अझै पैदल मार्गबाट अमेरिका

अझै पैदल मार्गबाट अमेरिका

 वासिंटन डिसी : अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन। मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन।

अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन्। ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती कूटनीतिज्ञले भने, ‘लाखौं खर्चेर ‘ल्यान्ड अफ अपरचुनिटी’ मानिने मुलुक अमेरिका प्रवेशमा लालायित युवाको जमात दिनप्रतिदिन बढ्दो छ।’

केही सरकारी अधिकारीकै मिलेमतोमा यस्तो धन्दा भएको आशंका अमेरिकाले नेपाली कूटनीतिज्ञ समक्ष भन्न थालेका छन्। सरकारलाई दिएको जानकारी दलालकहाँ पुग्ने र रुट परिवर्तन हुने गरेको अध्ययनले देखाएपछि अमेरिकी अधिकारी सशंकित भएका हुन्।

कतिपय मध्य अमेरिकी मुलुकबाट नेपालीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको थियो। त्यो जानकारी पाएर दक्षिण अमेरिकातर्फबाट अर्को यात्रा तय गरेको पनि अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक नेपाली कूटनीतिज्ञले सुनाए।

अन्य मुलुकको नागरिक समेत नेपाली भनेर जान थालेका छन्। नेपाली कूटनीतिक निकाय सक्रिय भएर अध्ययन अनुसन्धान गर्नपर्ने हो। तर, उल्टै दक्षिण र मध्य अमेरिकी मुलुकका अधिकारीलाई नसघाएकै कारण नेपाली अलपत्र पर्ने गरेको अमेरिका प्रवेश गर्नेको अनुभव छ।

‘अवैध मार्गबाट आउनेलाई रोक्ने प्रयास हदसम्म गरिएको छ तर नेपालीहरू अनेक उपाय लगाएर आइरहेका छन्।’
-डा. अर्जुन कार्की, अमेरिकाको लागि नेपाली राजदूत

जोखिमको यात्रामा कडाइ गरिरहेको भनिए पनि नेपाली वा नेपाली भन्नेहरू अमेरिका छिरिरहेका छन्। जताबाट गए पनि अन्तिम विन्दु मेक्सिको रहेको छ। अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्य दूतको कार्यालयले स्थलमार्गबाट नेपाली आउने क्रम नरोकिएको स्विकारेको छ।

दूतावास अधिकारीका अनुसार महिनामा दुई सयको आसपासमा नेपाली युवायुवती स्थलमार्गबाट आइरहेका हुन्छन्। यसको यकिन तथ्यांक भने दूतावाससँग छैन। ‘कागजपत्र बिना नै सिफारिस बनाउन आउँछन् तर उनीहरू स्थल या हवाई कसरी आए भन्ने थाहा हुँदैन’, दूतावास अधिकारीले भने, ‘उनीहरूले पीडा पोख्ने क्रममा मात्र यस्तो जानकारी दूतावासलाई हुन्छ।’

कतिपय नागरिकता लिएर दूतावास पुग्छन् र पासपोर्टको आवेदन समेत दिन्छन्। तर, त्यहाँबाट पासपोर्टका लागि दिने आवेदनमा यहाँ विभागले छानबिन नगर्ने हो भने नक्कली नागरिकतामा सक्कली राहदानीसमेत बनेको हुन सक्छ। दूतावासमा नागरिकता प्रमाणित हुने गरेको छैन।

दक्षिण एसियाली मुलुकका नागरिकसमेत नेपाली भन्दै अमेरिका छिर्ने गरेका छन्। नेपालीप्रति दक्षिण र मध्य अमेरिकी मुलुक सकारात्मक हुने गरेकाले विदेशीले पनि नेपाली भन्ने गरेका हुन्।

अमेरिका पुर्‍याउने मानव तस्कर गिरोहले फरकफरक रुट अनुरूप नेपालीलाई अमेरिका छिराउने गरेकाले पक्राउ पर्ने घटना अहिले कम भएको छ। जानेको संख्या भने बढेको अधिकारीले बताए।

कम्तीमा ३० देखि अधिकतम ७५ लाखसम्म खर्च गरेर अमेरिका पुगेको जानकारी दूतावाससँग छ। ‘म आएको दुई महिना भयो। जापान, टर्कीवाला केस आएको छ तर अमेरिकाको छैन’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्नपूर्णसँग भने, ‘यसरी जानेलाई रोक्नुपर्छ। हामीले ती मुलुक भएर जानेको अध्यागमन निकायसँग सम्पर्क गरेर समन्वयमा काम गरेमा रोक्ने सक्छौं। त्यसतर्फ सोच बनाएका छौं।’

