रेमिटेन्सले फिर्यो जीवन
धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित समाजसेवी कृषि सहकारी संस्था लिमिटेड अहिले भरिभराउ छ। हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व दसैं नजिकिँदै जाँदा आफ्ना आफन्तले विदेशबाट पठाएको रेमिटेन्सको प्रतिक्षामा रहेका परिवारजनले दसैंतिहार मनाउन रकम निकाल्न संस्थामा एक महिना अघिदेखि भीडभाड बढेको सञ्चालक राममणि कुशवाहा बताउँछन्।
कुशवाहा भन्छन्, ‘ग्रामीण महिला र त्यसमा पनि ३० प्रतिशतभन्दा बढी दलित परिवारका महिला विदेशबाट आएको रकम निकाल्न संस्थामा आउने गर्छन्।’ अन्य महिनाको तुलनामा दसैंतिहारका बेला २५ देखि ३० प्रतिशतसम्म रेमिटेन्स बढ्ने गरेको उनको भनाइ छ।
महेन्द्रनगरस्थित रामनारायण सन्स मनि ट्रान्सफरमा पनि विदेशबाट पठाएको पैसा निकाल्नेको भीड अहिले थामिनसक्नु छ। चाडपर्व नजिकिँदै जाँदा सेवाग्राहीको संख्या झन बढ्दै गएको सञ्चालक शत्रुधन महतो बताउँछन्। यतिबेला विदेशबाट आफन्तले पठाएको रकम दसैंका लागि लुगाकपडा, गरगहना, खसीबोकालगायत अन्य आवश्यक काममा खर्च हुन्छ।
श्रीमान वा घरका पुरुष सदस्य वैदेशिक रोजगारमा गएर कमाई पठाएको रकमलाई खर्च गर्ने काम महिलाले गर्छन्। जनकपुरधाम उपमहानगरपालिका १५ रामपुर निवासी सीता देवीलाई यसपालि एक महिना अघिदेखि दसैं लागेको छ। श्रीमानले विदेशबाट पठाएको दसैं खर्चले उनलाई परिवारका आवश्यकता पूरा गर्न साह्रै सजिलो भएको छ।
हुनत तीन वर्षदेखि विदेशमा रहेका श्रीमान् अमित साह दसैं मनाउन यसपालि पनि घर नफर्किने भएका छन्। तर, उनी छठ भने आफ्नै परिवारसँग मनाउने गरी विदा लिन लागेकाले सीता र उनका छोराछोरी खुसी छन्।
तीन वर्ष अघिसम्म सीताको परिवारलाई सामान्य गर्जो टार्नसमेत समस्या थियो। उनका श्रीमानले जनकपुरमै काम गरेर जेनतेन परिवार धानिरहेका थिए। तर, आन्दोलनका बेला पसल बन्द रहने, राम्रो काम नपाएर घरमै बस्नुपर्ने बाध्यताले दुई छोराछोरीको पढाइ खर्च जुटाउन र दैनिकी चलाउन धौं–धौं परेको थियो।
दश जोड दुईसम्म शिक्षा लिएका अमितले विदेश गएर कमाउन थालेपछि अहिले जीवन फेरिएको छ। छोराछोरीको पढाइलेखाइका लागि सजिलो भएको छ भने घरखर्च चलाएर पनि केही रकम बचत पनि भएको छ।
जनकपुरकी मन्जुलादेवी ठाकुरका श्रीमान् पनि पाँच वर्षदेखि विदेशमा छन्। कतारको एक कम्पनीमा सुपरभाइजरको काम गर्दै आएका उनका श्रीमान् चाडपर्वका बेला घर फर्किने गर्छन्। तर, उनी पाँच वर्षको अवधिमा तीन चारपटक मात्रै घर आए पनि उनको मेहनतको कमाई भने प्रतिमहिना घर आउने गरेको मन्जुला बताउँछिन्। ‘दसैं आयो श्रीमान् आउन सकेनन् तर, उनले पठाएको पैसाबाट दसैंको सबै जोहो हुन्छ’, मन्जुलाले भनिन्।
घरपरिवार र आफन्तबाट टाढा भएर दिनरात पसिना बगाएपछि विदेशबाट रेमिटेन्ससँगै खुसी र परिवर्तन पनि भित्रिँदै गएको छ। वैदेशिक रोजगारले व्यापारलाई समेत निकै प्रभावित गरेको सुनचाँदी व्यापारी सञ्जीव साह बताउँछन्।
घरपरिवार र आफन्तबाट टाढा भएर दिनरात पसिना बगाएपछि विदेशबाट रेमिटेन्ससँगै खुसी र परिवर्तन पनि भित्रिँदै गएको छ। वैदेशिक रोजगारले व्यापारलाई समेत निकै प्रभावित गरेको छ।
सुनचाँदी किन्नेमा पहिला सम्पन्न र सम्भ्रान्त परिवारका हुन्थे। तर, वैदेशिक रोजगारमा दलित तथा गरिब परिवारका युवा जान थालेपछि अहिले दसैंतिहारमा सुनचाँदी र महँगा गरगहना किन्नेमा दलित समुदायको संख्या बढ्न थालेको साह बताउँछन्।
पछिल्लो समय गाउँघरमा बालबच्चाको शिक्षामा बढ्दो सहभागिता, राम्रो स्वास्थ्य संस्थामा सामान्य परिवारको पनि पहुँच र सुविधाजनक सामग्रीको प्रयोगका विषयमा जनचेतनामा वृद्धि हुनु पछाडि रेमिटेन्सको ठूलो हात रहेको नेपाल चेम्बर अफ कमर्स धनुषा शाखाका उपाध्यक्ष सरोज मिश्र बताउँछन्।
