निसाफमा निर्भीक
सेवानिवृत्त भएयता सुशीलाको यात्रामा लेखकीय एडभेन्चर थपिएका छन्। हालै उनको आत्मकथा ‘न्याय’ प्रकाशनपछि २०४७ सालतिर लेखेको उपन्यासको पाण्डुलिपि रिभाइज गर्दैछिन्।
छोरीको स्कुलका अन्तिम वर्षहरूमा डिल्लीबहादुर कार्कीको रहर थियो, ऊ डाक्टर बनोस्।
तर, सुशीलाले इच्छा देखाइनन्। उनलाई आफ्ना साथी छोड्न मन थिएन। ‘उनीहरू अगाडि जान्छन्, म तल्लो कक्षामा कसरी बस्नुजस्तो भयो’, बाबुले देखाएको बाटो हिँड्न नमान्नुको कारण सम्झन्छिन्।
स्कुलमा पढ्दा कक्षामा अगाडिका सिट जहिल्यै केटाहरूले ओगट्ने। केटीहरू चुपचाप पछाडिका सिटमा बस्थे। केटाहरू भन्थे, तिमीहरूले पढेर के हुन्छ ? सबै अर्काको घरमा धन्दा गर्न जानेहरू फ्रन्ट सिटमा बसेर के गर्छौ ?
आफ्नै सहपाठीहरूबाट भएको ‘ह्युमिलियसन’ सहन नसकेर केटीहरूले सुशीलालाई नेता बनाए। त्यसपछि जे भयो, त्यसले कक्षामा केटीहरूको परिभाषा नै बदल्यो।
‘मैले ती केटाहरूलाई सिटबाट फालेँ, कति कमजोर रहेछन् उनीहरू, म त बलियी रहेछु’, उनले सम्झिन्। अगाडिका सिट कब्जा गरेपछि केटाहरूबाट हुने ‘अपमान’ अन्त्य भयो। यो ९ कक्षाको कुरा थियो।
०००
विराटनगर राजनीतिको केन्द्रमा थियो। पूर्वी नेपालका पहाडी जिल्लाबाट हुनेखानेहरू बसाइँ सरेर यहाँ आएका थिए। राजनीतिक सचेतना र राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको कोइराला परिवारको उठबस तथा रहनसहन यो सहरको प्रसिद्धिको अर्को कारण थियो। भोजपुर, धनकुटा हुँदै कार्की परिवार पनि विराटनगर झरेको थियो।
विसं २००७ को क्रान्तिले छोरीहरू पढाउनुपर्छ भन्ने भावना विकास गरायो। घरानियाहरू छोरीलाई पढाउन कि काठमाडौं पठाउँथे कि भारतको बनारस वा इलाहाबादमा पठाउँथे। कार्की परिवारको पनि रवाफ कम थिएन। सम्पन्न परिवारमा २००९ सालमा जन्मिएकी सुशीलाको जीवनमा विराटनगरको प्रभाव कम थिएन।
‘म पहाडमै बसेको भए के हुन्थ्यो भन्न सक्दिनँ। म पहाडको पहाड नै पनि हुन सक्थेँ होला’, धापासीस्थित निवासमा पुराना दिन खोतल्नुअघि सुशीलाले भनिन्, ‘विराटनगरमा नजन्मिएकी भए सायद म आज जहाँ छु, त्यहाँ नहुन सक्थेँ।’
एसएलसीपछि उनी विराटनगरकै महेन्द्रमोरङ कलेजमा आईए भर्ना भइन्। मन पर्ने विषय मनोविज्ञान थियो, जसले उनलाई पछिसम्म पनि तानिरह्यो। २०३० सालको अन्त्यमा उनले सोही कलेजबाट बीए पास गरिन्। यसबीच नेविसंघमा आबद्ध भएर उनी पञ्चायतविरोधी आन्दोलनमा पनि जोडिइसकेकी थिइन्।
