दसैंमा हाइकिङ
दसैंको बहानामा अधिकांश मिठो खाने र खेलमा रमाउने गर्छन्। हिन्दू धर्मावलम्बी यो समय ठूलाबडाबाट टीका थापेर आर्शिवाद लिने गर्छन् अनि मिठो खानेकुरा खाएर समय काट्छन्। दसैं नमनाउनेले पनि विदाको समय भन्दै देखासिकी गरेर उहिँ खाने खेल्नेभन्दा सोच्दै सोच्दैनन्।
सहरी जीवनमा विलासीका साधन अनि मिठो खान्की त छँदै त त्यहीमाथि दसैंको खाना अन्य समयभन्दा बढी गहकिलो हुन्छ। यसरी दसैंको पूर्ण समय रमाइलोमै बिताउने हो भने घरमै बसेर बिताउनुपर्छ भन्ने छैन। शारीरिक स्फूर्त र जीवनलाई सहज बनाउन, खानालाई पचाउन दिन विराएर उपत्यकाका डाँडाकाडा हाइकिङ गर्नु उपयुक्त हुन्छ। जीवनशैली परिर्वतन नगरे आयू पनि उत्तिनै छोटिनेमा दुई मत छैन। बालबालिकादेखि बृद्धबृद्धासम्म प्रविधिसँगै सामाजिक सञ्जालमा दिनरात रमाउने गर्छन्। कोठाभित्र सीमित जीवन बिताउने अधिक छन्। अझ धेरैले चाडबाड भन्दै पिउने र तास खेलेर रमाउने गर्छन्। चाडबाडमा गरिने यो पद्दतिलाई परिर्वतन गरेर हाइकिङ गर्ने बानी बसाल्नु आफ्नै लागि फाइदा हुन्छ।
सहरी जीवनमा अव हाइकिङ फेसन र रहर हैन, सातामा एक दिन हाइकिङ बाध्यता भएको छ। दिनानुदिन बढ्दो रोग र कलिलै उमेरमा हुने विभिन्न रोगको आक्रमणले शारीरिक स्फूर्तीमा कमी हुने स्वास्थ्यकर्मीको भनाइ छ। काठमाडौं उपत्यकामा हाइकिङ संस्कृति थोरै मात्रामा विकास भए पनि अझै संस्कारको रूपमा विकास हुन सकेको छैन। उपत्यकाको प्रदूषण छल्न पनि वरपरका डाँडापाखामा निष्कनु उपयुक्त हुन्छ। सहरी बालबालिकालाई ग्रामीण परिवेश, गाउँले जनजीवन र नयाँ ठाउँ, वस्तुको अनुभव दिनु अभिभावकको दायित्व हो। हिमालको दृश्य, उपत्यकाका चारैतिर हरिया डाँडामा हिड्न हाइकिङ र ट्रेकिङ, साइकिलिङ संस्कार सहरी जीवनमा बाध्यता बनिसकेको साइकल चलाउने अभियानकर्ता रत्न श्रेष्ठको भनाइ छ। अझ दसैं विदाको समय कोठामै बिताउनुको उचित विकल्प हाइकिङ हुने उनको सुझाव छ।
सहरी जीवनमा सवारीसाधनको प्रयोग, कम परि श्रम हुनु अनी कार्बोहाइड्रेट र प्रोटिनयुक्त खानेकुराले शरीरलाई दिनानुदिन आलस्य हुँदै जानाले रोगी जीवन बिताउनु बाध्य हुनुपरेको छ। ट्रेकिङ गर्ने पनि काठमाडौं बसेपछि खुट्टा पूरै जाम हुने, रक्तचाप बढ्नेजस्ता समस्या देखिने गरेको भन्दै दसैंमा ककनीसम्म हाइकिङ जाने योजना बनाएको पर्यटन व्यवसायी बाबुराम गुरुङले बताए। उपत्यकाबासीका लागि डाँडावारीपारी हाइकिङका लागि प्रशस्तै रुट छन्। २० वटाभन्दा बढी हाइकिङका रुट छन् यसलाई आधा दिन, पूरै दिनसम्म पनि प्रयोग गर्न सकिन्छ। प्रदूषणले स्वाससँगै धुलो निल्नुपर्ने तर एक दिन सफा हावा लिने अभ्यास गर्दा थोरै भए पनि जीवनलाई सहज हुने गुरुङको अनुभव छ।
हाइकिङ अरुभन्दा सस्तो पनि छ। घरबाटै तयारी खाना बोकेर जान पनि सकिन्छ। पानीलगायत अन्य हल्का खानेकुरा झोलामा बोकेर लान सकिन्छ। गन्तव्य अनुसार खानेकुराको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। बिहानै घरबाट निस्किएपछि निश्चित स्थान छनोट गरी खाना खाने व्यवस्था गर्नुपर्छ। हल्का खानाकै भरमा पनि दिनभर हिड्न सकिने भएकाले जनही पाँच सय रुपैयाँ खर्च हुने व्यसायीहरू बताउँछन्। हाइकिङ गर्दा ध्यान दिनुपर्ने विशेष गरी स्वास्थ्यलाई ख्याल गर्नुपर्छ शारीरिक रूपमा फिट नहुँदा हिँड्न नसक्ने अवस्था हुँदै जानु उचित हुँदैन। तर शारीरिक तन्दुरुस्ती भए हिँड्न सहज हुने खालका स्पोर्ट सुज, सहज हुने खालको हल्का ट्र्याकसुट, घाम छेक्ने टोपी र लाठी अनिवार्यजस्तै हुन्छ। हाइकिङका लागि पदयात्रा गर्ने सानो बाटो भए पुग्ने भएकाले खासै रुट व्यवस्थापनको खाँचो पर्दैन। काठमाडौं उपत्यका वरपरका डाँडाकाडा हाइकिङ गर्न बाटो सहज भएको जानकारहरूको भनाइ छ।
