वामदेवका लागि उपचुनाव राजनीतिक अनिष्टता : बाबुराम
काठमाडौं : नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं ७ मा उपचुनाव गरेर बर्दियामा हारेका बामदेवलाई संसदमा पुर्याउनु राजनीतिक अनिष्टताको संकेत भएको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले ट्विटरमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवका लागि चुनाव गराउन लागेकोप्रति आपत्ति प्रकट गर्दै भट्टराईले यस्तो बताएका हुन्।
उनले वामदेवका लागि खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण र चरम राजनीतिक अनिष्ट भएको बताएका हुन्। उनले बेलैमा होस पुर्याएर दलीय घेराभन्दा माथि उठ्दै लोकतन्त्रको रक्षा गर्न आग्रह समेत गरेका छन्।
‘काठमाडौंका निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो’, बाबुरामले बुधबार ट्विटरमा लेखेका छन्, ‘बेलैमा होस पुर्याऔं , दलीय घेरा भन्दामाथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं।’