अाहा ! दसैंमा नयाँ जुत्ता
नेपालीका लागि दसैं विशेष र महत्वपूर्ण छ। दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमासमेत लिइन्छ। परिवारका सबै सदस्यले नयाँ पहिरन किन्नु पनि दसैंको एउटा विशेषता हो। त्यसमध्ये नयाँ जुत्तामा धेरैको आकर्षण हुने गरेको छ।
अन्य समयको तुलनामा दसैंमा जुत्ताको कारोबार विशेष रूपले बढ्ने गरेको जुत्ता उद्योगी बताउँछन्। दसैंमा झन्डै २५ प्रतिशतले जुत्ताको बिक्री बढ्ने गरेको जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष रविनकुमार श्रेष्ठ बताउँछन्। ‘दसैंमा नयाँ पहिरन लगाउने परम्पराका कारण यस समयमा जुत्ताको बिक्री बढ्ने गरेको छ’, उनले भने, ‘उद्योगीले पनि दसैंको अवसर पारेर विशेष छुटमा जुत्ता दिने बिक्री गर्ने योजना ल्याइरहेका हुन्छन्।’
पछिल्लो पाँच वर्षमा चाडपर्वबाहेक समयमा पनि जुत्ताको बिक्री बढिरहेको उनले जानकारी दिए। उनले भने, ‘पाँच वर्षअगाडि नयाँ जुत्ता दसैंमा किन्नुपर्छ भन्ने आमसोच थियो। तर अहिले नेपालीको जीवनस्तरमा परिवर्तन आएसँगै जुत्ता फेसनजस्तो भइसक्यो। अहिले नयाँ जुत्ता लगाउन दसैं नै कुर्नुपर्ने अवस्था छैन।’
अहिले सरकारले आयातित जुत्ताको चोरी निकासीमा कढाई गरेपछि नेपाली बजारमा स्वदेशी जुत्ताले राम्रो स्थान पाइरहेको उनले बताए। जसकारण यसपालि दसैंमा स्वदेशी जुत्ताको बिक्री २५ प्रतिशतले बढ्ने उनको अनुमान छ।
अन्य समयको तुलनामा दसैंमा जुत्ताको कारोबार दोब्बरले बढ्ने केडी सुजका सञ्चालक प्रशन्न गौतमले जानकारी दिए। घटस्थापनासम्म जुत्ताको बिक्री राम्रो हुने उनले बताए। दसैंको १५ देखि २० दिनको समयमा जुत्ताको बिक्रीमा परिणामात्मक वृद्धि हुने गरेको छ।
आर्थिक वर्ष ०७१/०७२ मा भारतलगायत तेस्रो मुलुकबाट दुई अर्ब ५३ करोड ८२ लाख १८ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख एक हजार ५२८ जोर जुत्ताचप्पल आयात भएको थियो। आव ०७२/०७३ मा आयात बढेर तीन अर्ब ३४ करोड छ लाख ८९ हजार रुपैयाँ बराबरको तीन करोड ७९ लाख ४९ हजार तीन ९३ रुपैयाँ पुगेको थियो।
आव २०७३/७४ को पहिलो पाँच महिनाको भन्सार तथ्यांक अनुसार एक अर्ब ६३ करोड ७७ लाख ६९ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ। पछिल्ला वर्षको आँकडा हेर्दा विदेशी जुक्ताको आयात बढ्दै गएको पाइन्छ।
भन्सार छली गर्न अपनाइने न्युन बिजकीकरणले सरकारले पाउने राजस्वसँगै उद्योगी समेत प्रभावित भइरहेका छन्। सामान आयात गर्दा भन्सारमा वास्तविक भन्दा कम मूल्य देखाई सामान छुटाइने गरेको श्रेष्ठले बताउँछन्। उनले भने, ‘जबसम्म चोरी पैठारी नियन्त्रण हुँदैन र उचित बिजकीकरण सुनिश्चित हुँदैन यो क्षेत्रको सहज प्रगति हुने सम्भावना देखिँदैन।’
भन्सार छली गर्न अपनाइने न्युन बिजकीकरणले सरकारले पाउने राजस्वसँगै उद्योगीसमेत प्रभावित भइरहेका छन्।