रिजल्ट ढिला आएकाले काठमाडौंमा एमए भर्ना हुने सम्भावना नभएपछि परिवारले उनलाई उच्च शिक्षाका लागि भारत पठाउने भयो। मनोविज्ञानमा एमए गर्ने सपना बोकेर भारतको इलाहाबाद लागिन्। इलाहाबाद विश्वविद्यालयमा पनि भर्नाको समय सकिइसकेको थियो। बाबुको सल्लाहअनुसार उनी बनारसतर्फ लागिन्। तर, बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)मा पनि भर्नाको समय सकिएको थियो।
निर्वासनमा रहेका बीपी कोइराला बनारस नजिकैको सारनाथमा सपरिवार बसिरहेका थिए। घर छोडेर नयाँ ठाउँ पुगेकी सुशीला आफ्नालाई खोज्दै त्यहीँ पुगिन्। बीपीले उनलाई अर्थशास्त्र पढ्न सुझाए तर भविष्यमा कानुनी क्षेत्रमा भिड्ने निधो गरेकी उनलाई राजनीतिशास्त्रले तान्यो, जसले भावी बाटो सजिलो बनाउने उनको विश्वास थियो। बीपीकै सहयोगमा उनले बीएचयूमा भर्ना पाइन्। त्यसपछि उनको जीवनले नयाँ मोड लियो।
बनारसको शास्त्रार्थ र संगतिले उनलाई जे बनायो, विराटनगर वा काठमाडौंले सम्भवतः त्यो नबनाउन सक्थ्यो। ‘यहाँ भएको भए यहीँको समाजअनुसार हुन्थेँ। सायद बाआमाले बिहे गर्नुपर्छ पनि भन्नुहुन्थ्यो होला’, उनी अनुमान गर्छिन्, ‘बनारस युरोप अमेरिकादेखि विश्वभरको शैक्षिक केन्द्र थियो। पढ्नुपर्छ भन्नेबाहेक अन्त ध्यानै गएन।’
बनारसमा महिलाहरू एकपछि अर्को विषय पढ्दै बसेका थिए। कोही पढ्दै पढाउँदै थिए। ‘जीवन भनेको बिहे गर्नु, छोराछोरी पाउनु र घरव्यवहार चलाउनु मात्र होइन रहेछ। यसलाई छोडेर महिलाहरूले पनि विद्वता हासिल गर्न सक्छन् भन्ने दह्रो अनुभूति मलाई भयो’, उनी भन्छिन्।
जन्मजात कांग्रेस
बाबु खाँटी कांग्रेस। गिरिजाप्रसाद कोइराला, मनहरि बराल र डिल्लीबहादुर नछुट्टिने साथी थिए। सिकार खेल्न सँगै जानुपर्ने। राजनीतिमा पनि आत्मीय सम्बन्ध।
कार्की परिवारकी जेठी सन्तान सुशीलालाई कांग्रेस बन्न केही गर्नु परेन। घरमा भइरहने भेला, छलफल र आइरहने मानिसहरू। यही परिवेशले उनलाई कांग्रेस बनायो। ‘बुबा सात सालको क्रान्तिमा लागेको मान्छे। परिवार नै कांग्रेस’, उनी भन्छिन्, ‘म बाई बर्न कांग्रेस।’
जीवनको एक समय राजनीतिलाई आफ्नो मूल बाटो बनाउने सोचेकी उनले पछि त्यो सोच त्यागिदिइन्। राजनीतिमा तानिएको उनको सुषुप्त मन त्यति बेला मर्यो, जब मुलुक नै हल्लाउने एउटा घटनाले उनी विक्षिप्त भइन्। यो बनारस गएपछिको कुरा हो।
विसं २०३१ पुस १ गते। बीपीको निर्देशनमा कांग्रेस कार्यकर्ताले ओखलढुंगा कब्जा गर्ने असफल प्रयास गरेका थिए। यो घटनामा मारिनेमध्ये थिए— सुशीलाका साथीहरू राम–लक्ष्मण। ओखलढुंगा जानुअघि उनीहरू सुशीलालाई भेट्न आएका थिए। ‘जाने बेला उनीहरू भेट्न आए। राम बोले तर लक्ष्मण बोलेनन्’, उनले सम्झिइन्, ‘बाँचे सफल भएर फर्कन्छौं नत्र मर्छौं भन्दै बिदा भएका उनीहरू मारिए।’
