दुर्गममा खाद्य डिपो माग

दुर्गममा खाद्य डिपो माग

गोरखा : सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा खाद्य डिपो स्थापना गर्न जिल्ला खाद्य व्यवस्था समितिले माग गरेको छ। सम्भव भएसम्म डिपो थप गर्नुपर्ने, नसके माछाखोलामा रहेको डिपोलाई नाम्रुङमा सार्न खाद्य संस्थानसँग माग गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए।

संस्थानले २०३९ सालमा माछाखोलामा र २०४६ सालमा सिर्दिबासको फिलिममा डिपो स्थापना गरेको थियो। माछाखोला डिपोबाट ३ हजार क्विन्टल र फिलिम डिपोबाट २ हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ। तत्कालीन अवस्थामा राखिएको फिलिम डिपो ५२ कोस टाढा पर्ने तिब्बतको सीमामा रहेका गाउँबाट पायक नपर्ने भएकाले नाम्रुङमा स्थापना गर्न सिफारिस गरिएको प्रजिअको भनाइ छ।

‘सामागाउँ, ल्हो, प्रोकबाट फिलिम डिपोसम्म चामल लिन आउन २ दिन पैदल हिँड्नुपर्छ’, प्रजिअ भट्टराईले भने, ‘नाम्रुङमा डिपो राखियो भने सुदूरउत्तरका बासिन्दाका लागि थोरै भए पनि राहत हुन्छ भन्ने निष्कर्षमा पुगेर संस्थानमा माग गरी पठाएका छौं।’ ३ वटा डिपो राख्न नसक्ने हो भने माछाखोलाको डिपो नाम्रुङमा सार्न मौखिक सिफारिस गरिएको प्रजिअ भट्टराईले बताए।

नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट, आरुघाट लार्के सडक माछाखोलासम्म पुगेकाले उक्त ठाउँको डिपोबारे बिकल्प सोच्न सकिने उनले बताए। माछाखोला डिपोमा पुगेको ३ हजार क्विन्टल चालम केरौंजा, कासीगाउँ, उहिया, खोर्ला, गुम्दा, लापुबेसीका बासिन्दाले ढुवानी सहुलियतको चामल पाइरहेका छन्। फिलिम डिपोमा पुग्ने २ हजार क्विन्टल चामल साबिक सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले ढुवानी सहुलियतको चामल पाउने गरेको खाद्य संस्थान गोरखाका प्रमुख मोहन बजगाईंले जानकारी दिए।

५२ कोस टाढा रहेको सामागाउँ, ल्हो, प्रोकका बासिन्दा चामल लिन नआउने स्थानीयबासी बताउँछन्। फिलिमसम्म पुग्न सामागाउँ, ल्होे, प्रोकबाट २ दिन लाग्छ। कोटाको थोरै चामल लिन लामो बाटो हिँडेर गाउँले नजाने सामागाउँका वडा सदस्य मिङ्मार लामाले बताए। ‘एकजनाको भागमा १५, २० किलो चामल पर्छ। त्यति चामल लिन २ दिनको बाटो हिँडेर कोही पनि जाँदैनन्’, उनले भने, ‘नाम्रुङसम्म हो भने गाउँले जान सक्छन्।’

साबिक चार गाविसको बीचमा पर्ने हुँदा नाम्रुङमा डिपो राख्न पहिलेदेखि पहल गरेको तर सरकारले सुनुवाइ नगरेको वडा नम्बर २ ल्होका वडाअध्यक्ष पेम्बारेता लामाको भनाइ छ। ‘धेरै पहिलेदेखि नाम्रुङमा एउटा डिपो राखिदिनु भनेर जिल्लामा भनिरहेका थियौं तर सुनुवाई भएको छैन’, उनले भने।

माछाखोला डिपोबाट केरौंजा, कासीगाउँ, उहिया, खोर्लाजस्ता विकट ठाउँका बासिन्दा लाभान्वित भएको भन्दै उक्त ठाउँको डिपो सार्न नहुने स्थानीय धनकुमार गुरुङले बताए। नाम्रुङमा डिपो थप गर्न अति आवश्यक रहेको तर माछाखोलाको डिपो हटाउन नहुने उनको राय छ।

खाद्य संस्थानले माछाखोलाबाट साबिकका कासीगाउँ, केरौंजा, गुम्दा, उहिया, लाप्राक क्षेत्रका उपभोक्तालाई प्रतिकिलो ४५ रुपैयाँका दरले चामल बिक्री गरिरहेको छ। फिलिम डिपोबाट प्रतिकिलो ४८ रुपैयाँका दरले साबिक सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसका बासिन्दालाई चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थान प्रमुख चापागाईंले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.