म्याग्दीमा सबस्टेसन निर्माण
बेनी : म्याग्दी जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र सहायक नदीबाट उत्पादन हुने बिजली केन्द्रीय प्रसारणमा जोड्न सबस्टेसन निर्माण सुरु भएको छ। निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न मालिका गाउँपालिकास्थित बिमको डाँडाखेतमा विद्युत् सबस्टेसन बनाउन लागिएको छ।
नेपाल विद्युत् प्राधिकरणले १३२/३३ केभी क्षमताको सबस्टेसन निर्माण सुरु गरेको हो। प्रारम्भिक चरणमा जग्गा सम्याउने, घेराउ गर्न पर्खाल लगाउने, कर्मचारी र कार्यालय भवन निर्माणको काम सुरु गरेको डाँडाखेत राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए। ‘विपद्, अवरोध नभए आगामी तीन वर्षभित्र डाँडाखेत र राहुघाटमा सबस्टेसन तथा २५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यसहित प्रारम्भिक वातावरणीय अध्ययन, नक्सांकन र लागत अनुमानको काम भइरहेको छ।
डाँडाखेतदेखि राहुघाटमा निर्माण हुने २२०/१३२ केभी क्षमताको सबस्टेसनमा ल्याइने बिजुली कालीगण्डकी करिडारअन्तर्गत दाना-कुस्मा प्रसारण लाइनमा जोडिनेछ। पिप्लेको आस्वाङमा ९० रोपनी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको तयारी भएको छ।
मुआब्जा वितरणका लागि तीन करोड ९९ लाख रुपैयाँ बजेट आएको जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद पौडेलले बताए। डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण गरी करिब दुई करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।
सबस्टेसन र प्रसारण लाइनमार्फत मालिका र धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र सहायक खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय लाइनमा जोडिने मालिका ७ का वडा अध्यक्ष रेशम जुक्जालीले जानकारी दिए।
म्याग्दी करिडोरमा १६३ मेगावाट क्षमताका करिब १० जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। ५७.३ मेगावाटको म्याग्दीखोला, २० मेगावाटको कुनवानखोला, २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता भइसकेको छ।
म्याग्दी खोलामा अपर म्याग्दीखोला, तल्लो म्याग्दीखोलालगायत जलविद्युत् आयोजना पनि निर्माणको चरणमा छन्। सबस्टेसन र प्रसारण लाइन निर्माणको तयारीसँगै अनुमति लिएर बसेका प्रवद्र्धकले सक्रियता देखाएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।