यो असफल कारबाहीपछि भारतमा रहेको कांग्रेस नेतृत्वमा खैलाबैला मच्चियो। नेता–कार्यकर्ताबीच नै शंकाको वातावरण बन्यो। यसैबीच एक दिन बीपीले सुशीलामाथि पार्टीविरुद्ध सीआईडी गरेको आरोप लगाए। ‘बीपीले नै त्यसो भनेपछि ‘डाम केयर’ भनेर बाटो बदलेँ’, राजनीतिप्रतिको विकर्षणको कारण खोलिन्।
०००
बनारसमै पीएचडीका लागि नाम दर्ता गरिसकेकी थिइन्। पढाउने काम पनि पाएकी थिइन्। स्वर मीठो थियो, संगीत सिकेर त्यसलाई निखार्ने सपना पनि बनाएकी थिइन्। भाषा सिक्ने रहर त छँदै थियो। आफू राजनीतिशास्त्रको विद्यार्थी भए पनि होस्टेल र लाइब्रेरीमा समाजशास्त्रका विद्यार्थीलाई पढाउन थालिसकेकी थिइन्।
राजनीतिमा पनि भविष्य देख्न थालेकी सुशीला पार्टीभित्रको झगडा र बीपीको व्यवहारले पिरोलिएपछि देश फर्किन्। नोकरी खोजिन्। सवा एक वर्ष खाद्य संस्थानमा जागिर खाइन्। यो जागिर खाँदै उनी बीएलको नतिजा कुरिरहेकी थिइन्। कानुन प्राक्टिस गर्ने उनको दृढ निश्चय थियो।
‘वकालतमा महिलाहरू थिएनन्। केही न केही गरेर देखाउनु पर्यो भनेर वकिलको लाइसेन्स पाउनेबित्तिकै सरकारी जागिर छोडेर होमिएँ’, उनी भन्छिन्।
तीन दशकभन्दा बढी वकालतमा बिताएकी उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने अवसर पनि जुट्यो। वकालतमा चर्चित हुँदै गएपछि अञ्चल अदालतदेखि नै आफूलाई न्यायाधीश बन्न पिछा गरिएको उनी सुनाउँछिन्। पञ्चायतमा न्यायाधीशले स्वतन्त्र न्याय सम्पादन गर्न नसक्ने ठानेर रुचि राखिनन्। ६२ /६३ सालको जनआन्दोलनअघि राजाको प्रत्यक्ष शासनताका आएका प्रस्ताव पनि उनले स्वीकार्न सकिनन्। वकालतमा पाइने स्वतन्त्रता र कमाइले उनलाई फाल हालिहाल्न रोकेका थिए।
तर सधैं रोकिन कहाँ सक्थिन् उनी ? ‘जे काम पनि गर्न सकिन्छ जस्तो लाग्छ मलाई। मान्छेको आआफ्नो नेचर (स्वभाव) पनि हुन्छ’, भन्छिन्, ‘मलाई एड्भेन्चर मन पर्ने।’ उनी अर्को साहसिक यात्राका लागि तयार भइसकेकी थिइन्।
२०६५ माघ ९ गते उनी बारबाट बेन्चमा पुगिन्। अस्थायी न्यायाधीशका रूपमा सर्वोच्च छिरेकी उनी दुई वर्षमा स्थायी भइन्। अस्थायीका रूपमा छिरेका धेरै न्यायमूर्तिहरू त्यत्तिकै घर फर्के तर सुशीलालाई स्थायी हुने अवसर प्राप्त भयो।
२०७२ चैत ३० मा कल्याण श्रेष्ठ सेवानिवृत्त भएपछि उनी वरिष्ठ न्यायाधीशको हैसियतमा कायममुकायम बनिन्। करिब तीन महिनाको अन्योलपछि बल्ल उनको एडभेन्चर गन्तव्यमा पुग्यो। उनी प्रधानन्यायाधीश हुने मुलुकको पहिलो महिला बनिन्।
