पुल निर्माण अलपत्र : ठेकेदार भागे, सरकारलाई चासो छैन
अछाम : झण्डै ६ वर्षअघि निर्माण सुरु गरिएको बुढीगंगा नदीको पक्की पुल अझै सम्पन्न भएको छैन । निर्माण कार्य समेत अलपत्र बनेपछि अन्योल थपिएको छ ।
२०७० सालमै निर्माण सुरु भएको पक्की चित्रे पुल प्रारम्भिक दिनमा काम भए पनि पछिल्लो समय अलपत्र अवस्थामा छ । निर्माण कम्पनीको सम्झौता अनुसार उक्त पुल २०७२ सालमै सक्नुपर्ने थियो ।
स्थानीय नन्देगडा तुल्सी दुर्गा जेभीसँग तत्कालिन जिल्ला विकास समितिले गरेको सम्झौता अनुसार सय मिटर लम्बाईको पक्की पुल भ्याट बाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुपर्ने भनिएको थियो ।
निर्माण हेरिरहेका इन्जिनियर मंगल बुढाका अनुसार ६० प्रतिशत मात्र काम भएको छ । तर ठेकेदार नै पछिल्लो समय सम्पर्क बिहिन भएपछि पुल निर्माणको काम नै अन्योल बनेको हो । उनका अनुसार ठेकेदार नै महिनौँदेखि फरार छन् ।
तर निर्माण कम्पनीले काम बापतको २ करोड ५० हजार र जिल्ला प्राविधिक कार्यालयबाट १ करोड ५० हजार रकम भुक्तानी लिइसकेको बताइएको छ । स्थानीयले भने अचेल निर्माण कम्पनीले लापरवाही गरेकाले उसलाई कारवाही गर्नुपर्ने माग राख्न थालेका छन् । अर्कोतर्फ सरकारी पक्ष र अन्य सरोकारवालाले समेत चासो देखाएका छैनन् ।
ठेकेदार कम्पनीलाई खोजी गर्ने र काम सुचारु गराउनेबारे सरोकारवालाले पनि ध्यान नदिएपछि काम थप अलपत्र बनेको हो । स्थानीय भने पुल निर्माण नभएकै कारण ३० मिनेटको बाटो पनि २ घण्टा हिँड्न बाध्य छन् । सेती लोकमार्ग र मध्यपहाडी लोकमार्गसँग सजिलै जोडिने उक्त पुल बनेको अवस्थामा अछामको साँफे, मंगलसेन आवजजावत गर्न सहज हुन्छ।