‘संघीयताविरोधीबाट असहयोग’

‘संघीयताविरोधीबाट असहयोग’

बर्दिबास : मुख्यमन्त्री लालबाबु राउतले संघीयताविरोधीहरू प्रदेशलाई असहयोग गरेर संघीयताप्रति नै वितृष्णा फैलाउन लागिपरेको बताएका छन्। मधेस आन्दोलनका घाइते महोत्तरी पिपरा–५ रतौलीका विजयकुमार ठाकुरलाई १ लाख ५० हजारको चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। ‘संघीयताविरोधीहरू जनतामा संघीयताप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेका छन्’, उनले भने, ‘यसलाई चिर्न हामीले प्रदेश प्रहरी र करारमा कर्मचारी भर्नाका लागि संसद्मा विधेयक टेबल गरेका छौं।’ दुवै विधेयक दुई—तीन दिनमै पारित हुने सुनाउँदै उनले भने, ‘त्यसपछि संविधानप्रदत्त सबै अधिकार कार्यान्वयनतर्फ हामी लाग्छौं।’

उनले तराई–मधेसका जनताको भावनाबमोजिम प्रदेश २ सरकार गठन भएको बताए। मधेस आन्दोलनका बलमा संघीयता स्थापित भएकाले सहिदहरूको बलिदानीलाई आत्मसात् गरी प्रदेश सरकार अघि बढेको उनको भनाइ थियो। ‘हामीले मधेस आन्दोलनमा घाइते भएकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थियौं’, उनले भने, ‘त्यसअनुसार पीडित परिवारलाई क्षतिपूर्तिसहित योग्यता र क्षमताका आधारमा रोजगारीको व्यवस्था मिलाइरहेका छौं।’ पहिलो मधेस आन्दोलनमा एउटा खुट्टा गुमाएका ठाकुरलाई उनकै गाउँ रतौलीमा सहयोग रकम उपलब्ध गराइएको हो।

उनले मधेसका जनताको अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि प्रदेश सरकारलाई स्वीकार्य नहुने बताए। प्रदेशको शान्ति–सुरक्षा र विकासको जिम्मा प्रदेश सरकारको रहे पनि केन्द्र सरकारले त्यसमा अल्झाएर संघीयतालाई असफल बनाउने प्रयास गरिरहेको आरोप उनले लगाए। यस्ता गतिविधिविरुद्ध लड्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो।

झाडापखालाप्रभावित क्षेत्रमा मुख्यमन्त्रीमुख्यमन्त्री राउतले झाडापखालाबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरूप एक/एक लाख रुपैयाँ दिइने बताएका छन्। झाडापखालाप्रभावित क्षेत्रको निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। महोत्तरीको जलेश्वर–१२ नैन्हीमा झाडापखाला फैलिएको थियो। उनले प्रकोप नियन्त्रणमा सहयोग गर्ने स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले महामारी फैलिन नदिनका लागि रणनीति तयार गर्न नगरपालिकालाई निर्देशन दिए।

‘स्वच्छ खानेपानी अभावमा झाडापाखाला फैलियो’, उनले भने, ‘स्वच्छ खानेपानीको व्यवस्थाका लागि प्रदेश सरकारले चाँडै चापाकल उपलब्ध गराउँछ।’ यो गाउँमा झाडापखालाबाट दुई जनाको ज्यान गएको थियो भने ३ सयभन्दा बढी बिरामी भएका थिए। दुई सातापछि झाडापखाला नियन्त्रणमा आएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरका अनुसार प्रदूषित पानी खाएकाले झाडापखाला प्रकोप फैलिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंले यस्तो प्रतिवेदन पठाएको उनले सुनाए। ‘नैन्हीका स्थानीयले खानेपानीमा इकोलाई र कोलिफम नामक ब्याकेटेरिया भेटियो’, उनले भने, ‘पानीमा जुन ब्याकेटेरिया भेटियो त्यो दिसामा पाइन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.