ओरालोतिर सेयर बजार, नेप्से परिसूचक २.५९ बिन्दुले घट्यो
काठमाडौँ : धितोपत्र बजारमा सोमबार सेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ।
यस्तै 'क' वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ। कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता सेयर ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ।
कारोबार भएका दश उपसमूहमध्ये सोमबार एक उपसमूहको मात्रै सेयर कारोबारमा वृद्धि भएको छ। अन्य समूह ११ दशमलब ६९ बिन्दुले बढ्दा नौ उपसमूहको सेयर भने ओरालो लागेको छ।
बैंकिङ ३ दशमलब ८९, होटल २१ दशमलब ४३, विकास बैंक १ दशमलब ३८, जलविद्युत् १२ दशमलब ८२, वित्त १ दशमलब १, निर्जीवन बीमा ३७ दशमलब ६४, उत्पादन ११ दशमलब ८३, माइक्रोफाइनान्स ७ दशमलब ६२ र जीवन बीमा १८ दशमलब ६३ बिन्दुले घटेको छ।
स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका सेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने गुमाएका छन्।