताव राख्नुभयो। हामीसँगै परीक्षामा सामेल भयौं। त्यो साल हामी महिला परीक्षार्थी सहाना प्रधान, साधना प्रधान, भुवन सिंह र म सहभागी थियौं। भुवन सिंह मोटरमा आउनुहुन्थ्यो, सहानाजीहरू हिँडेर। म चाहिँ तामदानमा चढेर परीक्षा दिन जान्थेँ। पछि रिजल्ट आयो, हामी दुवै जना पास भयौं। नेपालको इतिहासमा पहिलो पटक सँगै एसएलसी पास गरेको घटना थियो त्यो। त्यतिबेलाको जस्तो खुसी मैले जीवनको कुनै सफलतामा पनि अनुभव गरेको छैन।’
एसएलसीपछि १४ वर्षीया अंगुरबाबा र उनीभन्दा एक वर्ष जेठा श्रीमान् बलराम जोशीले सँगै विज्ञान विषय लिएर पढ्ने सल्लाह गरे। उनको समेत कागजात त्रिचन्द्र कलेजमा लगियो। महिला भएकै कारणले उनको भने भर्ना रोकियो। यो घटना सँगै उनको वैज्ञानिक बन्ने सपना तुहियो। उनले मानविकी विषय रोजिन्। साइन्स, संस्कृत विषय लिएर घरमै पढ्न थालिन्। उनलाई पढाउन घरमै प्राध्यापकहरू आउँथे। फाइनल परीक्षाको समयमा जेठो छोरो जन्मिएकाले परीक्षा औसत रह्यो।
उनका बुवा र सासूबीच घरमा पढेर मात्रै पढाइ राम्रो नभएको बारे छलफल भएछ। त्यसपछि उनी पनि आफ्ना श्रीमान् र भाइसँगै बनारस गइन्। त्यहाँ दुई वर्ष उमन्स कलेज र दुई वर्षको एजुकेसनमा पढिन्। राजनीतिशास्त्रमा एमए गरिन्। उनका श्रीमानले एमएस्सी गरेर सँगै नेपाल फर्किए।
नेपाल फर्किंदा डिल्लीबजारस्थित वसन्त शमशेरको घरमा पद्मकन्या कलेज खुलिसकेको थियो। उनले लेक्चररको रूपमा बीएको कक्षा लिइन्। ल कलेज खुलेपछि बीएलमा भर्ना भइन्। बीएल पास गर्ने उनी नेपालको पहिलो महिलासमेत बनिन्।
श्रीमान्सँगै उनले पनि ब्रिटिस काउन्सिलको छात्रवृत्तिका लागि दरखास्त दिइन्। श्रीमान्को रेकर्ड राम्रो भएकाले तत्कालै फाइल पठाइयो। तर उनको रोकियो।
तत्कालै शिक्षामन्त्रीकै अध्यक्षताको सांस्कृतिक टोलीमा उनलाई चीन जाने मौका जुर्यो। भ्रमण टोलीमा बालकृष्ण सम, धर्मराज थापाहरू पनि थिए। ३४ दिनको भ्रमणबाट फर्किएपछि राजा महेन्द्रले ब्रिफिङका लागि बोलाए। महिलाको तर्फबाट अंगुरबाबाले आफ्ना धारणा राखिन्। त्यसपछि राजाको टेबलमा गएर आफ्नो फाइल रोकिएकोबारे बिन्ती गरिन्। शिक्षामन्त्रीले हेरिहाल्नुहुन्छ नि भनेर राजाले जवाफ दिए। नभन्दै भोलिपल्टै उनको फाइल पठाइयो। उनी चार वर्षपछि बेलायतबाट डिलिट् गरेर फर्किइन्। भन्छिन् ‘नेपालबाट विदेश पढ्न जाने पहिलो नेपाली महिला पनि म नै रहेछु।’
