बौद्धिक परिकल्पनाकार
राजनीतिज्ञहरू एक निर्वाचनदेखि अर्को निर्वाचनसम्मको चिन्ता बेसी गर्छन्। बौद्धिकहरू चाहिँ एक युगदेखि अर्को युगसम्मको परिकल्पनामा चिन्तनरत हुन्छन्। प्रा. पिताम्बर शर्माको जीवनानुभव त्यस्तै छ। मंगलबार साँझ सानेपामा आफ्नो जीवनका उकालीओराली सम्झँदै गर्दा उनले भने, ‘राजनीतिज्ञलाई देशको दूरगामी भविष्यले नतड्पाउने रहेछ, जो हामीजस्तो सामान्य मान्छेलाई तड्पाउँछ।’
उनी आफूलाई सामान्य मान्छेकै हारमा राख्छन्। जिन्दगीको एक हरफ सामान्य गतिशीलतामै बितेको ठान्छन्। ‘सामान्य किनभने मैले कुनै ठूलो सपना र क्रमिक योजनामा कहिल्यै काम गरिनँ,’ हँसिलो मुद्रामा आत्मसमीक्षा सुनाए, ‘भाग्यमा त विश्वास गर्दिनँ तर चलनचल्तीमा भनिनेजस्तो म भाग्यमानी नै हुँ। व्यवस्थित जिन्दगीबारे कहिल्यै सोचिनँ। बाल्यकालदेखि हजुरबाको राम्रो रेखदेखमा काठमाडौंमा बसेर पढ्न पाएँ। उच्च शिक्षाका लागि बेलायत र अमेरिकामा पढ्ने छात्रवृत्ति पाएँ। त्रिविमा सजिलै जागिर पाएँ। जिन्दगीमा दुःख कहिल्यै भोग्नु परेन। रोजमर्राको जिन्दगीसँग मेरो कुनै गुनासो थिएन।’
चार दशक करीबदेखि पीताम्बर नेपाली बौद्धिक जगत्मा भूगोल, आवधिक योजना, जनसंख्या, राज्य पुनर्संरचना, पर्वतीय पर्यटन, प्रादेशिक योजना, सहरीकरण, बसाइँसराइँलगायत नीति निर्माणका वैविध्य विधामा निरन्तर कर्मशील छन्। यो निरन्तरता मात्रै उनको पूर्णाङ्ग परिचय होइन, सामाजिक–राजनीतिक रूपान्तरणका मोडहरूमा पक्षधरतासहितको बौद्धिक हस्तक्षेपलाई पनि उनले आफ्नो कर्तव्य सम्झे।
पञ्चायतको उत्तराद्र्धमा ‘झिल्को’ पत्रिका बौद्धिक–वामहरूको मञ्च थियो। त्यसका प्रमुख लेखक पीताम्बर पनि थिए। ‘मलाई बाबुरामजी (डा. बाबुराम भट्टराई)ले झिल्को पत्रिकामा लेख्न लगाउनुहुन्थ्यो’, भने, ‘त्योभन्दा अघि जनसंख्या विभागमा काम गर्दा ‘टुकी’ पत्रिकामा नेपाली भाषामा लेख्ने अभ्यास गरें। टुकीमा ईश्वरबल्लभ, जीवन आचार्य सम्पादक टिममा हुनुहुन्थ्यो।’ पचासको दशकान्त्यतिर संविधानसभा राजनीतिक बहसमा प्रवेश गर्दै थियो। धेरै बौद्धिकहरू ०४७ सालको संविधानकै प्रतिरक्षामा प्रतिबद्ध थिए। मूलधारका राजनीतिक दल संविधानसभालाई सम्पूर्णतः इन्कार गरिरहेका थिए। पीताम्बर ती थोरै बौद्धिकमध्ये पर्छन्, जो सार्वजनिक रूपमा संविधानसभाका पक्षमा उभिए। राजा ज्ञानेन्द्रको कदमविरुद्ध र संविधानसभाका पक्षमा उनले लेखे– संविधान सभासँग के–को डर ? मौन बसेका बौद्धिकहरूलाई संकेत गर्दै उनले ‘राजनीतिक परिवर्तन ल्याउन आलोचनात्मक विचारद्वारा र जनमत सिर्जना गरेर दलहरूलाई पुट पुर्याउनु’लाई बौद्धिकहरूको दरकारका रूपमा व्याख्या गरे। अनि आफू स्वयं पनि आलोचनात्मक विचारमा अडिग रहे।
