बैंकको ब्याजदर घट्ने
काठमाडौं : बैंकले निक्षेपको ब्याजदर घटाउने भएका छन्। नेपाल बैंकर्स एसोसिएसनको बिहीबारको बैंठकले निक्षेपको ब्याजदर घटाउने सहमति गरेको छ। एसोसिएसनले बचतको ब्याजमा पाँच प्रतिशत नबढाउने सहमति गरेको छ। मुद्दती निक्षेपतर्फ संस्थागतमा नौ र व्यक्तिगतमा १० प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति भएको हो।
वित्तीय बजारमा स्थायित्व कायम राख्न एसोसिएसनले यस्तो सहमति गरेको हो। यसअघि पनि बैंकर्सले ब्याजदरको सीमा तोक्न पटकपटक सहमति गर्दै आएका छन्। तर, कर्जाको ब्याजदर यो सीमाभन्दा माथि नजाने भनेर कहिले सहमति भएको छैन। यद्यपि, बैंकर्सले निक्षेपको ब्याजदर घटाउने सहमति गरेपछि आधारदर (बेस रेट) घट्छ। यसले गर्दा निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्ने नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए। ‘आधारदर (वेस रेट) कम भएपछि अबको एक महिनाभित्र कर्जाको ब्याज घट्छ’, उनले भने।
आधार ब्याजदरमा प्रिमियम शुल्क समायोजन गरेर ब्याजदर निर्धारण हुन्छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तीन/तीन महिनामा ब्याजदर समायोजन गर्न निर्देश गरेको छ। अहिले बैंकको औसत आधारदर साढे १० प्रतिशतको हाराहारीमा छ।
मुद्दती निक्षेपतर्फ संस्थागतमा नौ र व्यक्तिगतमा १० प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति भएको छ।
वित्तीय बजारलाई हर्ने हो भने सामान्यतयाः बचतको ब्याजदर सात प्रतिशत छ। अब सो ब्याजदर पाँच प्रतिशतमा झर्नेछ। बचतको ब्याजदर घटेकाले वेस रेट केही घट्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘बचतमा खातामा ब्याजदर भोलिदेखिनै घटे पनि मुद्दती निक्षेपको भने नयाँको मात्रै घट्ने हो’, उनले भने, ‘अहिले भएको मुद्दती निक्षेपमा खासै असर पर्दैन।’
पछिल्लोपटक गरिएको सहमतिले कर्जाको ब्याजदर नबढ्ने पक्का भएको छ। बैंकहरूले हाल कर्जाको ब्याजदर न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म लिइरहेका छन्। पछिल्लो समय बैंकले अत्यधिक लगानी गरेका कारण तरलता कम हुँदै गएको छ। यदि समयमा सरकारी खर्च हुन सकेन भने पुनः मंसिर अन्तिम तथा पुसदेखि पुनः बैंकहरू ‘क्रेडिट क्रन्च’ मा जानेछन्। बैंक तथा वित्तीय संस्थाले गएको दुई महिनामा ७३ अर्ब लगानी गरेका छन् भने ३५ अर्बमात्र निक्षेप संकलन गरेका छन्।
बैंकले दुई महिनामा गरेको कर्जा लगानीअनुसार दैनिक करिब डेढ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ। त्यसै त लगानीको तुलनामा निक्षेप संकलन गर्न नसकेका बैंकले अब ब्याजदर घटाएपछि स्वतः निक्षेप घट्नेछ। घट्दो ब्याजदरमा निक्षेपकर्ता निरुत्साहित हुँदा बैंकमा बचत हुने रकम अन्य क्षेत्रमा लगानी हुन सक्ने र यसले अझ लगानीयोग्य पुँजीको अभाव सिर्जना गर्ने देखिएको छ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बचतको ब्याजदर न्यूनतम पाँचदेखि सात प्रतिशतसम्म दिने सहमति भएको बताए। अबका दिनमा सरकारी खर्च बढ्न गइ लगानीयोग्य पुँजीको अभाव नहुने बताए। ‘सरकारी सबै संयन्त्र बनिसकेका छन् उनले भने, ‘अब खर्च हुन्छ, हामीले गएका आर्थिक वर्षको जस्तो लगानीयोग्य पुँजीको अभाव हुँदैन।’ तर, यसो भन्दैमा बैंकले लगानीमात्रै बढाउने र निक्षेप संकलन सोही अनुपातमा हुन सकेन भने तरलता अभाव हुने उनको भनाइ छ।