नेपाली उद्योगको वार्षिक जुत्ताचप्पल उत्पादन गर्ने क्षमता ११ करोड १९ लाख ७१ हजार जोर छ। आर्थिक वर्ष ०७२/०७३ को उत्पादनअनुसार नेपालको अनुमानित वार्षिक चार करोड ३९ लाख ५८ हजार सात सय जोर मात्र छ। नेपालमा एक हजार ७१ वटा जुत्ताचप्पल उद्योग सञ्चालनमा छन्।
भन्सार बिन्दुमा आयातित तयारी बस्तुमा प्रयोग भएको कच्चापदार्थअनुसार उत्पादन वर्गीकरण हुने नगरेको उद्यमी बताउँछन्।
आव ०७२/०७४ को पहिलो पाँच महिनामा भएको आयातको बिजकीकरणको अवस्थाअनुसार एक करोड ९८ लाख ५८ हजार ५३३ जोर आयातमध्ये एक करोड ५३ लाख १७ हजार एक सय ७८ जोर अर्थात ७७.१३ प्रतिशत न्यूनतम ४४.१८ रुपैयाँदेखि ९०.८४ रुपैयाँ प्रतिजोर मूल्यांकनमा आयात भएको छ। ४३ लाख १५ हजार एक सय ४७ जोर अर्थात २१.७३ प्रतिशत एक सय रुपैयाँभन्दा माथि १३१.०३ रुपैयाँसम्म प्रतिजोर मूल्यांकन भई आयात भएको पाइएको छ।
बाँकी १.१४ प्रतिशत मात्र १३१ रुपैयाँ प्रतिजोर माथि आयात भएको उक्त तथ्यांकले देखाएको छ। तर नेपाली उद्योगीले नमुनाका लागि ल्याएका तयारी बस्तुको मूल्यांकन हालको बजार बराबर भएको व्यवसायीको दाबी छ।
खास गरी पीयू सोल भएका लेडिज स्यान्डल जो नेपालमा तीन सय ५० रुपैयाँ उत्पादन लागत पर्छ र छिमेकी भारतमा पनि न्यूनतम दुई सय भारतीय रुपैयाँ पर्छ। त्यस्ता बस्तु ८५ रुपैयाँ र १३६ रुपैयाँको बिजकीकरणमा देशमा भित्रिँदा स्वदेशी उत्पादन घटाउन वा बन्द गर्न बाध्य हुने अवस्था छ।
देशका ठूला मल तथा ठूला जुत्ताचप्पलका थोक व्यापारीसँग एकसे एक महँगा र ब्रान्डेड जुत्ताको बाहुल्यता देखिएको तथ्यबाट पनि न्युन बिजकीकरणले राजस्वमा व्यापक घाटा भएको देखाउँछ। यस्तै स्वदेशी उत्पादन बिक्री हुन नसकि उत्पादकहरू उत्पादन न्यूनीकरण गर्दै आयात व्यापारतर्फ उन्मुख हुन थालेको श्रेष्ठले बताए।
भन्सार मूल्यांकन बढाई देशका उद्योगको संरक्षण गर्न ढिलो गर्न नहुने उनको सुझाव छ।
देशको उत्पादन क्षमता ११ करोड जोरभन्दा माथि रहेको र नेपाली जुत्ताचप्पलको हैसियत आत्मनिर्भरताको अवस्थामा रहे पनि व्यापार घाटाले अगाडि बढ्न नसकेको उद्योगी बताउँछन्। देशको व्यापार घाटा कम गर्न तथा स्वदेशी उत्पादन संरक्षण गर्न भन्सार मूल्यांकनमा सुधार गरी चीनमा जस्तो ७१ प्रतिशत र युआन दुई सय प्रतिजोर, बंगलादेशमा जस्तो ९४ प्रतिशत तथा श्रीलंकामा जस्तो कम्तीमा ६ सय रुपी प्रतिजोर भन्सार दर कायम हुनुपर्ने उद्योगीले बताए।
श्रेष्ठले विराटनगरमा उत्पादन हुने म्याजिक चप्पलमा सबै रङ, बुटा तथा लोगोसमेत मिलाई म्याजिकको बदला म्युजिक बनाई भारतबाट नेपालमा भित्रिएको बताए। उनले भने, ‘आफ्नो देशको उत्पादनलाई अन्य देशले समान लोगो र सबै आकार प्रकार मिलाएर कमोडिटी कोडसमेत हुबहु उल्लेख गरेको उत्पादन अर्को मुलुकबाट भित्रिन कुनै मुलुकले पनि दिँदैन।’