ट्रम्प पत्निको टिप्पणी : उहाँको बिचारमा सधैँ सहमत छैन म
वासिङ्टन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा उनकी पत्नि मेलानिया ट्रम्पले पत्रकारमाझ टिप्पणी गरेकी छन् ।
ट्वीटमा सक्रिय रुपमा प्रतिक्रिया दिइरहने डोनाल्ड ट्रम्पको व्यवहारबारे पत्रकारले राखेको जिज्ञासामा मेलानियाले टिप्पणी गरेकी हुन् । सर्वाधिक ठूलो मिश्रको पिरामिड भ्रमणका लागि त्यहाँ पुगेकी मेलानियालाई पत्रकारले ‘ट्रम्प्को ट्वीटमा व्यक्त अभिव्यक्तिमा तपाईँको सुझाव हुन्छ कि हुँदैन ?’ भन्दै सोधिएका प्रश्नमा उनले सधैँ उनका अभिव्यक्तिमा सहमत नरहने बताइन् ।
उनले भनिन्, ‘म सधैँ उनका ट्वीटमा सहमत छैन । बरु म केही कुरामा सुझाव दिन्छु । केही सुझाव उनले पालना गर्छन् केही गर्दैनन् ।’ मेलानियाले थपिन्, ‘मुख्य कुरा यो हो कि, म सुझाव दिन्छु ।’
सामान्यतः सार्वजनिक रुपमा बोल्न नचाहने मेलानियाले यस पटक भने झिँझो नमानिकन पत्रकारहरुसँग अन्तरक्रिया गरिन् ।