राजनीतिका तेन्जिङ नोर्गे
दुई सय ३८ वर्षे पैतृक शासन अन्त्य गरी एउटा भैंसी गोठालो सत्ताको सिंहासनमा पुग्यो। ती शौभाग्यशाली थिए उनै रामवरण। र, संविधानसभाले बनाएको संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो।
बैठक कक्षको भित्तामा विशेष हिफाजतसाथ सजाइएको एउटा फोटो छ। बीपी कोइराला कुर्सीमा बसेका छन्। बेलिबटन पाइन्ट लगाएका उनी छेउमा उभिएका छन्। डा. रामवरण यादवको जिन्दगीलाई कायापलट बनाएको प्रमुख मोड त्यही थियो, जुन बाटो हिँडेर उनी कोही नपुगेको ठाउँमा पुगे।
०००
२००७ सालको क्रान्ति हुँदा उनी सातै वर्षका थिए। जनकपुरतिर गोली चल्यो रे भन्ने सुनेको याद छ। निरंकुशताको पहिलो पर्खाल ढलेको त्यो क्षण उनको मानसपलमा कतै घुसेको छैन। मधेस भए पनि जनकपुर राजनीतिक चेतनामा पछि थिएन। तर, उनको गाउँ सपही अलि टाढै १० किलोमिटर पर थियो। उनी पनि बालखै। भर्खर स्कुल जान मात्र थालेका।
गाउँमा थानी यादवको प्रभाव राम्रै मानिन्थ्यो। उब्जनी र पशुपालनबाट परिवारको लालनपालन सुखमय थियो। मधेसमा शिक्षाको लहर क्रमशः भित्रिँदो थियो। सक्नेहरू भारतबाट गुरुजी झिकाएर घरमै बालबच्चा पढाउँथे। अझ सक्ने र चाहनेहरू फाट्टफुट्ट खुलेका स्कुलमा बानी पार्थे। करिब चार माइल पर एउटा प्रावि थियो।
भाग्यवश रामवरणका लागि स्कुलको ढोका खुल्यो। उत्तिकै दुर्भाग्यवश केही वर्षमै त्यो ढ्याप्पै लाग्यो। प्रावि पढाइ सकेर जनकपुर टेकेका मात्र थिए, गाउँ आगलागीले सखाप भयो। त्यही मेसो गाउँका सबैले पढाइ हापे। उनी पनि स्कुल जान छाडे। २०११ देखि २०१६ सम्म बडो बेगारी तालले बित्यो उनको जिन्दगी।
दिन बित्थ्यो भैंसी चराएर। उनको जिन्दगीको पहिलो मोड थियो त्यो।
अनि, पाँच वर्षमा अचानक मोडियो उनको मन।
सोचे– म पढेर डाक्टर किन नबन्ने ? पाँच कक्षामा रोकिएको पढाइ पाँचै वर्ष भएको थियो। उमेर पुगेको थियो १६ वर्ष। मेट्रिक फेल भएका एक आफन्तसँग पढ्ने उपाय सोधे। उल्टो खप्की पो खाए, ‘तँजस्तो बूढो मान्छेले पढेर के पार लाउँछस् ? मैले त सकिनँ।’
‘बूढो’ शब्दले मनको त्यस केन्द्रमा घोच्यो, जुन सुइरो निकाल्न अन्ततः पढ्ने अठोटै गरे। ‘१६ वर्ष त हुँदैछु, म कसरी बूढो भएँ ?’ मन दह्रो बनाएर उनी लागे जनकपुरतिर। डोर्याएर त्यहाँसम्म पुर्याए राजदेव साहले।
स्वाध्ययन गरेका राजदेवका ससुराली खलक पढालेखा थिए। उनका सन्तान उनीजस्तै स्कुल छोडेर गोठाले जीवन बिताइरहेका। अध्ययनको महत्व घुसेका उनले आफ्ना छोरा, रामवरण र अरू केहीलाई भने, ‘पढवाक कोनो उमेर नही होइछै, रे छौडा सभ चलै चल पढ।’ अर्थात्, ‘उमेरले केही गर्दैन, हिँड केटा हो पढ्न।’
ढुंगा खोज्दा देउता मिल्यो।
जनकपुर हाइस्कुलका संस्थापक थिए, ठाकुरप्रसाद रेग्मी। उनी पढाउँथे पनि। उनीहरूको चाहना र उमेर दुवै बुझेर उनले भनेछन्, ‘केही समय म ट्युसन पढाएर हेर्छु, कति–कति कक्षामा पढ्न सक्दा रहेछन्। त्यसपछि मिलाएर राखिदिन्छु।’
