मोदी सरकारका मन्त्रीविरुद्ध यौन हिंसाको आरोप
नयाँदिल्ली : भारतमा लोकप्रिय बनेको महिला हिंसाविरुद्धको ‘मि टू’ अभियानबाट चर्चित सेलिब्रिटी तथा मन्त्री समेत आरोपितको रुपमा तानिन थालेका छन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकारमा विदेश राज्यमन्त्री रहेका पूर्व पत्रकार एम जे अकबरल हालै यौन हिंसा गरेको खुलासा भएको छ । एसियन एज पत्रिकाको पूर्वसम्पादक अकबरमाथि उनकै तत्कालिन सहकर्मीले आरोप लगाएकी हुन् ।
अकबरले आफूलाई शोषण गरेको प्रसस्त प्रमाण सहित पत्रकार घजाला वाहाबले यस्तो खुलासा गरेकी हुन् । घजाला एक सफल पत्रकार हुन् । फोर्स म्यागजिनमा कार्यकारी सम्पादक रहेकी उनले जागिर आवेदनको बेलादेखि नै अकबरले हिंसा गरेको खुलाएकी छन् ।
तर यसबारे अकबर मन्त्री रहेको सरकार र प्रधानमन्त्री मोदीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् । अकबर पनि यसबारे मौन छन् । त्यसो त पत्रकार घजालाको खुलासापछि मन्त्री अकबरविरुद्ध अन्य महिला पत्रकारले समेत यौन हिंसा गरेको आरोप लगाउन थालेका छन् । कलाकार नाना पाटेकर लगायत केही प्रभावशाली फिल्म निर्माता र निर्देशक विरुद्ध यसअघि नै हिंसाको आरोप लागिसकेको छ ।