फेरि डेंगु संक्रमण
बर्दिबास : महोत्तरीमा फेरि डेंगु रोगको संक्रमण देखापरेको छ। बर्दिबासका दुई र जलेश्वरको बजराहीका एक जनामा यो रोग देखिएको हो। महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरका अनुसार डेंगु रोग किटाणुयुक्त एडिस अजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग महोत्तरीमा दोस्रो पटक देखापरेको हो। गत वर्ष बर्दिबासका ८ सय ४७ जनामा डेंगुको संक्रमण देखिएको थियो।
गत वर्ष देशभर गरी २ हजार १ सय ११ जनामा डेंगु रोग लागेको थियो। यसको ४० प्रतिशत बर्दिबासका थिए। फूलदानी, ग्यारेजका थोत्रा टायर, कुलरजस्ता सामानमा जमेको पानीमा एडिस अजिप्टाई लामखुट्टे जन्मने प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।
‘पानी जम्ने भाँडाकुडा र सार्वजनिक ठाउँको नियमित सरसफाइ गरे डेंगु संक्रमणबाट बच्न सकिन्छ’, उनले भने, ‘समयमा ध्यान नदिए डेंगुबाट ज्यान जान सक्छ।’ लामखुटेको वासस्थान खोजेर नष्ट गर्ने अभियान चलाए डेंगु संक्रमण न्यून गर्न सकिने उनले उल्लेख गरे। नेपाल आएका विदेशीमा सन् २००४ मा डेंगु संक्रमण भेटिएको थियो। भित्री तराई–मधेसमा सन् २००६ तिर डेंगु देखिएको थियो। असोज र कात्तिक डेंगुको ‘पिकआवर’ हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
डेंगु संक्रमणपछि शरीरमा सेता–काला धब्बा देखिन्छ। यससँगै १०५ डिग्रीसम्म ज्वरो आउने, टाउको, आँखाका गेडी, मांसपेशी तथा जोर्नी दुख्ने, छालामा राता खटिरा देखिने बर्दिबास सरकारी अस्पतालका डा. किशोर अधिकारीले जनाए।
बिस्तारै रगतमा रहेका प्लेटलेट्स घट्ने पनि जनाइएको छ। समस्या बढे शरीरका विभिन्न भागबाट रगत बग्न थाल्ने जानकारको भनाइ छ। यो रोग सार्ने लामखुट्टेले दिउँसो टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने स्वास्थ्कर्मी बताउँछन्। उनीहरूका अनुसार थोत्रा टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन।
बर्दिबास नगरपालिकाले डेंगुविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ। गौरीडाँडामा आयोजित कार्यक्रममा मेयर विदुरकुमार कार्कीले ‘डेंगुविरुद्धको डे’ भन्ने साप्ताहिक सरसफाइ अभियान चलाउने बताएका हुन्।