झिल्कोमा लेख्न थालेपछि उनको सार्वजनिक बौद्धिक व्यक्तित्व थप मुखर भयो। प्रा. शर्मालाई नजिकबाट अध्ययन गरिरहेका लेखक तथा सम्पादक राजेन्द्र महर्जन भन्छन्, ‘झिल्को र मूल्यांकन म्यागेजिनमा उहाँले निरन्तर आफ्नो बौद्धिक उपस्थिति जनाउनुभयो। संविधानसभा, राज्यको पुनर्संरचनाजस्ता विषयमा अन्य बौद्धिकहरू मौन रहेका बेला उहाँले सशक्त र प्रस्ट खाकासहित लेख्नु–बोल्नुभयो।’
तीन दशकअघि झिल्कोमै उनले पेश गरेको निचोड अझै उत्तिकै सान्दर्भिक छ। उनले भनेका थिए, ‘भारतमाथिको परा श्रयबाट माथि उठ्न नेपाली शासकहरूको वर्गीय र राजनीतिक बनोटमा ती बहुसङ्ख्यक नेपालीको प्रतिनिधित्व आवश्यक पर्छ, जसको प्रतिनिधित्व आजसम्म भएकै छैन।’ नेपालमा उदीयमान हुने नयाँ वर्गीय संरचनाले मात्र नेपाल–भारत सम्बन्धलाई बहुसङ्ख्यक नेपालीका पक्षमा निधो र मध्यस्थता गर्न सक्ने उनको विचार थियो। र, अझै छ।
०००
भूगोल तथा योजनाविद् प्रा. शर्मा पर्वत फलेवासको मध्यम किसान परिवारमा (२००३, माघ) जन्मे। आमा तेजकुमारी र बाबु ईश्वर शर्माका २ छोरी र ३ छोरामध्ये उनी माइला हुन्। हजुरबा भवानीप्रसाद राणादरबारका बिचारी थिए। चन्द्रशमशेरसँग विवाद परेपछि उनी छ महिना थुनिए, छुटेपछि बटौलीतिर व्यापार गर्न गए। राणा–नेपाल (त्यतिबेलाको काठमाडौं)मा राणा रहुन्जेल आउँदिन भनेर हिंडेका भवानीप्रसाद ०१३ सालमा राणातन्त्र मासिएपछि ९ वर्षका पीताम्बरसहित नातिहरू बोकेर फेरि छिरे। ‘हामीलाई हजुरबाले नै काठमाडौं ल्याएर फर्पिङ स्कुलमा भर्ना गरिदिनुभयो, मेरो स्कुले शिक्षा त्यहीं पूरा भयो’, शर्माले सुनाए, ‘फर्पिङको स्कुलमै मेरो पुस्तक पढ्ने, पुस्तकालय जाने बानी बस्यो।’
शिक्षाप्रति हजुरबाको अनुरागले शर्मा–परिवार मात्रै दीक्षित भएन, सिंगो फलेबास पनि कालान्तरमा पर्वतको शिक्षा–केन्द्र बन्यो। छोराछोरी र नातिनातिनालाई कख सिकाउन १९८० सालतिर भवानीले घरमै पण्डित राखेका थिए। ‘घरमा सामन्ती प्रथाका धेरै अवशेष बाँकी थिए’, पितृ योगदान सम्झँदै पीताम्बरले भने, ‘तर हजुरबाले छोरी र दलितलाई ०१० सालपछि निःशुल्क स्कुल पढ्न लगाउनुभयो। बीचमा व्यापार गर्न जाँदा उहाँ अंग्रेजहरूले ल्याएको विकासबाट पनि प्रभावित हुनुभएको हुनुपर्छ। हजुरबाकै कारण मेरी फुपूहरूले पनि पढ्नुभयो। फलेबासमा प्रत्येक दलित परिवारमा कम्तीमा एसएलसीसम्म पढ्ने–लेख्नेहरू छन्।’ उनका हजुरबाले जमिन र पैसा दिएर स्थापना गरेको त्यही स्कुलमा कम्युनिस्ट नेता निर्मल लामा, लेखक बालचन्द्र शर्मा र कवि भीमदर्शन रोका पनि पढाउन पुगेका थिए। नेपाली राजनीति र साहित्य जगतका यी तीन हस्ती पीताम्बरका साइँलो काका जयाप्रसाद शर्माका सँगाती थिए। जयाले नै आफूलाई फलेबास पुर्याएको लामाले आत्मकथामा उल्लेख गरेका छन्।
