देउवाविरोधी नेताले बैठक बहिस्कार गर्ने
काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा नेविसंघमा उमेरहद तोकेपछि असन्तुष्ट भएका नेता कृष्णप्रसाद सिटौलाले आउँदो २५ गतेको पार्टी बैठकमा सहभागी नहुने बताएका छन् । उनले सभापति शेरबहादुर देउवा बहुमतकै आधारमा अघि बढ्न खोजेकाले बैठकमा जानुको कुनै अर्थ नभएको तर्क गरे । उनले भने, ‘पार्टीमा पेस भएको नेविसंघको सर्वसम्मत विधानमा छलफलसमेत नगरिकन उमेरहदको निर्णय मात्र गर्न ल्याइयो, यो प्रक्रियागत र विधिसम्मत छैन ।’
उनी मंगलबार काठमाडौंमा आफूनिकट केही नेता कार्यकर्तासँग दसैंको शुभकामना आदानप्रदान गरेर उपत्यकाबाहिर गए । विराटनगरमा बुधबार हुने कार्यक्रम र त्यसपछि बारा, पर्सासम्म जिल्ला भ्रमणमा जान लागेको उनले बताए । उनले २८ गते मात्र काठमाडौं फर्कने बताए ।
पार्टीले आउँदो २५ गते नेविसंघको विधान पारित गर्न बैठक बोलाएको छ । गत आइतबार राति अबेरसम्म बसेको बैठकमा सहमहामन्त्री तथा निर्देशक समिति संयोजक डा.प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षको उमेदहद लगाउने प्रस्ताव ल्याएका थिए । त्यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीलगायत नेताले फरक मत नै लेखेर असन्तुष्टि जनाएका थिए ।
सभापति देउवाले आइतबार पेलेर अघि बढेपछि सोमबार दिउँसो सभापतिइतर समूहका नेताहरूले अनौपचारिक बैठक गरेका थिए । बैठकमा उनीहरूले अब कसरी अघि बढ्ने रणनीति बनाएका थिए । ‘निर्णय के भयो भन्दा पनि यो प्रक्रियागत गम्भीर त्रुटि हो’, सिटौला भने, ‘त्यसैले अब हुने अर्थहीन बैठकमा म सहभागी हुन्नँ ।’
अर्का असन्तुष्ट नेता केसीले पनि २५ गतेको बैठकको अब कुनै औचित्य नदेखिएको भन्दै सहभागी नहुने बताए । उनले भने, ‘नेविसंघले सर्वसम्मत पेस गरेको विधान हेर्न पनि नदिई उहाँहरूले हतारहतारमा उमेरहद पारित गर्नु भयो । अब बाँकी कुरा पारित गर्दाको साक्षी बन्न म जान्नँ ।’
असन्तुष्ट पक्षका नेताहरूको सोमबार भएको बैठकले सभापति देउवा पक्ष पेलेरै पार्टीको विधानसमेत आफूअनुकूल बनाउन लागेको निष्कर्ष निकालेको थियो । उनीहरूले अब पार्टी विधान सर्वसम्मत बन्ने अवस्था नभएको टिप्पणी गरेका छन् । त्यसैले उनीहरूले मंसिरमा हुने महासमिति भेलाको अहिलेदेखि नै आन्तरिक तयारी गर्ने निष्कर्ष निकालेका छन् । विधान समितिले सभापति बलियो बनाउने विधान तयार पार्न लागेको उनीहरूको आरोप छ ।
इतर खेमाका नेताहरू सभापतिभन्दा पनि पार्टीको प्रादेशिक र स्थानीय तहको पार्टी संरचना बलियो बनाउने विधान तयार पार्नुपर्ने पक्षमा छन् । महासमिति भेलाको दुई तिहाइले पारित गरेपछि मात्र विधान लागू हुने व्यवस्था छ । नेता सिटौलाले भने, ‘महासमितिमा उहाँहरू कसरी बहुमतको आधारमा अघि बढ्नुहुन्छ, त्यो हामी पनि हेरौंला ।’ उनले पार्टी नेतृत्व संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नभन्दा पनि पार्टीभित्र अनावश्यक लफडा सिर्जना गर्न उद्दत भएको दाबी गरे । उनले भने, ‘उमेरहदको कुरा पनि सबैसँग सल्लाह गरेर वा महासमितिमै छलफल गरेर पनि कार्यान्वयनमा ल्याउन सकिन्थ्यो तर उहाँहरूको गलत प्रवृत्ति देखियो ।’