अन्तराष्ट्रिय माफियाले काठमाडौंबाट कहिले कतार, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका छिराउँछन्। कहिले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र अनि अफ्रिका हुँदै दक्षिण र मध्य अमेरिकी मुलुकबाट मेक्सिको पुर्‍याएर अमेरिका छिराउने गरेका छन्।

एकै रुटबाट लैजाँदा बाटोमा पक्राउ पर्ने र डिपोर्ट हुने भएपछि फरकफरक रुटबाट लैजाने गरेको जानकारी दूतावासले सरकारलाई गराएको छ। उनीहरूले कहिले कतार, अबुधाबी तथा कहिले दिल्ली, थाइल्यान्ड, सिंगापुरलगायतबाट पनि लैजाने गरेका छन्।

नेपालबाट पहिले भारत नै पुर्‍याउने वा भिजिट भिसामा दुबई, अबुधाबी, थाइल्यान्ड र अनअराइभल भिसामा सिंगापुर लगेर पनि त्यहाँबाट सेटिङ गर्ने गरेको जानकारी दूतावास अधिकारीलाई अमेरिका पुग्नेले सुनाउने गरेका छन्। थाइल्यान्ड सिंगापुरको रुट उपयोग गरेमा त्यहाँबाट कम्बोडिया र भियतनाम हुँदै खाडी मुलुक र त्यसपछि अफ्रिका वा सिधै दक्षिण वा मध्य अमेरिकी मुलुक पुर्‍याइन्छ। मुख्यतः बोलिभिया, पानामा, कोस्टारिका, पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट अमेरिका प्रवेशको पछिल्लो विन्दु मेक्सिको बनाइन्छ। मेक्सिमा नेपालीहरू एजेन्टको रूपमा रहेको जानकारी पनि दूतावासलाई छ तर केही गर्न सकेको छैन।

अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले भने, ‘अवैध मार्गबाट आउनेलाई रोक्ने प्रयास हदसम्म गरिएको छ तर नेपालीहरू अनेक उपाय लगाएर आइरहेका छन्।’ कार्कीले यसरी आउने क्रम घटेको दाबी गरे। उनै मातहतका अधिकारीले भने समस्या विकराल रहेको सुनाए। उनले नेपालीहरू प्रवेश गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीलाई पनि जानकारी दिएका थिए।

प्रधानमन्त्री ओली नेपाली आउनेमध्ये कहिलेकाहीं रुटमा पर्ने एक अमेरिकी मुलुक कोस्टारिका पुगेका थिए। त्यहाँ पनि उनलाई नेपाली अवैध मार्गबाट आउने गरेको सुनाइएको थियो। ‘नेपाली अवैध रूपमा ल्याउनेलाई कारबाही गर्नपर्ने र यस्तो नेटवर्क चुँडाल्न पर्नेमा छलफल भयो’, प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अहिले त कोस्टारिकामा खासै नेपाली रहेनछन्। तर ट्रान्जिट बनाएर स्थलमार्गबाट आउने–जाने गरेको सुनियो। यसमा सरकारले ध्यान दिनेछ।’

बैंककबाट कम्बोडिया हुँदै भियतनाम, दुबई, तान्जानिया, पानामा हुँदै कोस्टारिकाबाट जंगलको बाटो मेक्सिको छिरेर अमेरिका पुगेका पोखराका एक युवकले अन्नपूर्णसँग भने, ‘म त भाग्यमानी। नेपालबाट हिंडेको तीन महिना १४ दिनमा अमेरिका पुगें। अधिकांशलाई छ देखि नौ महिना लाग्छ। जति समय बढ्छ, त्यति नै खर्च बढ्छ। मैले ३१ लाख रूपैयाँ खर्च गरें।’ उनले आफू आएको तीन वर्ष भएको र ऋण तिरेर पोखरामा सानो टुक्रा घडेरी जोडेको समेत सुनाए।

उनी कागज बनाएर परिवार ल्याउने तयारीमा रहेछन्। ‘नेपालमा धेरै दुःख गरें, केही भएन अनि यो बाटो रोजें’, उनले सुनाए, ‘मेरो कर्म हो, मरे नि मर्छु भनेर स्थलमार्ग रोजें।’ उनको समूहमा तीन नेपालीबाहेक नेपाली पासपोर्ट बोकेका एक दर्जनभन्दा बढी भारतीय र बंगाली पनि थिए। उनी अमेरिकाको एक स्टोरमा काम गर्छन्। १६ मुलुक टेकेर उनी अमेरिका पुगेका हुन्।