हजुरबा बितेपछि बाले खबर पठाए, ‘पीताम्बर, हजुरबाको ऋण तिर्छस् भने गाउँमा पढाउन आइज।’ त्यसपछि भर्खर एमए सकेर बसेका उनी ०२३ सालमा झोला बोकेर फलेबास फर्के। हजुरबाले खोलेको र हजुरबाकै नाम राखिएको भवानी विद्यापीठमा एक वर्ष हेडमास्टरी गरे। ‘मैले गाउँको वास्तविक चित्र फलेबासमा एक वर्ष बस्दा सबैभन्दा धेरै अनुभव गरें’, उनले भने, ‘नेपाली गाउँठाउँ बुझ्ने त्यो महत्वपूर्ण मोड थियो। समाजका अन्तरसम्बन्ध बुझ्ने कार्यशाला बन्यो, त्यो अवधि।’
०००
त्रिचन्द्र क्याम्पसमा आईए, बीए सकेपछि त्रिविबाट उनले भूगोलमा एमए गरे, २० वर्षमै। त्रिविको पछिल्लो वर्ष उनका गुरु थिए, भूगोलव् िडा. हर्क गुरुङ। पीताम्बर डा. गुरुङका विश्वविद्यालयीय शिष्य मात्रै भएनन्, त्यसपछिको बौद्धिक बाटोमा पटक–पटक उनका पाइला पछ्याइरहे। एडिनबरा विश्वविद्यालय, जहाँ गुरुङले पढेका थिए, पीताम्बर त्यहीं पुगे। त्रिविबाट हर्क गुरुङ निवृत्त भएपछि त्यही दरबन्दीमा ०२९ सालमा पीताम्बर प्रवेश गरे। फेलोसिपमा गुरुङ हवाई पुगेका थिए, पीताम्बर पनि पछि त्यहीं पुगे। जनसंख्या आयोगमा काम गर्दा गुरुङसँग संयोजन गर्ने जिम्मा पनि पीताम्बरकै थियो। भन्छन्, ‘मेरो जीवन डा. गुरुङका पाइला–पाइला पछ्याएजस्तो भएको छ।’
ब्रिटिस काउन्सिलमा छात्रवृत्ति प्राप्त भएपछि उनी एडिनबरा विश्वविद्यालय पुगे। त्यहाँ प्लानिङमा पोस्ट ग्राजुएट डिप्लोमा गरे, सिभिक डिजाइन एन्ड रिजनल प्लानिङमा एमएस्सी गरे। एमएस्सी थेसिसको शीर्षक थियो, ‘रिजनल डेभलपमेन्ट एन्ड रोल अफ मल्टीपर्पोज प्रोजेक्ट्स विथ स्पेसल रिफरेन्स अफ नेपाल।’ आफ्नो अध्ययन कति अपूर्ण छ भन्ने अनुभूत एडिनबरा पुगेपछि भएको उनी बताउँछन्। त्यही अवधिमा उनले अनेक विषयका अनेकाअनेक पुस्तक पढे। ‘माक्र्सवादी ज्ञानको अध्ययन पनि मैले त्यहीँ बढाएँ’, भन्छन्, ‘बीए पढ्ने समयदेखि विश्वसाहित्यका दोस्तोएभ्स्की, टल्सटाय खुब पढेको थिएँ तर अध्ययनको दायरा बढाउन एडिनबराले सिकायो।’
त्रिविमा उनको अढाई दशकावधि बित्यो। त्यसअवधिमै उनी जनसंख्या आयोगमा बसेर काम गरे, जनसंख्या रणनीति बनाए। इसिमोडमा ११ वर्ष योजनाविद् रहे। फूलब्राइट छात्रवृत्तिमा कोर्नेल विश्वविद्यालय गएर ‘सहरी तथा प्रादेशिक योजना’मा पीएचडी गरे। फेलोसिपमा हवाई गए। ‘नेपालमा सहरीकरण’लगायत आधा दर्जन पुस्तक लेखे। विश्वविद्यालयमा प्राध्यापक संघको अध्यक्ष भए। गणतन्त्र स्थापनापछि राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भए। सय दिनमै राजीनामा गरे।
