ईन्टरपोल अध्यक्षकी पत्निलाई चीनबाट धम्की
एजेन्सी : चीनमा बेपत्ता भएका अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)का पूर्वअध्यक्ष मेङ होङ्ग्वोइकी श्रीमतिले चीनबाट धम्की आएको खुलासा गरेकी छन् ।
ग्रेस मेङ (अंग्रेजी नाम)ले चिनियाँ एजेन्टले आफूलाई बारम्बार फोन गर्दै धम्की दिएको एसोसिएटेड प्रेस (एपी)सँगको हालैको अन्तरवार्तामा दाबी गरेकी हुन् । सेप्टेम्बर २५ मा श्रीमानसँग अन्तिम पटक ‘टेक्स्ट म्यासेज’ भएको ग्रेस मेङले बताएकी छन् । जहाँ उनले श्रीमतिलाई ‘मेरो फोन कल पर्खँदै गर !’ भनेका थिए ।
त्यसको एक सातापछि पनि कुनै समाचार नआएको सन्दर्भमा ग्रेस आफ्नै ओछ्यानमा बसिरहँदा अचानक चिनियाँ भाषामा एक पुरुष बोल्दै धम्की आएको बताइएको छ । फोनमा भनियो, ‘तिमी सुन, नबोल !’ उसले फेरि भन्यो, ‘हामी दुई जना तिम्रो लागि काम गर्न आएका छौँ ।’
उक्त फोन गर्ने पुरुषलाई उद्धृत गर्दै ग्रेसले भनिन्, ‘तिमी कहाँ छ्यौ भन्ने हामीलाई थाहा छ ।’ त्यसपछि ग्रेसले प्रश्न गर्न खोज्दा फेरि ती पुरुषले ‘तिमी नबोल, तिमी मलाई सुन मात्रै !’ भन्दै धम्की दिएको खुलासा गरेकी हुन् । ग्रेस मेङ अहिले फ्रेन्च प्रहरीको संरक्षणमा रहँदै आएकी छन् । चिनियाँ अधिकारीले भने ईन्टरपोलका पूर्व प्रमुख मेङ होङ्ग्वेइको खोजी भइरहेको बताएका छन् । ईन्टरपोलको अध्यक्ष पदबाट मेङले स्वविकेकमा राजीनामा दिएका हुन् वा दबावमा भन्ने पनि खुलेको छैन ।