दुई रुपैयाँमा एक किलो घिउ आउँथ्यो त्यसबेला। ‘हामी सरलाई घरको मगमग बास्ना आउने घिउ बेलाबेला लगिदिन्थ्यौं, ट्युसनको शुल्कबापत’, उनी सम्झन्छन्, ‘ठाकुर सरले निकै मेहनत गरेर पढाउनुभयो। हामीले पनि सक्दो कोसिस गर्यौं। एक वर्ष पढाएपछि उहाँले ७ कक्षाको प्राइभेट परीक्षा दिन भन्नुभयो। म र उद्धव ढकालले राम्ररी पास गर्यौं। र, ८ कक्षामा भर्ना भयौं।’
‘बूढो’ भनेर निरुत्साहित गर्ने आफन्तले जसो भने, झन्डैझन्डै त्यस्तै भयो। ‘मलाई सबैले बूढो विद्यार्थी भन्थे। म आउँदा ऊ बूढो आयो, बूढो आयो भनेर गिल्लाउँथे’, उनले जिन्दगीका ती अविस्मरणीय पाना पल्टाए, ‘त्यसले मलाई पढ्न झन् प्रेरित गर्यो।’ २० वर्षबाट उकालो लागिसकेको कालखण्ड अर्थात् २०२० मा उनले एसएलसी गरे। प्रथम श्रेणीका लागि १२ नम्बर पुगेन। त्यति ल्याउनु पनि त्यसबेला चानचुने कुरा थिएन।
०००
मधेसका विद्यालयमा हिन्दीमा पढाइ हुन्थ्यो उसबेला। अंग्रेजी एउटा अंग्रेजीमै भइगयो। बाँकी सबै हिन्दी। अर्थात्, विज्ञान, गणितका प्रश्नमा समेत हिन्दीमै उत्तर लेख्थे उनीहरू। अंग्रेजीमा एउटा प्रश्न सोधिएको थियो, ‘ह्वाट इज योर एम इन योर लाइफ ?’ अर्थात्, ‘जीवनमा तिम्रो लक्ष्य के छ ?’ टुटेफुटेको अंग्रेजीमा कनीकुथी उनले लेखे, ‘मेरो लक्ष्य डाक्टर बन्ने छ। किनकि, डाक्टरी पेसामा नाम, दाम र सम्मान छ।’
एसएलसीपछि जनकपुरे सबैजसो भारतका विभिन्न सहरमा पढ्न जान्थे। उनले हल्ला सुने, ‘भारतमा नेपाली बोल्न नजान्नेलाई १० नम्बर कम दिन्छ रे।’ दुःखले ल्याएको १० नम्बर बचाउन अनि उपाय सोचे, ‘आफ्नै राजधानी काठमाडौं किन नजाने ?’
त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा भर्ना भए। परीक्षा आयो। उनलाई हिम्मत आएन। त्यत्तिकै छाडिदिए। र, अर्को वर्ष नयाँ भर्ना गर्दै कलेज फेरे अस्कल (अमृत साइन्स)। अस्कलको आईएस्सीपछि बीएस्सी पढ्न पुनः त्रिचन्द्रै फिरे। एक वर्ष कसो बिताएका थिए, कोलकातामा एमबीबीएस पढ्ने छात्रवृत्ति जुर्यो। छात्रवृत्ति नै त के भन्नु, जुन एउटा अवसर थियो, त्यसमा शुल्क आफैं तिर्नुपर्थ्यो।
बल्ल उनले लक्ष्यको गोरेटो समाते।
२०२४ सालको अन्त्यमा कोलकाता टेकेका रामवरण करिब एक दशक त्यहाँ अडिए। ६ वर्ष एमबीबीस सक्दा। एक वर्ष डीसीपी (डिप्लोमा इन् क्लिनिकल प्याथोलोजी) पूरा गर्दा। र, बाँकी वर्ष काम गरेर।
डाक्टरी उनको यात्राको दोस्रो मोड थियो।
०००
देशमा पञ्चायती जगजगी थियो। कांग्रेस नेताहरू प्रवासमा भारततिरै थिए। तीमध्ये धेरै ठोक्किन पुग्ने ठाउँ थियो– कोलकाता। बीपी, गणेशमान, किशनुजी, गिरिजाबाबु, सुवर्णशमशेर, महेन्द्रनारायण निधिहरूसँग उनको बारबार भेट बढ्यो।
२०२५ सालमा पहिलो भेटमै बीपीले भनेछन्, ‘डाक्टरी पढ्दै हुनुहुन्छ ? खुसीको कुरा। राम्रो डाक्टर बन्नुहोस् र नेपाल आउनुहोस्। देशमा महेन्द्रले प्रजातन्त्र खाइसकेका छन्। तर, ढिलो–छिटो उनीबाट हामी प्रजातन्त्र थुतेरै छाड्छौं। तपाईंहरूजस्ता डाक्टर देशलाई चाहिन्छ। त्यसैले यहाँ पनि नेपालीको सेवा गर्नुहोस् र प्रजातन्त्रको हावा फैलाउनुहोस्।’
