संग्रहालयले कोठा नदिँदा मन्दिरमा जमरा

भक्तपुर : राष्ट्रिय संग्रहालयले कोठा उपलब्ध नगराउँदा भक्तपुर नगरपालिका ९ दत्तात्रयस्थित चिकंफले मठका महन्त रामप्रसाद वनले महादेव मन्दिरमा दसैंको जमरासँगै घटस्थापना गरेका छन्।
मठमा दसैंको जमरा राख्न छुट्टै जमरा कोठाको व्यवस्था छ। त्यस्तै महन्तका नातागोतालाई दसैंको टीकाजमरासँगै प्रसाद ग्रहण गराउन गद्दी बैठक कोठाको समेत व्यवस्था गरिएको छ।
वि.सं. १८०२ मा कमल गोसाइ वनले भक्तपुरमा तात्कालिन मल्लराजा रणजीतको पालामा ताम्रपत्रबाट उक्त मठ स्थापना गरेका थिए। त्यसबेलादेखि नै मठमा दसैंको जमरा राख्न छुट्टै कोठा व्यवस्था हुँदै आएको महन्त वन बताउँछन्।
उक्त मठमा संग्रहालयको धातुकला शाखा रहँदै आएको छ। जर्मन सरकारकोे सहयोग नियोग जीआईजेडअन्तर्गत भक्तपुर विकास परियोजनाअन्तर्गत २०३९÷४० मा उक्त मठ जीर्णोद्धार गरिएको थियो। गुठी संस्थानअन्तर्गत रहेको उक्त मठ जीर्णोद्धारपछि २०४१ सालमा राष्ट्रिय कला संग्रहालय सञ्चालनमा ल्याइएको थियो।
मठमा संग्रहालय सञ्चालनमा आए पनि महन्थलाई दसैंको लागि जमरा कोठा र गद्दी बैठक कोठा प्रयोगमा कुनै बन्देज थिएन। तर २०७२ सालको भूकम्पपछि मठको जमरा कोठा र गद्दी बैठक प्रयोग गर्न नपाएको महन्त वनले जानकारी दिए। भूकम्पपछि मठको भुई तलाको एक कोठामा जमरा राखेको उनको भनाइ थियो।
‘गएको वर्षसम्म उक्त कोठामा जमरा राखेको थिएँ’, महन्थ वनले भने, ‘तर यस वर्ष त्यहाँ संग्रहालयले भान्छा चलायो। अब भान्छा चलाएको कोठामा कसरी जमरा राख्ने ?’
दसैं मान्नै पर्ने भएकाले मठभित्रको महादेव मन्दिरमा जमरा राख्न बाध्य भएको उनको भनाइ थियो।
गत वर्ष जमरा राखेको कोठामा भान्छा चलाएकाले दसैं आउनु एक महिनाअघि नै आफूले जमरा कोठा उपलब्ध गराउन गुठी संस्थानमा निवेदन दिएको उनले सुनाए।
उनले निवेदन दिएकै दिन गएको भाद्र २४ गते गुठीले भक्तपुरस्थित शाखा कार्यालय, जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयलाई पत्र काटेर मठमा कोठा उपलब्ध गराउन अनुरोध गरेको थियो। महन्त वनले गुठीबाट पत्राचार हुँदा पनि संग्रहालयले कोठा उपलब्ध नगराएको भन्दै आक्रोश पोखे।
‘हाम्रो कला–संस्कृति, चाडवाड, पर्वपूजा सञ्चालन गर्न गराउन मठको व्यवस्था गरिएको हो’, उनले भने, ‘तर त्यहीं काम गर्न मठमा ठाउँ पाइएन।’
संग्रहालयले भक्तपुर दरबार क्षेत्रस्थित संग्रहालय भूकम्पले क्षति पु¥याएकाले त्यहाँको सामान चिकंफले मठको जमरा कोठा र गद्दी बैठक कोठामा राखिएकाले ती कोठाहरु महन्तलाई उपलब्ध गराउन नसकिएको बताएको छ।
संग्रहालयकी प्रमुख सरस्वती सिंहले जमरा र गद्दी बैठक कोठामा संग्रहालयका अति महत्वपूर्ण वस्तु राखिएकाले अरु दुई कोठा देखाउँदा महन्त वनले प्रयोग गर्न अस्वीकार गरेको बताइन्।
महन्त वनले दसैंको निहुँ बनाएर जमरा कोठा र गद्दी बैठक कोठाको नाउँमा मठ नै कब्जा गर्ने प्रयास गरिरहेको उनले आरोप लगाइन्।
‘भक्तपुर दरबार क्षेत्रको भवन नबनेसम्म जमरा कोठा र गद्दी बैठक कोठा उपलब्ध गराउन सकिँदैन। त्यसैले जे जसरी हुन्छ मिलाएर जाऔं भन्दा उहाँ (महन्त वन) आफ्नै पारामा कराएर जिद्दी गरेर बस्नुभएको छ’, संग्रहालय प्रमुख सिंहले भनिन्।
उनले पुरातत्व विभागले निर्णय नदिएसम्म तत्काल जमरा कोठा र गद्दी बैठक कोठा खाली गर्न नसकिने स्पष्ट पारिन्।
प्रतिक्रिया दिनुहोस !
