चाडपर्वमा खाद्यवस्तुको माग दोब्बर

चाडपर्वमा खाद्यवस्तुको माग दोब्बर

मिठो खाने, राम्रो लगाउने सबैको रहर हुन्छ। तर सबैले चाडबाडमा पनि मिठो खान पाउँदैनन्। आर्थिक अवस्था नाजुक भएकाले पनि दसैंतिहारमा ऋण धन गरेर मिठो खान लामो समयदेखि तयारी गरेका हुन्छन्। अन्य समयमा मुस्किलले दुई छाक टार्नपर्ने मानिस पनि दसैैं आएसँगै रमाउन थाल्छन्। दसैं भित्रिएसँगै गच्छेअनुसार खाद्यवस्तु जोहो गर्न थाल्छन्।

दसैंतिहार नजिकिएसँगै खाद्य वस्तुको बिक्री वितरण बढ्छ। दसैंतिहारका लागि चाहिने खाद्य सामग्री जोहो गर्न गाउँदेखि मानिस सहरसम्म पुग्छन्। चाडपर्वका अवसरमा चामल, दाल, तेल, नुन, चिनी, मैदा, मसला, बिस्कुटलगायत खाद्यन्नको झन्डै दोब्बर खपत हुने गरेको छ। चाडपर्वमा इष्टमित्र आउने र अरुबेलाभन्दा चाडपर्वमा मिठो खाने रहर सबैमा हुने भएकाले खाद्य सामग्रीको बिक्रीवितरण बढेको हो। दसैंमा सेलरोटी र फिनीरोटी खाने चलन छ। दसैं नजिकिएसँगै खाद्य सामग्री बिक्री वितरण ह्वात्तै बढेको उद्योगी व्यसायीले बताएका छन्। अधिकांश मानिसले आफूलाई चाहिने खाद्य सामग्री खरिद गर्न सुरु गरिसकेका छन्।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले दसैं नजिकिएसँगै उपभोक्ताको भीड लाग्न थालेको बताए। अन्य समयको तुलनामा दसैंमा २५ प्रतिशतभन्दा बढी खाद्यवस्तु बिक्री हुने गरेको उनले बताए। दसैंमा चिउरा र मासु धेरै खपत हुने उनले बताए। त्यस्तै मदिराजन्य वस्तु पनि बढी नै बिक्री हुने गरेको उनको भनाइ छ। उपभोक्ताले आवश्यकताअनुसार आफूलाई चाहिने खाद्यवस्तु खरिद गर्ने गरेको उनको भनाइ छ। अन्य समयको तुलनामा चाडपर्वमा खाद्यवस्तु बढी खपत हुने गर्छ। अन्य समयको तुलनामा २० देखि ५० प्रतिशतसम्म बढी कारोबार हुने व्यवसायीहरू बताउँछन्। व्यापारीले नेपाली उत्पादनसँगै विदेशी उत्पादनसमेत बिक्री वितरण गर्ने गर्छन्।

सेन्चुरी मसला प्रालिले मसला, स्न्याक, चियापत्ती, ग्लुगोज उत्पादन गर्दै आएको छ। सेन्चुरीका सञ्चालक मोक दुगरले अन्य समयभन्दा चाडपर्वका बेला दोब्बर बिक्री हुने बताए। ‘सामान्य समयभन्दा चाडपर्वमा दोब्बर बिक्री भइरहेको छ, त्यसकारण उत्पादन पनि बढाउँदै लगेका छौं’, उनले भने। सेन्चुरी नेपालको गुणस्तर र आईएसओ प्रमाणपत्र प्राप्त कम्पनी हो। यहाँ काम गर्ने केही कर्मचारी विदेशीसमेत छन्। सेन्चुरीले दसैंतिहारमा थप कर्मचारी राखेर भए पनि उत्पादन बढाउने निर्णय गरेको छ। दसैंलाई लक्ष्य गरी उत्पादन वृद्धि गर्ने उनले बताए।

