अन्धोपन बनाउने यी हुन् पाँच कारण

अन्धोपन बनाउने यी हुन् पाँच कारण

चितवन : मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिबिहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञले बताएका छन्। आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ। भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा स्वास्थ्य शिक्षा प्रशिक्षक बिमल पौड्यालका अनुसार मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन 'ए' को अभावका कारण अन्धोपना हुने गर्दछ। 

पहिले ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यसको उन्मूलन भएको उनले बताए।विशेषत ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट बच्न सकिन्छ। 

पौडेलका अनुसार नेपालमा हरेक वर्ष दुई लाख नेपालीको मोतिविन्दुको शल्यक्रिया हुन्छ। थप ३० हजारले शल्यक्रियाका लागि हरेक वर्ष पर्खनुपर्ने उनले बताए। अन्धोपनाको अर्को कारण वंशाणुगत रोग जलविन्दु हो। जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ। समयमै पत्ता लागेमा रोगथाम गर्न सकिने विज्ञ बताउँछन्। आँखा रोग विशेषज्ञ डा. पुष्पा गिरी ४० वर्ष नाघेका व्यक्तिले आँखाको चाप परीक्षण गर्नुपर्ने सुझाव दिइन्। समय समयमा आँखा परीक्षण गरेर यो रोगको रोगथाम गर्नुपर्ने उनको सुझाव छ। 

अन्धोपनाको अर्को कारण चोटपटक हो। आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ। डा. गिरीका अनुसार यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ। नेपालमा आफूखुशी औषधि प्रयोग गरेर धेरै दृष्टिविहीन भएका छन्। 

पछिल्लो समय मधुमेहका बिरामी थपिँदै गएसँगै उनीहरुको आँखा उच्च जोखिममा रहने चिकित्सकहरु बताउँछन्। समय समयमा परीक्षण नगरेमा अकस्मात अन्धोपना हुनसक्ने खतरा हुन्छ। यस्तो अवस्थामा दृष्टि फर्काउन मुस्किल पर्छ। 

डा. गिरीका अनुसार मधुमेहका बिरामीले समय समयमा आँखाको परीक्षण गरेमा आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ। बालबालिका जन्मदैमा अन्धोपना भएको हुन सक्छ। त्यस्ता बालबालिका पढाइमा पनि कमजोर हुने गर्दछन्। कक्षाकोठाको पाटीमा लेखेको नदेख्ने समस्या हुन सक्छ। समयमै परीक्षण गरेर उपचार थालेमा बालबालिकालाई अन्धो हुनबाट जोगाउन सकिने चिकित्सक बताउँछन्। डा. गिरी भन्छन्, 'बालबालिकालाई विद्यालय पठाउनुपूर्व आँखाको परीक्षण गर्न सकेमा दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ।' 

यसैबीच नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाएको छ। सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, पूर्वसभापति प्रभातकुमार जोशी, सभापति कृष्ण धरेल लगायतले आँखाको ज्योति गुम्नबाट बचाउन समय समयमा परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए। त्यसअघि भरतपुरको चौबीसकोठीबाट सुरु भएको प्रभातफेरी भरतपुर आँखा अस्पतालमा पुगेर कार्यक्रममा परिणत भएको थियो।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.