‘कतिपयले १२ मुलुक मात्र टेकेका हुन्छन्’, उनले भने, ‘मुलुकैपिच्छे फरकफरक दलालको जिम्मा हुने हामी भेडाबाख्राभन्दा कम थिएनौं। एउटा देशको तस्करले सीमा कटाइदिएपछि अर्कोले जिम्मा लिने चलन छ।’

कुन मुलुकबाट कुन मुलुकको भिसा मिल्छ भन्ने जानकारी लिएर सेटिङ गरिएको हुन्छ। मध्ये अमेरिकी मुलुक पुगेपछि भने सबै कागजपत्र च्यातिन्छ। कसैले क्युबाली रुट उपयोग गर्छन्। क्युबालीलाई अमेरिकाका शरण लिन सुरक्षाकर्मीले आँखा चिम्लने रुटलाई क्युबाली रुट भनिन्छ।

थापा थर बताउने दाङका २४ वर्षीय युवाले भने, ‘हामीसँगै आएका शंकर नामका व्यक्ति ब्राजिलबाट डिपोर्ट भए। अनि हामीलाई ब्राजिलबाट कोस्टारिका पुर्‍याएर त्यहाँबाट समुन्द्रमा डुंगा र जंगलमा हिंडाएर मेक्सिको ल्याइएको थियो।’

बोलिभियाले नेपालीलाई निकै गाह्रो गरेर भए पनि ‘अनअराइभल’ भिसा दिने गरेको कारण पनि बोलिभिया लगेर त्यहाँबाट कागजपत्र फाल्न लगेर अन्य मुलुक हुँदै अमेरिका लैजाने गरिएको छ। विभिन्न मुलुकको अध्यागमनले कागजपत्र नभएकालाई पक्राउ गर्छ। तर, उनीहरू त्यही दलालको पहलमा छुटेर फेरि अर्को मुलुकमा पुग्ने र त्यहाँबाट अमेरिका जाने गरेका छन्।

जीवन–मरणको जोखिम यात्रा

दलालबाट तय गरिएको अमेरिका यात्रा सहज छैन। कतिपय स्थानमा हिंड्दै, रेल, बस र डुंगाको यात्रामा आउनुपर्छ। रात बिहान भन्न पाइँदैन। कैयन् दिनसम्म हिंड्नुपर्ने हुन्छ। खाने–बस्ने टुंगो हुँदैन। जीवनमरण बीचमा अमेरिका पुग्ने सपना देख्छन्।

लाखौं खर्चनुको अर्थ हो, ‘आफ्नो कमाइ र परिवारसमेत अमेरिका गमन हुने अवसर।’ सीमित अक्सिजन राखिएका वा साना छिद्र बनाएर पेट्रोल बोक्ने ट्यांकरको चार खण्डमध्ये एक खण्डमा चार पाँच जना बसेर समेत यात्रा गरेको न्युयोर्कस्थित अधिकारीले सुनाए।

बोलिभियाबाट यसरी नेपाली आएको सुनाएको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले बताए। ‘सानो गल्तीमा ज्यानै जाने खालको यात्रा तय गरेर अमेरिका आइपुगेका छन्, उनीहरू’, उनले अन्नपूर्णसँग भने, ‘यो रोकिएको छैन। आफ्ना डकुमेन्ट नेपालबाट मगाएर महावाणिज्य दूतावासमा नआउने पनि छन्। पहिले नै सबै तयारी गरेर आउँछन।’

कतिपय बाटैमा हिँड्न नसकेर बिरामी परेर, पानीमा खसेर मर्छन्। कतिपय बिरामी परेर घर फर्कन डिपोर्ट हुन सरेन्डर गर्छन्। जंगलमा हिँड्न नसकेर मरेका पनि समाचारमा आइरहेका हुन्छन् तर पहिचान खुल्दैन। उनीहरूसँग साथमा कुनै परिचय खुल्ने कागजपत्र नहुने हुनाले कति व्यक्ति कसरी कहाँ मरे भन्नेसम्मको जानकारी दूतवास र वाणिज्य दूतावासलाई हुँदैन। मानवअधिकारवादी संगठनहरूको प्रतिवेदनमा पछिल्लो १५ वर्षमा यस्ता रुटबाट हिँड्ने करिब चार हजारको मृत्यु भइसकेको छ।

अमेरिका छिर्ने नेपाली बढेको अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणार्थीसम्बन्धी वार्षिक प्रतिवेदनले विगत केही वर्षदेखि उल्लेख गर्दै आएको छ। हरेक वर्ष अमेरिकामा करिब एक हजार नेपालीले शरणार्थीको स्टाटस पाउने गरेका छन्। पछिल्ला सात वर्षदेखि हरेक वर्ष आठ सयभन्दा बढी नेपालीले त्यस्तो ‘स्टाटस’ पाँउदै आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.