सेन्चुरीले आफ्ना डेढसय डिलरबाट देशभर मसलाजन्य उत्पादन बिक्रीवितरण गर्दै आएको छ। देशका सबै ठाउँमा बिक्री गर्नुका साथै विदेशमा समेत सेन्चुरीका मसला निर्यात हुने गरेका छन्। ‘जहाँ नेपाली पुगेका छन्, ती सबै देशमा पुगेको छ’, उनले भने। सेन्चुरीका मसला, चियापत्ती तथा ग्लुकोज अस्ट्रेलिया, अमेरिका, जापान, दुबई, रसिया, क्यानाडालगायत देशमा निर्यात हुँदै आएको छ। सेन्चुरी मसला विदेशमा समेत पर्याप्त मात्रामा निर्यात हुन्छ। हरपल फुड्स प्रालिले चामल, दाल, तेल, चिनी, मैदा उत्पादन गर्र्दै आएको छ। उसले काठमाडौं र भैरहवामा गोदाम राखेर देशभर आफ्ना उत्पादन बिक्री गर्दै आएको छ। अरु बेलाभन्दा दसैंको सयम १५ प्रतिशत बढी कारोबार हुने गरेको हरपल फुड्स प्रालिका चेयरमेन जनकबहादुर धामीले बताए। ‘हाम्रो उत्पादन कुनाकन्दरासम्म पनि पुग्छ’, उनले भने, ‘आफ्नै गाडीबाट ढुवानी गर्दै आएका छौं’, उनले भने। दसैंको समयमा जिरामसिनो चामल र तेल बढी बिक्री हुने गरेको उनको भनाइ छ। त्यस्तै तिहारमा चिनी, मैदालगायत खाद्य सामग्री बढीमात्रामा बिक्रीवितरण हुने गरेको छ।

हरपल फुड्स प्रालिले १३ वर्षदेखि दाल, चामल, तेललगायत खाद्यवस्तु उत्पादन गर्र्दै आएको छ। उसले आफ्ना डिलर तथा सब डिलरबाट खाद्यवस्तु बिक्रीवितरण गर्दै आएको छ। उनी भन्छन्, ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं, हाम्रा उत्पादनमा कसैले पनि कमजोरी औंल्याउन सकेको छैन।’ उत्पादन गुणस्तरयुक्त हुने भएकाले खोजीखोजी किन्ने जमात बढ्दै गएको उनको भनाइ छ।

नेबिको प्रालिले बिस्कुट, चकलेट बिक्री गर्दै आएको छ। दसैंमा बिस्कुट तथा चकलेट उपभोग पनि बढ्दै गएको छ। नेबिकोले काठमाडौंको बालाजु र रूपन्देहीको भैरहवाबाट विभिन्न प्रकारका बिस्कुट र चकलेट उत्पादन गरी देशभर वितरण गर्दै आएको। भैरहवा उत्पादन भएका सामान पश्चिमतिर र काठमाडौंमा उत्पादन भएका सामान पूर्वतिर बिक्री हुने गरेको नेबिको प्रालिका मार्केटिङ म्यानेजर अरुण पौडेलले बताए। उनका अनुसार अन्य समयभन्दा दसैंतिहारजस्ता चाडपर्वमा २० प्रतिशतभन्दा बढी कारोबार हुन्छ। नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो। नेबिकाले ५० प्रकारका बिस्कुट निर्माण गर्दै आएको छ भने आधा दर्जनभन्दा बढी प्रकारका चकलेट बिक्री गर्दै आएको छ। पौडेलले चकलेटको उत्पादन बढाउने तयारी भएको र छिट्टै १० प्रकारका चकलेट उत्पादन गर्ने लक्ष्य रहेको बताए।

नेबिकोले संयुक्त लगानीमा काठमाडौं मैदा मिल पनि सञ्चालन गरेको छ। ‘मैदाको व्यवस्थापन अरु नै भए पनि निकट भविष्यामा मैदा उद्योग आफैं चलाउने तयारीमा छौं’, उनले भने। नेबिकोले मैदाजन्य बिस्कुट उत्पादन बढाउने योजना भएकाले आफ्नै व्यवस्थापनमा मैदा उद्योग सञ्चालन गर्दा सजिलो हुने पौडेलले बताए। ‘हाम्रो प्राथमिकता बिस्कुट र चकलेट नै हो, त्यसमै फोकस गर्छाैं’, उनले भने। नेबिकोले एक सयभन्दा बढी डिलरबाट देशभर आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ।

नेपाल कृषि प्रदान देश भए पनि खाद्यन्नमा आत्मनिर्भर हुन सकेको छैन। नेपाली कृषि प्रणाली आधुनिक र वैज्ञानिक हुन नसक्दा उत्पादन वृद्वि हुन नसकेको उनले बताए। हरेक कृषिजन्य खाद्य सामग्रीमा परनिर्भरता बढ्दै गएको छ। नेपालका औद्योगिक प्रतिष्ठान कृषि उत्पादनभन्दा विदेशी सामान आयात गरेर बिक्री वितरणमा ध्यान दिँदा खाद्यन्नमै अर्बाैंको आयात भइरहेको छ। कृषिमा ६७ प्रतिशत नेपाली आश्रित छन् भने यसले कुल गार्हस्थ उत्पादनमा ३४ प्रतिशत योगदान दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.