कोरियाली वार्ताका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ जापानमा
तोक्यो : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प-किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेका छन्।
जापानबाट उनी प्योङयाङ जाने कार्यक्रम र छ। अमेरिकी विदेशमन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो। तोक्यो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पेओले भने, ‘मेरो भ्रमणको उद्देश्य उत्तर कोरियासँग रहँदै आएको शत्रुतापूर्ण सम्बन्धलाई शान्तितर्फ अग्रसर गर्दै अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउनु रहनेछ।’ त्यसपछि अर्को शिखर सम्मेलनको व्यवस्था गरिने उनले जानकारी दिए।
आगामी शिखर सम्मेलनको तयारी, स्थान र समय तय गर्नका लागि आफूले प्योङयाङ भ्रमण गरेको उनले स्पष्ट पारे। ट्रम्प र किमबीच गत जुनमा भेटवार्ता भएको थियो। यसअघि कुनैपनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गरेका थिएनन्। पोम्पेओले शनिबारै जापानी प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गरेका छन्। उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो।
जापानले उत्तर कोरियालाई निकै दवाव दिनुपर्ने बताउँदै आएको छ। जापानी प्रधानमन्त्री आवेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सुझाव दिए। दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ-ह्वाले उत्तर कोरियाले आफ्नो प्रसिद्ध आणविकस्थल योङवायोनलाई नष्ट गर्न त तयार भएको जानकारी दिए।
यद्यपि यसका लागि अमेरिकाले सन् १९५० देखि सन् १९५३ सम्म कोरियाली प्रायद्वीपमा चलेको युद्धको औपचारिक अन्त्य भएको घोषणा गर्नुपर्नेछ। उक्त युद्धको अन्त्य शान्ति सम्झौतामार्फत नभई युद्धविराम गर्ने सहमतिबाट अन्त्य भएको थियो। पोम्पेओसोमबार चीन प्रस्थान गर्नेछन्। चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी हो।
एएफपी