बीपीले उनलाई सिकाएको मन्त्र थियो, ‘कोलकातामा मजदुरी गर्ने नेपालीलाई भेला पार्नुहोस्। निःशुल्क उपचार गर्नुहोस्। सर्वसाधारणको सेवा गरेर प्रजातन्त्रको वातावरण बनाउनुहोस्। त्यसरी मात्र उनीहरू संगठित हुन सक्छन्।’
उनले त्यसै गरे।
०००
२०२८ सालमा जनकपुर आएर कांग्रेसको सदस्यता लिए। २०३६ को जनमतसंग्रह घोषणा हुँदा जनकपुर फर्किइसकेका थिए। त्यहाँ क्लिनिक चलाउँथे। अर्थात्, उपचारका नाममा जनतालाई कांग्रेसका पोल्टामा तान्थे।
त्यसले पञ्चायतविरोधी राजनीतिमा उनको मिटर ह्वात्तै बढ्यो। २०३८ सालमा जब बीपी सिकिस्त बिरामी भए, उनको चौबीसै घन्टा निगरानी गर्न डाक्टर चाहियो। जनकपुरबाट रामवरण पनि काठमाडौं झिकाइए। यादवका अनुसार चिकित्सक टोलीमा मृगेन्द्रराज पाण्डे, सुन्दरमणि दीक्षित, हीरा श्रेष्ठ, राघवेन्द्र सिंहलगायत थिए। उनी करिब चार महिना बीपीको उपचारमा खटिए। त्यही क्रममा बीपीले भारतका कंग्रेस नेता चन्द्रशेखरलाई भनिदिए र उनी एमडी गर्न चण्डीगढ गए।
जनरल मेडिसिनमा एमडी गरेर फर्किंदा यादवको पारिवारिक परिस्थिति सकसपूर्ण थियो। श्रीमतीको निधन भइसकेको थियो। त्यसैले २०४२ को सत्याग्रहमा पक्राउ नपर्ने रणनीति उनले लिए। जनकपुरमा नर्सिङ होम खोले। र, उपचारको राजनीतिलाई निरन्तरता दिए। त्यो स्थापित मात्र के हुँदै थियो, २०४४ मा कांग्रेस नेताहरूले काठमाडौं बोलाए। र, धनुषा जिल्ला पञ्चायतको अध्यक्षमा प्रत्याशी बनाएर पठाए। पञ्चायतको बोलवाला कालमा जित्न सहज थिएा। हारे।
२०४६ मा गणेशमान निवासबाट समातिएका उनी तीन महिनामा बहुदल आएपछि छाडिए। २०४८ को निर्वाचनमा धनुषा ५ बाट सांसद बने।
यो थियो उनको तेस्रो घुम्ती।
त्यही घुम्ती पार गर्दै उनी राष्ट्रपतिसम्म भए। त्यसमा धेरै उकालीओराली आए। तिनीहरूमा लड्दैपड्दै राजनीतिको सगरमाथा चढेर छाडे। अझ भनौं– राजनीतिका तेन्जिङ नोर्गे भए।
‘छलाङ’ मार्ने शब्दावली खासमा यी शालिन राजनीतिज्ञका हकमा मेल खान्छ। २०५१ को मध्यावधि निर्वाचन हारेबाहेक उनले हार देखेनन्। यति तीव्र गतिमा पार्टी राजनीतिको भर्याङ चढे, जुन सम्भवतः एक पाइलामा दुई खुड्किला बराबर मापन हुन्थ्यो।
‘२०५१ को हारलाई पनि मैले जितमा उपयोग गरेँ’, उनले भने, ‘त्यसपछिको फुर्सदीमा जिल्लाजिल्ला घुमेँ। पहाड, तराई जोड्न सक्ने आफ्नो खुबी देखाएँ। त्यसैले जब राष्ट्रपतिमा मधेसी उम्मेवारको माहोल बन्यो, म छानिएको हुन सक्छु।’
राजनीतिक घरानाको लहरो तानिएर आएका पनि होइनन् उनी। लक्ष्य अर्कै थियो– डाक्टर। पढे डाक्टरी। गरे डाक्टरी। तर, उठबस र सरसंगतले यसरी उनलाई घुर्याएर त्यस ठाउँमा पुर्यायो, जहाँ राजनीतिको घान थियो। त्यसको नसाले तानिएका उनलाई अन्ततः त्यो फाप्यो।
देशमा गणतन्त्र आयो। पहिलो राष्ट्रपति बने रामवरण। दुई सय ३८ वर्षे पैतृक शासन अन्त्य गरी एउटा भैंसी गोठालो सत्ताको सिंहासनमा पुग्यो। ती शौभाग्यशाली थिए उनै रामवरण। र, संविधानसभाले बनाएको संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो। शताब्दीऔंदेखि प्रतिक्षित त्यो संविधानको ठेली उनकै हातले पहिलोपल्ट उचाल्न पायो।
गर्व गर्नुपर्छ– किसानको छोराले त्यो कीर्तिमान बनायो।