चाँडपर्वको बेला बजारमा अलि महँगो सरसामान किन्नेमा पनि विदेशबाट रेमिटेन्स पठाउने परिवारका सदस्य बढी रहेको मि श्र बताउँछन्। पछिल्लो समय समाजमा धनी र गरिब बीचको ठूलो खाडललाई पुर्ने काम रेमिटेन्सले गरेको मि श्रको ठम्याइ छ।
पाँच वर्षसम्म वैदेशिक रोजगारका लागि कतारमा श्रम गरेका मि श्रले वैदेशिक रोजगारबाट प्राप्त रकम सही ठाउँमा प्रयोग गर्न सके समाज सम्पन्नतातर्फ जाने उल्लेख गरे।
आर्थिक रूपमा सम्पन्न नभएकै कारण हेलामा पर्ने, दसैंतिहारमा राम्रो खानलाउन नपाउने समुदाय पनि पछिल्लो समय वैदेशिक रोजगारमा जान थालेपछि राम्रो अर्थोपार्जन गरेर अहिले सम्मानपूर्वक रहेको जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुदर्शन सिंहको बुझाइ छ। उनी भन्छन्, ‘म आफैं दुई वर्षभन्दा बढी वैदेशिक रोजगारका लागि दुबईमा श्रम गरेको छु। विदेशबाट बचाएर ल्याएको रकमलाई पुँजीमा परिणत गरी हाल जनकपुरमा एउटा होटल, दुइटा शिक्षण संस्थासमेत सञ्चालन गरिराखेको छु।
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा रेमिटेन्स बुझ्न लाम लागेका महिला
‘विदेशबाट कमाएको रकम परिचालित गर्न सक्दा आज जीवन नै फेरिएको छ’, सिंहले भने। यस्तो उदाहरण अहिले तराई मधेसको अधिकांश घरमा हेर्न पाइन्छ।
विदेशमा रहेका आफन्तले पठाएको महँगो मोबाइलले अहिले सञ्चारको पहुँच सबैमा पुर्याउन निकै सहज छ। पढ्न लेख्न नजान्ने महिला पनि इमो र फेसबुकमा गफिने गर्छन्। बढ्दो महँगीसँगै रोजगार नभए जीवन चलाउन निकै गाह्रो हुन्छ। नेपालमा रोजगारको अभावले बिदेसिएर आफ्नो भविष्य खोज्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।
नेपालबाट वैदेशिक रोजगारमा प्रतिवर्ष बिदेसिनेको संख्या लाखौं छ। वैदेशिक रोजगार विभागको तथ्यांकले आर्थिक वर्ष २०७४/०७५ मा नेपालबाट वैदेशिक रोजगारमा जान तीन लाख २३ हजार आठ सय ७७ जना युवाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका थिए। सोही आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति लिने, यसअघि अवैद्यरूपमा गएर हाल वैधानिक हुने, पुनः म्याद थपिएको युवाको संख्या दुई लाख ८८ हजार आठ सय नौ जना छन्। यी दुवै तथ्यांकलाई जोड्दा ६ लाख १२ हजार ६ सय ८६ जना हुन्छन्। व्यक्तिगत श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारमा जाने युवाको संख्या वार्षिक करिब चार लाख ५० हजार हाराहारी हुन जान्छ।
देशभरीको तथ्यांकलाई केलाउँदा प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेको संख्या ठूलो छ। सातै प्रदेशमध्ये प्रदेश २ बाट विदेश जानेको संख्या सर्वाधिक छ। वैदेशिक रोजगार विभागको तथ्यांकलाई हेर्दा धनुषाबाट बढी युवा रोजगारीका लागि बिदेसिएका छन्।
तथ्यांकअनुसार प्रदेश २ का आठ जिल्लामा धनुषाबाट गत वर्ष ३९ हजार सात सय ७९ युवा बिदेसिएका हुन्। त्यसैगरी सिरहाबाट ३० हजार ११, महोत्तरीबाट २७ हजार ४१७, सर्लाहीबाट १८ हजार ६ सय ४८, सप्तरीबाट १८ हजार तीन सय २४ युवा बिदेसिएका हुन्।
हुनतः वैदेशिक रोजगारले समाजमा विकृति बढाएका थुपै्र गुनासा र उदाहरण पनि नभएका होइनन्। तर, वैदेशिक रोजगारकै कारण अहिले लाखौं परिवार हातमुख जोर्न सक्षम भएका छन्। घरपरिवारमा दसैं मनाउन सक्ने अवस्था आएकाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सके यसले समृद्धि र विकासका लागि ठूलो टेवा पुर्याउने अर्थविद् सुरेन्द्र लाभको ठम्याइ छ।
वैदेशिक रोजगारमा जानेको संख्या प्रदेश २ मा सर्वाधिक भएको अवस्थालाई हेर्दै प्रदेश सरकारले वैदेशिक रोजगारीमा रहेका परिवारको सामाजिक सुरक्षाका विषयमा विशेष कार्ययोजना ल्याउने घोषणा समेत गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले पदभार ग्रहण गरेलगत्तै सार्वजनिक गरेको सय दिने कार्ययोजनामा पनि यसलाई समावेश गरिएको छ।