बारामा वन फणानी गर्दा गम्भीर वातावरणीय क्षति हुने चेतावनी
काठमाडौं : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि तयारी भएको रुख कटानले गम्भीर वातावरणीय क्षति हुने सरोकारवाला तथा संरक्षणविद्हरुले चेतावनी दिएका छन् ।
काठमाडौंमा सोमबार निजगढ विमानस्थलको असरबारे भएको एक अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा संरक्षण अभियन्ताहरुले यसबारे चिन्ता गरे । जैविक विविधता विज्ञ तथा योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकीले सरकारले भने झैँ विना तयारी रुख कटान गर्दा त्यसले ‘इकोसिस्टम’मा ठूलो क्षति पुग्ने बताए ।साथै वन फणानीको यसखाले तरिकाले गम्भीर वातावरणीय असर देखिने विज्ञ बुढाथोकीको चेतावनी छ ।
संरक्षणवीद् चन्दा राणाको पहलमा सोमबार भएको 'नट एट द कस्ट अफ २४ लाख्स ट्रीज' नामको कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै संरक्षणवीद् राणाले विमानस्थलको आवस्यकता भए पनि लाखौं रुक एकौचोटी काटिनु सरकारको लापरवाही भएको बताइन् । कुनै परिक्षण बिना नै रुख काट्ने निर्णय गर्नु गलत भएको उनले औंल्याइन् ।
विमानस्थलको लागि ८ हजार भन्दा बढी हेक्टर जमिन चाहिने भएकाले त्यसको लागि २४ लाख रुख काट्नुपर्ने हुन्छ । जसको परिणाम घातक हुने भन्दै विज्ञहरुले चेतावनी दिएका हुन् । वातावरण तथा सामाजिक असर ‘इन्भायरोमेन्ट एन्ड सोसल इम्प्याक्ट एसेस्मेन्ट’ ( (ईएसआईए) को रिपोर्ट अनुसार विमानस्थल निर्माणको पहिलो चरणमै ७ लाख ७० हजार रुख काट्नुपर्ने छ । निजगढस्थित विमानस्थल बनाउने भनिएको स्थान पर्सा राष्ट्रिय निकुञ्जकै नजिक पर्ने भएकाले पनि वन फणानीले त्यहाँ रहने वन्यजन्तु तथा लोपोन्मुख जनावरलाई असर पर्ने संरक्षणवीदहरुको चेतावनी छ ।
प्राकृतिक स्रोत विज्ञ सुरज श्रेष्ठका अनुसार विमानस्थल निर्माणका लागि सरकारले गर्ने भनेको वन फणानीले वन्यजन्तु तथा वातावरण संरक्षणका लागि नेपालले विगतमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई उल्लंघन गर्ने छ । श्रेष्ठले भने, ‘नेपाल सरकारले यसअघि जैविक विविधताबारे भएका विभिन्न अन्तर्राष्ट्रिय महासभामा हस्ताक्षर गरिसकेको छ । तर नेपाल सरकार नै अहिले आफ्नै प्रतिबद्धताको खिलाफमा जान खोज्दै छ ।’
सरकारको यस कार्यक्रमका कारण वरपर बाढी पहिरो प्रकोप देखिनुका साथै पानीका स्रोत सुक्नसक्ने भन्दै श्रेष्ठले चेतावनी दिएका छन् । संरक्षणवीद्हरुले विमानस्थलको लागि प्रष्ट योजना नभएको भन्दै सरकारलाई आफ्नो बिस्तृत योजना (डिपिआर) को लागि समेत आग्रह गरे । डिपिआर आएपछि मात्रै कति रुख कटान गर्ने भन्नेबारे बिस्तृत तथ्यांक आउने भन्दै विज्ञहरुले सरकारलाई त्यसका लागि आग्रह गरेका थिए ।
यसबाहेक नेपाली कांग्रेसले समेत अनावस्यक रुपमा रुख कटान नगर्न सरकारलाई चेतावनी दिएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकपछि विज्ञप्ति जारी गर्दै यसबारे दबाव दिइएको हो ।