उनलाई यो सबै यात्रा जिन्दगीको सिकाइ भन्ने लाग्छ। ‘सरकार कसरी चल्छ भन्ने मैले जनसंख्या आयोगमा रहँदा सिकें, आफ्नो ज्ञानको सीमा एडिनबरा पुगेर थाहा पाएँ, योजना आयोगमा पुगेर मैले राजनीतिज्ञको अविश्वसनीयता चाल पाएँ’, उनले सुनाए। राज्यपुनर्संरचनाको चरणमा संघीयताबारे दलहरूले आफूसँग अपेक्षा गर्लान् भन्ने उनले सोचेका थिए। व्यंग्यात्मक स्वरमा भने, ‘तर दलहरू त आफै जान्ने पो रहेछन्।’
०००
नेपाली समाजको विभेदी संरचनाबारे शर्माको चिन्ता उस्तै छ। एक लेखमा उनले भनेका छन्, ‘हिन्दू वर्णव्यवस्थाले जातका माध्यमबाट कुनै समूहको आय र जीविकाको स्रोत; सामाजिक उत्पादनका साधनमा पहँच र नियन्त्रण तथा उत्पादनका सम्बन्धहरूको स्वरूपमा अवश्य पनि प्रभाव पार्यो। भूमिपति, जमिन्दार, सुदखोर, महाजन सबै ‘उच्च जात’का हुनु काकताली होइन, जातमा आधारित सामाजिक श्रम विभाजनको एउटा निश्चित उपज थियो। त्यस्तै, सीमान्त किसान, भूमिहीन र ठूला भूमिपतिहरूकहाँ श्रम र सीप बेच्ने ‘तल्लो जात’का दलितहरू समाजको सबैभन्दा तल्लो र विपन्न वर्गमा परेको यथार्थ अहिलेसम्म पनि कायमै छ। वास्तवमा सामाजिक उत्पादन प्रणाली जातद्वारा निर्देशित भएकाले जात र वर्गको सामञ्जस्य देखिएको हो। निश्चय पनि सबै ‘उपल्लो जात’काहरू माथिल्लो वर्गमा पर्दैनथे, तर उनीहरूका निम्ति माथिल्लो वर्गमा जाने ढोका सापेक्षिकरूपले फराकिलो र सहज हुन्थ्यो, जुन ‘तल्लो जात’का लागि थिएन। दलितका लागि त त्यस्तो ढोका बन्द नै हुन्थ्यो।’
नेपाली बौद्धिक जगत् भने यतिबेला सरकारी–समृद्धिको शंखघण्ट अनुरणनमा मस्त छ। शर्माले डेढ दशकअघि भनेका थिए, ‘विकास बजारको अदृश्य हातबाट स्वस्फूर्त रूपमा हुन्छ भन्ने सोचाइ नेपालको सन्दर्भ र विश्वव्यापीकरणको सन्दर्भमा मृगमरिचीका हो।’ विकास होस् या समृद्धि, राष्ट्रियता होस् या प्रादेशिक योजना, पीताम्बर विकल्पबारे निरन्तर परिकल्पना गरिरहन्छन्। कुराकानीमा होस् या लेखनमा, उनी सोभियत संघको राष्ट्रिकतासम्बन्धी अभ्यासमाथि रोजा लक्जम्वर्गले राखेको असहमतिको जीवन्तता सम्झाइरहन्छन्। कम्युनिस्ट घोषणापत्रको दोस्रो अध्यायको अन्तिम उपवाक्य पनि उनी प्रायः दोहोर्याइरहन्छन्, जसमा पुँजीवादको विकल्प–समाजबारे भनिएको छ, ‘प्रत्येक व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त हुनेछ।’