१५ हजार नागरिक खानेपानीबाट वञ्चित
बागलुङ : जिल्लामा १५ हजारभन्दा बढी नागरिक खानेपानीबाट वञ्चित छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लाका ९४.०२ प्रतिशत उपभोक्ताले मात्र खानेपानी सेवा पाएका छन्। ०६८ सालको जनगणनाअनुसार २ लाख ६८ हजार ६ सय १३ जनसंख्यामध्ये २ लाख ५२ हजार ५ सय ३८ जनाले मात्र स्वच्छ खानेपानी प्राप्त गरेका छन्।
जिल्लाका अझै १५ हजार ५ सय ८० जना नागरिकमा खानेपानी सेवा नपुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी जनकराज गौडेलले बताए। गौडेलका अनुसार उनीहरू परम्परागत कुवा र ढुंगे धाराबाट खानेपानी समस्या टार्न बाध्य छन्। दुर्गम र उच्च पहाडी भूभागका बस्तीमा खानेपानी समस्या बढी छ। खानेपानी व्यवस्थापन गर्न बजेट कम भएकाले कतिपय आयोजना समयमै सम्पन्न हुन नसक्दा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउन कठिन भएको उनको भनाइ छ।
मुलुकमा अनेक परिवर्तन र राजनीतिक व्यवस्था आए पनि आफुहरूले भोग्दै आएको खानेपानी समस्या सम्बोधन नभएको, पानीका लागि दैनिक घण्टौं सास्ती व्यहोर्नुपरेको सुखौराका लालप्रसाद शर्माले गुनासो पोखे। ‘गाउँका केही ठाउँमा बर्खे पानी संकलन गरी ट्यांकी बनाएर पानीको समस्या समाधान गर्ने प्रयास भएको छ’, उनले भने, ‘तर स्वच्छ खानेपानीको सकस जस्ताको तस्तै छ।’
पानीको स्रोत नभएका ठाउँ र दुर्गम गाउँका नागरिक खानेपानीबाट वञ्चित रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख शेखरचन्द्र केसीले बताए। खानेपानी सेवाबाट वञ्चित भएका नागरिकको घरमा ३ वर्षभित्र पहुँच पुर्याउने डिभिजन प्रमुख केसीले बताए। खानेपानीको पहुँच बढाउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सञ्चालन भएका ७२ वटा योजनामा प्रदेश सरकारले १६ वटा आयोजना थप्ने अभियानमा लागेको उनको भनाइ छ।
बागलुङ बजारमा वितरित खानेपानी शुद्ध गर्न नगर खानेपानीले क्लोरिन पाउडर मिसाउन सुरु गरेको छ। विद्युतीय प्रविधिबाट क्लोरिन मिसाएर वितरण गर्दै आएको पानीमा केही समयपहिले कोलिफर्म भेटिएपछि संस्थाले ट्यांकीमा क्लोरिन मिसाएर पानी शुद्ध बनाउन थालेको हो। ‘विद्युतीय माध्यमबाट सञ्चालनमा रहेको स्वचालित मेसिन बिग्रिएको छ’, संस्थाका उपाध्यक्ष नीरज शाक्यले भने, ‘मेसिन मर्मत नभएसम्म कर्मचारी खटाएर क्लोरिन पाउडर मिसाउँदै आएका छौं।’
पानी शुद्ध गर्न सोडिस प्रविधिका संरचना रहे पनि पानीमा शुद्धता नभेटिएपछि क्लोरिन मिसाउनुपरेको बागलुङ नगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष शाक्यले बताए। ‘कर्मचारी व्यवस्थापन गरेर दिनमा चार किलो क्लोरिन मिसाएर पानी शुद्ध बनाउँदै आएका छौं’, उनले भने, ‘खोलाबाट आएको पानीलाई सोडिस प्रविधिले छानेपछि वितरण ट्यांकीमा क्लोरिन मिसाउने गरिएको छ।’
५ लाख लिटरको वितरण ट्यांकीमा २४ घण्टामा चार किलो क्लोरिन मिसाउँदा पानी शुद्ध हुने प्राविधिक सल्लाहअनुसार गरिएको हो। खोलाबाट आएको पानी पहिलो चरणमा फल्कुलेटर हुँदै रिजर्भ ट्यांकीमा पुग्न चार चरण पार गर्नुपर्छ। चार चरण पार गरेको पानी केही हदसम्म सफा हुने र बाँकी कीटाणु मार्न क्लोरिन पाउडर प्रयोग गरिएको हो।
रेश खोला र लेखानीबाट आएको पानीलाई रात्माटामा रहेको ट्यांकीमा शुद्धीकरण गरी बागलुङमा वितरण गरिँदै आएको छ। ‘यहाँबाट वितरण भएको पानी बागलुङ बजारका २ हजार धारामा वितरण हुन्छ’, संस्थाका सुपरभाइजर हरि पौडेलले भने, ‘बीचका केही बाधाबाहेक शुद्ध पानी उपभोक्ताको धारासम्म पुग्छ।’ बागलुङ बजारमा खानेपानीका पाइप फुट्ने, ढलको पानी मिसिने गरेकाले कहिलेकाहीँ धारामा फोहोर मिसिएको पानी जाने गरेको संस्थाको दाबी छ।