बेलायतबाट फर्किएपछि अंगुरबाबा पद्मकन्या क्याम्पसको प्रिन्सिपलमा नियुक्त भइन्। ‘म १८ वर्ष पद्मकन्यामा हुँदा हरसमय क्याम्पसको हितका बारेमा सोचेँ। मेरा आफ्नै सिद्धान्तहरू थिए। काठमाडौंकालाई छाडेर बाहिरकालाई प्राथमिकता दिएँ।’ आफूले साइन्स पढ्न नपाएकैले उनले साइन्स विषय सुरुआत गरिन्। बाल्यकालमा कुनै पनि खेलमा सहभागी हुन नपाएकी उनले खेलकुदको सुरुआत गरिन्। क्याम्पसमा धनी र गरिबबीचको विभेद हटाउन साझा पोसाकको व्यवस्था गरिन्। नानीहरूलाई गाउँसेवामा लान सुरु गरिन्। जग्गा अधिग्रहण गरेर पद्मकन्या क्याम्पसको अहिलेको ठूलो भवन बनाइन्।
संविधान मस्यौदा समितिको सदस्यसमेत रहेकी अंगुरबाबालाई महिला संगठनको काठमाडौं सभापति बनाइयो। त्यहाँ उनले नौ वर्ष बिताइन्। सहर र गाउँका महिलाबीच सद्भाव बढाउने काम गरिन्। भन्छिन्, ‘नौ वर्षपछि मैले संस्था छाड्दा हाम्रो संस्थाले पाँच सय केटाकेटी पढाउँथ्यो। तीनवटा स्वास्थ्य संस्था सञ्चालनमा थिए। काम खोजिरहेका महिलालाई रोजगारी सिर्जना गर्न तीन वटा रेस्टुरेन्ट सञ्चालनमा थिए। हामीले चीन र रसियाबाट सामान ल्याएर व्यापार पनि गर्यौं। हाम्रो सामाजिक सेवाको इतिहासमा आफैं कमाएर सेवा गर्ने पहिलो संस्था हो।’
उनले आठ वर्षअघि गार्गी कन्या गुरुकुल खोलिन्। उक्त संस्थाबाटै दलित छोरीहरूलाई हात हल्लाएर वेद पढ्ने बनाइन्। ‘समाजमा व्याप्त जातीय विभेदका कुरा चिर्न यो काम गरेकी हुँ। हाल यो संस्था चितवनको देवघाटमा सारिएको छ। आज पनि यो संस्था सञ्चालनका लागि भीख मागिरहेकी छु।’
पद्मकन्याको अनुभव सुनाउँछिन्, ‘अंगुरबाबाले काम गरिन भनेर त कसैले पनि भन्न सकेनन्। भ्रष्टाचार गरी भनेर कतिपयले खोइरोसमेत खने। तर मेरो कामको सर्वत्र चर्चा थियो। यस्ता आलोचनाले मलाई काममा हौसला मिलिरह्यो। मलाई आजको अवस्थासम्म आइपुग्न सहयोगी साथीहरू र आलोचक बन्धुहरूले धेरै योगदान गरेका छन्। १८ वर्षसम्म एउटै पदमा काम गर्दा एकपटक बढुवा नहुँदा पनि मैले हरेश खाइनँ।’
अंगुरबाबाको शरीरमा आज पनि १० थरी निको नहुने रोग छन्। उनले दुई पटक क्यान्सर पचाइन्। मुटु फेल हुँदा पनि हरेश खाइनन्। गत साल पनि मृत्युको मुखमै पुगेर फर्किइन्। प्राणायाम, योग र ध्यान आफू दीर्घायु हुनुको कारण बताउँछिन्। ‘मलाई कसैसँग रिसराग छैन। असन्तुष्टि छैन। स्वाध्ययन गरिरहेकी छु। बेलामौका किताबहरू पनि लेख्ने गरेकी छु।’
उनी आफ्नो जीवन यात्रासँग निकै सन्तुष्ट छिन्। भन्छिन्, ‘मैले जीवनमा पछुताउनुपर्ने र क्षमा माग्नुपर्ने कुनै काम गरेकी छैन।’