प्रधानन्यायाधीश हुन नदिन र भइसकेपछि पनि आफूमाथि धेरै आक्रमण भएको उनी सम्झन्छिन्। ‘महिला हो, केही जान्दिन जस्तो गरे’, भन्छिन्, ‘लोग्नेमान्छे त सुरुवाल लाउनेबित्तिकै सबै जान्ने जस्तो।’
यो यात्राको उत्कर्ष थियो, महाभियोग। यसले अदालतमात्र होइन; संसद्, नेपाली राजनीति र राजनीतिक नेतृत्वलाई नै ठूलो विवादमा तानिदियो। कांग्रेस र तत्कालीन माओवादी केन्द्रका सांसदले उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीति ध्रुवीकृत भयो।
संसद्का कारबाहीमा अदालत र अदालतका कारबाहीमा संसद्मा छलफल नहुने संवैधानिक प्रचलनमाथि बहस जन्माउने गरी सर्वोच्च अदालतले संसद्मा दर्ता भएको महाभियोग खारेज गरिदिएपछि उनी पुनः सर्वोच्च फर्किइन्।
०००
विसं २०७४ जेठ २४ मा सेवानिवृत्त भएयता सुशीलाको यात्रामा लेखकीय एडभेन्चर थपिएका छन्। हालै उनको आत्मकथा ‘न्याय’ प्रकाशित भएको छ। २०४७ सालतिर लेखेको उपन्यासको पाण्डुलिपि रिभाइज गर्दैछिन्। ‘मनमा लाग्या कुरा लेख्ने हो, पढ्ने हो, छलफल गर्ने हो’, सुशीला भन्छिन्।
दुर्गा- श्रीमानका श्रीमान्
पति दुर्गाका साथ सुशीला। फोटोः उमा विष्ट/अन्नपूर्ण
सुशीलाले जुन उडान भरिन्, दुर्गा सुवेदीको साथ नभएको भए सायदै त्यो सफल हुन्थ्यो। २०४५ सालमा वैवाहिक जीवनमा प्रवेश गरेका सुशीला र दुर्गाको जोडी समाजले तोकिदिएको परम्परागत भूमिकाविपरित रहे। सुशीलाले बाहिरी दुनियाँ विचरण गरिन्। दुर्गाले घरपरिवार सम्हाले।
‘उहाँ ठूलो पदमा हुनुहुन्थ्यो, म थिइनँ’, दुर्गा भन्छन्, ‘तर मलाई कहिल्यै हीनताबोध भएन।’
दुर्गा बोल्दाबोल्दै सुशीलाले रोकिन्। ‘छोरालाई पढ्न बाहिर जा भनेको, बुवालाई छोड्नै सक्दिनँ भन्छ’, लामो हाँसोपछि सुशीलाले थपिन्, ‘आमासँग मतलब छैन, बाबुलाई छोड्न सक्दिनँ भन्छ।’ सायद प्रशान्तले बाबु दुर्गाबाट पाएको ‘आमाको माया’ले उनलाई त्यो अप्ठ्यारो परेको हुँदो हो।
सुशीलाको त्याग पनि कम रहेन। दुर्गालाई रोज्नुको सजाय उनले माइतीबाट पूर्ण रूपमा सम्बन्धविच्छेद गर्नुपर्यो। दुर्गाले हालै प्रकाशित आफ्नो पुस्तक ‘विमान विद्रोह’मा यसबारे उल्लेख गरेका छन्।
‘हेनपेक’ अर्थात् जोइटिंगे्र पत्नीप्रति प्रतिबद्ध पुरुषलाई समाजले भिडाउने बिल्ला हो। ‘तँ पढेलेखेको मान्छे, माथि जान सक्थिस्, के स्वास्नीको चाकडी गरेर बसेको भन्थे’, उनी सम्झन्छन्, ‘कि तपाईंले हाँसेर टार्नुपर्छ कि बुझेन भन्नुपर्छ। अरू उपाय नै छैन।’