यसरी योजना बनाउनुहोस्
हाइकिङ जानुअघि रमाइलो गन्तव्य निश्चित गर्नुपर्छ , त्यसपछि योजना बनाउनु पर्छ। को–को जाने पहिले निश्चित हुनुपर्छ। परिवारसँग या साथीभाइसँग यसैअनुसार गन्तव्य रोज्नु उपयुक्त हुन्छ। एकदिनमै गरिने भएकाले हाइकिङ भनिएको हो भने दुई दिनभन्दा बढी गरिने ट्रेकिङ हो। यसैअनुसार हाइकिङ कि ट्रेकिङ भिन्नता छुट्याएर सोही अनुसारको तयारी गरी गन्तव्य रोज्नुपर्छ।
काठमाडौं वरपरका हाइकिङ क्षेत्र
चन्द्रागिरि: समुद्री सतहबाट दुई हजार ६ सय मिटर उचाइमा रहेको चन्द्रागिरि भौतिक सुविधा सम्पन्न पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेको छ। यहाँ अहिले थानकोटदेखि केबुलकारको सुविधा छ। तर, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ।
नमोबुद्ध: समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा अवस्थित नमोबुद्ध काभ्रे जिल्लामा अवस्थित छ। यस रुटमा परिवार, साथीभाइ घुमफिरमा निस्किने जो–कोही पूरै एक दिन रमाइलो यात्राको साक्षी बन्नेछन्। काभ्रेको पनौतीदेखि परम्परागत नेवार बस्ती छिचोल्दै सुरु हुने यो रुटमा जानुअघि पनौतीसम्म भने सवारीसाधनमा जानुपर्ने हुन्छ। नमोबुद्धआसपास सडक यातायात पुगिसकेको भए पनि स्थानीय बस्ती, कृषिभूमि, नदीनाला, पहाड र हिमाली शृंखला अवलोकन गर्न भने पैदलयात्राको विकल्प छैन।
चम्पादेवी: एक दिनको हाइकिङका लागि उपत्यकाबासीको अर्को रोजाइ हो चम्पादेवी। हिमाली तथा पहाडी शृंखलाको अवलोकनसहित छोटो अवधिमै काठमाडौंको धुलो धुँवा छाडेर स्वच्छ वातावरण भएको ठाउँमा पुगिन्छ। समुद्री सतहबाट दुई हजार चार सय मिटर उचाइमा रहेको यस चुचुरोको यात्रा भने फर्पिङबाट प्रारम्भ गर्न सकिन्छ।
फुल्चोकी: काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो, फुल्चोकी। समुद्री सतहबाट दुई हजार सात सय ५० मिटर अग्लो स्थानमा रहेको यो डाँडाबाट पनि प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। पहाडी र हिमाली शृंखलाका लागि फुल्चोकी धाउनेको जमात ठूलो हुन्छ। फुल्चोकी यात्रा भने गोदावरीबाट सुरु गर्न सकिन्छ।
ककनी: काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा अवस्थित छ। धेरैजसो मानिस ककनीसम्म पिकनिक र हाइकिङमा रमाउने उद्देश्यले पुग्ने गर्छन्। तर, ककनीदेखि सूर्यचौरसम्मको हाइकिङ महत्वपूर्ण हुन्छ।
शिवपुरी: समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित शिवपुरी डा“डा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो। विश्वमा कुनै पनि मुलुकको राजधानीबाट नजिकको राष्ट्रिय निकुञ्जका रूपमा चर्चित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अहिले काठमाडौं उपत्यकाभित्र पिउने पानी आपूर्तिको सबैभन्दा ठूलो स्रोत हो। ह्वाइट गुम्बा, पाइलट बाबा, बूढानीलकण्ठ, साँखु र भोटेचौर एक दिनमै घुमेर फर्किन सकिने अन्य नजिकका गन्तव्य हुन्। यीबाहेक अन्य उपयुक्तमध्ये बालाजुपार्क–तपोवन क्षेत्र, गोदावरी, त्रिभुवनपार्क, सेतोगुम्बा, चोभार, चिसापानी, इन्द्रसरोवर, सुन्दरीजल पनि हो।