नेकपा सचिवालय बैठक बालुवाटारमा, टुंगिएला विवाद ?
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आइतबारका लागि तय भएको बैठक नेताहरुबीचको विवाद टुंगो नलागेपछि दुवै अध्यक्ष व्यस्त भएको भन्दै स्थगित गरिएको थियो ।
सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको छ ।
नेकपाका फरक-फरक गुटका नेताहरुबीचको विवाद अहिले सतहमा आएको छ । विशेषगरी नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले अझै निकास लिएको छैन । वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् ।
गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठक बस्न लागेको थियो । वरिष्ठ नेता नेपालको असहमतिपछि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शुक्रबार भएको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो ।
बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो।
वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । सचिवालयको यस्तो निर्णयपछि नेता नेपालले दुई अध्यक्षको निर्णयले मात्रै पार्टी सञ्चालन गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।