जगदम्बा स्टिलको उद्योगमा भट्टी पड्किँदा पाँच घाइते, चार गम्भीर
सिमरा : बाराको सिमरामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा बुधबार पाँचजना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार र २३ वर्षीय पंकज कुमार रहेका छन्।
गम्भीर घाइतेको वीरगन्जस्थित गण्डक केयर अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका भारत मोतीहारीका ३५ वर्षीय विनायक सिंहको सिमरामा उपचार भइरहेको छ।
गम्भीर घाइतेको शरीरको भाग पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिएका छन्। बिहान करिब ८ बजेको समयमा भट्टीमा फलाम गलाउने क्रममा पड्किएको प्रहरीको भनाई छ।
उद्योगका मजदुर र प्रहरीले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए। उद्योगका अनुसार भट्टीमा कवाडलगायत अन्य फलाम गलाउने गरिन्छ। भट्टी पड्किएपछि उद्योगको उत्पादनको काम केही समय अवरुद्ध बनेको थियो।