नेपालगन्जको वीपी चोकमा १४ लाखको 'हाइमास्ट लाइट'
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले घटस्थापनाको दिन वीपी चोकमा १४ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट बालेको छ। उपमहानगर प्रमुख डा.धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार राति बत्ती बालेर शुभारम्भ गरे।
१६ मिटर अग्लो खम्बामा चार सय वाट क्षमताका ८ वटा एलइडी चिम राखिएका छन्। 'धेरै चोक र वडाबाट बत्तीको माग आएको छ, स्थानीयको प्रतिक्रियाका आधारमा अन्य ठाउँमा पनि जडान गरिनेछ,' नगर प्रमुख राणाले भने। रातिमा निकै उज्यालो देखेपछि धेरैले लाइट मुनी बसेर फोटो खिचेका थिए।