बिजुलीको तार पन्छाउँदा करेन्ट लागेर चालकको मृत्यु
नुवाकोट : नुवाकोटको दक्षिणी भेगमा रहेको खाल्टेमा करेन्ट लागेर सोमबार एक ट्रक चालकको ज्यान गएको छ। घटनाको विरोधमा ट्रक चालक तथा मृतकका आफन्तले सडकमार्ग बन्द गराएका छन्।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका-७ स्थित गल्छि-देवीघाट सडक खण्डस्थित खाल्टेमा करेन्ट लागेर नुवाकोटकै लिखु गाउँपालिका- १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुंगानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए।
मृतकका आफन्त तथा चालकले विद्युत प्राधिकरणको लापरवाहीका कारण विद्युतको तार झोलिएर अनाहकमा ज्यान गएको जनाउँदै देवीघाट-गल्छी सडकमार्ग अवरुद्ध गरेका छन्।
पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ आउँदै गरेको ना३ख ४७६८ नं. को फलामको बक्सा ल्याउँदै गरेको ट्रकमा बिजुलीको तारले छोएपछि तार पन्छाउने क्रममा ढुंगानाको करेन्ट लागेर मृत्यु भएको कुंवरले वताए। घटनाको विरोधमा सडकमार्ग अवरुद्ध भएपछि यातायात ठप्प भएको छ।