यस्तो छ रुपन्देही प्रहरीको दसैं-तिहार सुरक्षा योजना
भैरहवा : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिनका लागि र सर्वसाधरणलाई शान्तिपूर्ण रुपमा उल्लासपूर्वक चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
सर्वसाधरणले उल्लासपूर्वक दसैं तिहार मनाइरहेको अवस्थामा अपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन खोज्छन्, रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले भने, 'त्यसलाई निस्तेज पार्नका लागि जिल्लामा सुरक्षा योजना लागू गरेका हौँ। चाड पर्वमा कसैलाई कुनै समस्या परे जानकारी पाएको ५ मिनेटभित्र घटनास्थलमा पुग्ने प्रहरीले दावी गरेको छ।'
उनले भने, 'चाड पर्वमा थुप्रै घटना घट्ने गर्छन् र हामीले जिल्लाको हरेक क्षेत्रलाई समटेर ५ मिनेटभित्र घटनास्थलमा पुग्नका लागि प्रहरी युनिट टोलीको व्यवस्था मिलाएका छौँ।' त्यसका लागि 'क्विक रेस्पोन्स टिम' (क्युआरटी) नामक प्रहरीको टोली गठन गरी परिचालन गरिसकेका छौं।'
टोली घटना भएलगत्तै घटनास्थलमा पुग्ने एसपी थापाले दावी गरे। उनले भने, 'यो टोली मोटरसाइकलमा रहनेछ। घटना भएको छिनभरमै टोली घटनास्थल तर्फ दौडिनेछन्। आ-आफ्ना इलाकाको इलाका प्रहरी कार्यालयले अर्को इलाकाको प्रहरीसँग पनि समन्वय गरी गस्ती गर्नेछन्। कुनै इलाकामा घटना भइहालेमा 'चेन' अनुसार व्यवस्थापन गरिएकाले टोली घटनास्थलमा पुग्न सहज हुने प्रहरीको अनुमान छ।
चाडवाडको समयमा मानिसको बढी भीडभाड हुने स्थानमा अपराधीले घटना घटाउन सक्ने भएकोले त्यस्ता घटनालाई न्यूनिकरण गर्न क्युआरटी परिचालन गरिएको प्रहरीले बताएको छ।
जिल्लामा खटिएको 'क्युआरटी' टोली।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जिल्लाको विभिन्न ४२ स्थानमा पाकेट चेकिङ, पैदल गस्ती २० टोली, मोटरसाइकल/साइकल ८ वटा टोली, गाडी मोबाइल चेकिङ १७, राजमार्ग क्रस पेट्रोलिङ १२, विभिन्न सांस्कृति कार्यक्रममा १०, सार्वजनिक यातायातमा ६, सादा पोसाक ३, रिजर्भ/स्ट्राइकिङ २ र अनुगमन चेकिङमा, २ वटा टोली रहने छ । यसका लागि जिल्लाभर ८ सय ७४ जना प्रहरी खटिने एसपी थापाले बताए।
यस्तै प्रहरीले विशेष सुरक्षा व्यवस्थाअन्र्तगत सार्वजनिक यातायातमा चोरी, पाकेटमारी इत्यादी नहुन दिनका लागि हतियारसहित प्रहरी खटाउने जनाएको छ। जिल्लामा सीमाना क्षेत्र रहेकोले चाडपर्वको बेला अपराधिक क्रियाकलापका लागि नाकाबाट साना हातहतियार समेत ल्याउन सक्ने सम्भावना रहेको हुँदा आफूहरु सजग रहेको र सीमानाकाको सुरक्षा कडा पारिएको उनले जनाए।
यस्तै प्रहरीले जिल्लाको विभिन्न स्थानमा नागरिकको सहजताका लागि नागरिक साहयता कक्ष समेत स्थापना गरेको छ । जुन प्रभावकारी बन्दै गइरहेको प्रहरीले जनाएको छ। चाडपर्वको बेला कसैलाई कुनै समस्या परे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुमको १०० र ९८५७०९०६२२ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।