भक्तपुरमा नेतृत्व विकास तालिम
भक्तपुर : वर्ल्डभ्यू नेपालले भक्तपुरका महिलालाई दुईदिने नेतृत्व विकाससम्बन्धी तालिम सुरु गरेको छ। यहाँका विभिन्न संघसंस्थाको नेतृत्व तहमा कार्यरत २३ महिला तालिममा सहभागी छन्।
वर्ल्डभ्यू नेपालका अध्यक्ष भारतदत्त कोइरालाले आइतबार एक कार्यक्रमबीच तालिम सुभारम्भ गर्दै नेपालमा नेतृत्व तहमा महिला सहभागिता बढाउन तालिमको व्यवस्था गरिएको बताए।
नेपालका पुराना पत्रकारसमेत रहेका उनले अरु क्षेत्रमा भन्दा सञ्चार क्षेत्रमा धेरै कममात्र महिला सहभागिता भएको चर्चा गरे। आफूहरुले पत्रकारिता सुरु गर्दा महिलाहरु हातका औंलामा समेत गन्न नपुग्ने उनको भनाइ थियो।
‘तल्लो तहबाटै नेतृत्व तहमा महिलाको संख्या बढाउनुपर्छ’, वरिष्ठ सञ्चारकर्मी कोइरालाले भने, ‘यसको लागि महिला सक्षम हुनु पहिलो सर्त हो।’
संस्थाकी महासचिव रजनी केसीले महिलालाई नेतृत्व गर्न क्षमतावान बनाउनेसँगै हालै कार्यान्वयनमा आएको मौलिक हक र देवानी संहिताबारे तालिम लिइने जानकारी दिइन्।
उनका अनुसार तालिममा सञ्चार सीप र नेतृत्व कला, महिला नेतृत्व तथा क्षमता विकास र कार्यक्रम सञ्चालन र भाषणकलाबारे कक्षा लिइनेछ। त्यस्तै मौलिक हक र देवानी संहितामा भएका आधारभूत प्रावधान, जलवायु परिवर्तनका कारण, असर र अनुकुलनका उपायबारे तालिम दिइने उनले सुनाइन्।
तालिममा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, सञ्चारकर्मी विश्वमणि पोखरेल र मतिना त्वानावासू, अधिवक्ता रामप्रसाद प्रजापतिलगातले सहजीकरण गर्नेछन्।