रुदीखोला–ए जलविद्युतको निर्माण सम्पन्‍न

रुदीखोला–ए जलविद्युतको निर्माण सम्पन्‍न

कास्की : कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्माणाधीन रुदीखोला–ए जलविद्युत आयोजनाको निर्माण सकिएको छ। ८ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको निर्माण सकिएपछि ‘वेट टेस्टिङ’ थालिएको छ। आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थलको निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक निर्माण, पावरहाउस लगायत संरचनाको निर्माण सकिएको छ ।

कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेसी सिमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट (नहर) निर्माण पूरा भएको छ। ‘सिभिल, हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकलको काम सकिएको छ’, आयोजना प्रमुख भट्टराईले भने, ‘मुख्य संरचनाको काम सकेर पानी राखेर हेडबक्र्स, हेडरेस पाइप, पेनस्टकको वेट टेष्टिङ भइरहेको छ।’

परीक्षणको काम सकिएपछि व्यावसायिक रुपमा विद्युत उत्पादन गरिने भट्टराईले बताए। उनका अनुसार तिहारपछि आयोजनाबाट व्यववसायिक विद्युत उत्पादन हुनेछ। आयोजनाको पावर हाउसदेखि मुग्री सवस्टेसनसम्मको विद्युत प्रसारण लाइनको पनि परिक्षण भैरहेको उनले बताए। आयोजनाको पावरहाउस कास्कीको मिजुरेस्थित बालुवाबेसीमा छ। पावरहाउसमा ‘सिभिल स्टक्चर’ मेसिन जडानको काम सकिएको छ। टर्बाइन जोडिएको छ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको थियो। तर, विचमा भएको भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ। यस्तै गत असारमा आएको बाढीले क्षति पुर्‍याउँदा निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रोमेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रालिले काम गरेका थिए।

लमजुङको पसगाउँस्थित सिङ्दीबेसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमीटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेसीस्थित विद्युतगृहमा खसालिएको छ। सो आयोजनामा रुदीसहित छेदुवा खोलाको पानीसमेत मिसाइने छ। तीनसय मिटर ग्रेसहेड रहेको यो आयोजनाबाट उत्पादित विद्युत कास्कीको मुग्रेबेसीस्थित ३३ केभिएको ट्रान्समिसन लाइनमा जडान गरिने मेकानिकल ओभरसियर कृष्णप्रसाद पण्डितले बताए।

आयोजना निर्माणका लागि अनुमानित लागत १ अर्ब ३६ करोड २० लाख रुपैयाँ रहे पनि बाढीपहिरोको क्षति, मूल्यवृद्धि आदि कारणले १ अर्ब ५० करोड पुगको आयोजना प्रमुख भट्टराईले बताए। यसमा सानिमा बैंकको नेतृत्वमा ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ।

२०६९ माघ २८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको आयोजनाको हिउँदमा ८.४० पैसा र वर्षामा ४.८० रुपैयाँ दर छ। बिन्ध्यबासिनीले रुदीखोला ‘ए’ सँगै रुदीखोला ‘बी’ को पनि निर्माण गरिरहेको छ। रुदी ‘बी’ को ५० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.