सांसदको स्याउबारी
मनाङ : ङिस्याङ गाउँपालिका-१ भ्राताङमा छ- स्याउ फार्म। चार वर्षअघि सांसद पोल्देन गुरुङले ६७ हजार बिरुवा रोपेका थिए। गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे। यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ। स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ।
इटाली र सर्बियाबाट ल्याइएका दुई प्रजातिका स्याउलाई ठिमाहा बनाइएको छ। वर्णसंकर भएकाले यी बिरुवा अरू जस्तो अग्ला र मोटा भने छैनन्। तिनले दुई वर्षदेखि फल दिइरहेका छन्। वयस्क भइसकेपछि भने प्रत्येक बोटमा कम्तीमा ३० देखि ३५ किलो फल्ने गुरुङको भनाइ छ। यसमा ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
यहाँ फुजी, गाला र गोल्डेन प्रजातिका स्याउ छन्। यो परियोजनामा गुरुङको कम्पनी एग्रो मनाङ प्रालिले ३० करोड रुपैयाँ लगानी गरिसकेको छ। यसलाई उनी अझै बढाउने सोचमा छन्। उनले यससँगै होटल र कोल्डस्टोर सञ्चालनमा ल्याएका छन्। ‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं’, उनले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौं। त्यसका लागि होटल पनि सँगै बनाएका छौं।’ एग्रो फार्मले जुस, ड्राई एप्पल, ब्रान्डी र वाइनसमेत बनाउन थालेको छ।
काठमाडौंको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सुरु गरेका गुरुङले नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बाट पनि सहयोग पाएका थिए। उनले अनुदान सहयोग मात्र २ करोड २४ लाख पाए। ‘अनुदानका लागि फार्म सुरु गरेको भने होइन। त्यसले प्रोत्साहन भने गरेको छ’, उनले प्रस्ट्याए, ‘अझै लगानी बढाउँदै जानेछौं। यसमा सरकारको साथ र सहयोग उत्तिकै अपेक्षा गर्छौं।’
प्रत्येक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादन गर्ने उनको लक्ष्य छ। त्यो पाँच वर्षभित्र पूरा हुने उनको दाबी छ। त्यसका लागि लगानी थपिरहेका छन्। ‘सन् २०२१ मा २१ लाख किलो स्याउ फलाउने लक्ष्य छ’, गुरुङले भने, ‘फार्मले उत्पादन दिन थालेको सातौं वर्षसम्ममा सबै लगानी उठिसक्छ।’ फार्ममा उत्पादित स्याउ काठमाडांैका ३ सय २५ पसलबाट बिक्री गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। उत्पादित स्याउ नेपालमै बेच्ने उनको लक्ष्य छ। बजार नपाउला भनेरै उनले तीन प्रजाति लगाएका हुन्। फुजी, गाला र गोल्डेन जातका स्याउ सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पाक्छन्। यसले तीन महिनासम्म बजार पुर्याउन र स्टोरेज गर्न सघाउने उनको भनाइ छ।
‘नेपालमा विदेशबाट वार्षिक १४ अर्ब रुपैयाँबराबरको स्याउ आयात हुन्छ। त्यसबाट करोडौं रकम बाहिर गएको छ’, गुरुङले भने, ‘हिमाली क्षेत्रमा यसैगरी फार्म सञ्चालन गर्न सके आयात प्रतिस्थापन गर्न सकिन्छ। त्यति मात्र होइन, निर्यात पनि हुन सक्छ।’ एकै ठाउँमा यति धेरै जमिनमा सञ्चालन गरिएको स्याउ फार्म साउथ एसियाकै ठूलो भएको उनको दाबी छ।
लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङको सदरमुकाम चामेसम्म करिब ७ वर्षअघि सडक पुगेको थियो। अहिले माथिल्लो मनाङसम्म सडक पहुँच छ। चामेबाट मनाङ जाने सडक गुरुङको स्याउ फार्म हुँदै जान्छ। यसले स्याउको व्यावसायिकता अझ बढाएको गुरुङ बताउँछन्। तर सडक पक्की हुन नसक्दा बजारसम्म उत्पादन पुर्याउन सहज नभएको उनको भनाइ छ।
नेदरल्यान्ड्समा स्याउको अध्ययन गरेका पोल्देनका छोरा युवराज गुरुङले फार्ममा बाबुलाई सघाइरहेका छन्। फार्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजनामा रहेको उनले बताए। ‘हामी मात्र होइन, अब अरूले पनि यस्तै स्याउ फार्म चलाउनुपर्छ’, युवराजले भने, ‘अनि मात्र उत्पादन बढ्छ। केही वर्षपछि निर्यात पनि गर्न सकिन्छ। त्यसका लागि तेस्रो मुलुकको बजारबारे अध्ययन गरिरहेको छु।’