चिनीको मूल्य विवाद समाधान गर्न सरकारले गर्यो समिति गठन
काठमाडौं : मन्त्रिपरिषद् बैठकले चिनीको मूल्य विवाद समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो। डा. गुरुङ आयोग कृषि विभागका सदस्य हुन्।
गुरुङ नेतृत्वको समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितमा काम गर्ने संस्था, कृषि र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
सँगै बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नागरिक लगानी कोषको सञ्चालकमा डा. रामचन्द्र भट्टराईलाई मनोनयन गरेको छ।
त्यसैगरी सरकारले पत्रकारको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। वृद्धि भएको तलब कात्तिक १ गतेबाट लागू हुनेछ। यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय रुपैयाँ थियो।