तपाईंलाई बाथरोग त भएन ?
डा. अरुणकुमार गुप्ता
बाथरोग वर्षौंदेखि सुनिँदै आएको शब्द हो, तर यससम्बन्धी अहिले पनि पुनः जानकारी पाइएको छैन। बाथ भनेको के हो ? यो रोग कसलाई हुन्छ ? यसको कारण के हो ? कति किसिमका हुन्छन् ? यसका लक्ष्णहरू केके हुन् ? नेपालमा यसको अवस्था कस्तो छ ? बाथरोग कसरी पत्ता लगाउने तथा उपचारका पद्धतिहरू केके छन् ? यस विषयमा धेरै जानकारी हुन आवश्यक छ।
बाथ एक प्रकारको प्राणघातक रोग हो। यसलाई तराईतिर गठिया बाथ भनिन्छ। शरीरका हाडजोर्नी, मांसपेसी, नसा, मुटु दुखेर हुने रोगलाई बाथ भन्छौं। यो एउटै किसिमको हुँदैन। साधारणतया बाथ हड्डी खाने, मांसपेसी खाने मुटु, छाला, आँखामा असर गरिरहने हुन्छ। यो रोग प्रायः बच्चादेखि ८०–९० वर्षका जुनसुकैे उमेरमा मान्छेलाई हुन सक्छ। बाथ बालबालिका, बयस्क, वृद्धलाई पनि भएको छ। यसको कारण सम्पूर्ण रूपले पत्ता लाग्न सकेको छैन।
हरेक बाथका आआफ्नै लक्षण तथा कारण हुन्छन्। प्रत्येक मान्छेभित्र रोगसँग लड्ने एक किसिमको क्षमता हुन्छ। तर यस रोगले त्यसकै विरुद्धमा शरीरलाई नै हानिकारक गर्ने असामाजिक तत्वहरू जसलाई एन्टीबडी भन्ने गर्छौं, त्यस्तो किसिमका तत्वहरूको उत्पत्ति गराएर शरीरका विभिन्न भागका हाडजोर्नी र कार्टिलेजहरू नष्ट गर्ने गर्छ। बाथरोगले प्रतिरोधात्मक क्षमता कम गरी शरीरलाई नै दुर्वल पार्ने गर्छ। समग्रमा भन्दा नेपालीमा ज्यादातर युरिक एसिड बढेर हुने बाथ, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएका छन्। तीमध्ये कतिपय बाथ वंशाणुगत पनि हुन्छन्। अर्थात् एकै परिवारका धेरैजनालाई बाथरोग भएको हुन्छ। समग्रमा जनसंख्याको एक प्रतिशत व्यक्तिलाई बाथ तथा यसको समस्या हुने गर्छ। त्यसमध्ये एकतिहाइ व्यक्ति बढी दुखाइको समस्या लिएर मात्र बाथरोग विशेषज्ञकहाँ उपचार गराउन आउँछन्।
बाथलार्ई कसरी चिन्ने
प्रायः यो दुखाइबाट सुरु हुने रोग हो। शरीरका विभिन्न भाग टाउको, गर्धन, पाखुरा, कुहिनो, हातका ससाना औंला, कम्मर, ढाड, साँप्रा, घुँडा, गोलीगाँठ, पैताला, कुर्कुच्चा, कुनै हाड दुख्ने र सुन्निने हुने गर्छ। साधारणतया हातका औंला बिहान सुतेर उठ्दा जामजस्तो भई कक्रक्क भई मुठी बाँध्न नहुने गरी दुख्छ, जसलाई हाम्रो ‘मर्निङ स्टिफनेस’ भन्ने गर्छौं। त्यसैगरी कुन मान्छेलाई कुन किसिमको बाथ हो, त्यसअनुसार लक्षणहरू देखा पर्ने गर्छ। कति बाथ लाखौंमा एकजनालाई हुने गर्छ। जस्तै– कपाल झार्ने मुख घाउ, चिसो पानीमा हात राख्दा सेतो, नीलो, रातो हुने, शरीरमा राता, नीला डाबर देखिने, गर्भ तुहिने ‘बटरफ्लाई रास’ गालामा पुतली आकारको रातो डाबर आउनेको बाथ अर्को बाथ ‘सेस्टेमेटिक स्क्लेरोसिस’ शरीरका छाला कडा हुने, खुम्च्याउन गाह्रो हुने, शरीरमा काला दाग आउने बिरामीको नाक चराको चुच्चाजस्तो हुने मुख खोल्न गाह्रो हुने औंलाका नङमा घाउ हुने गर्छ, मांसपेसी दुखी कमजोर हुँदै जाने, बसेर उठ्दा गाह्रो हुने गर्छ। बाथले हड्डीमा असर पुर्याउँछ, भित्री अंगहरू मुटु, मिर्गौला, छाला, आँखा तथा फोक्सोसम्बन्धी रोग पनि निम्त्याउँछ। यसैगरी बाथले पाखुरा दुखी पोल्ने, सल्को हान्ने तथा पाखुराहरू माथि उठाउन गाह्रो हुन जान्छ। कम्मर, ढाड दुख्ने र अगाडि झुकी निहुरिएर काम गर्न गाह्रो हुन्छ।
शरीरका विभिन्न भागमा सर्दै दुख्ने, आलस्य, थकान लाग्ने, निद्रा नलाग्ने, श्वासप्रश्वास छिटो हुने यो कुनै न कुनै बाथरोगका लक्षण हुन्। कतिपय बाथ ४० वर्ष उमेरपछि हुने गर्छ। जस्तै– घुँडा, ढाड, कम्मर दुखी कुप्रो हुँदै जान्छ। ज्वरो आउने, पिसाब पोल्ने पनि हुने गर्छ। कति बाथ भाइरल बाथ, ब्याक्टेरिया तथा संक्रमण रोग एचआईभी, कुष्ठरोगबाट पनि हुने गर्छ।
केही दशकअगाडि बाथ रोगलाई अभिशापका रूपमा लिइन्थ्यो। जडीबुटी, होमियोप्याथी, अन्धविश्वासका आधारमा उपचार हुन्थ्यो। स्यालको मासु, बन्दुकको तेल आदि प्रयोग गरेर उपचार गरिन्थ्यो। तर आज जनशक्ति परिचालन तथा जागरुकताका कारण बाथपीडित स्वास्थ्यप्रति सचेत छन्। औषधी खाएर नयाँ जीवन पाई आआफ्नो जीवन चलाउनु ठूलो हो भन्नेबारेमा सचेत छन्।
बाथ रोग पत्ता लगाउन हाम्रो देशमा विभिन्न साधन र प्रयोगशाला विकास भइसकेका छन्। अहिले हामीकहाँ बाथसम्बन्धी सबै किसिमका सुविधा छ। यो रोग, रोगीका लक्षणबाट तथा रगत जाँच, विभिन्न किसिमका एक्स रे, सिटी स्क्यान, एमआरआईबाट पत्ता लगाइन्छ। बाथ उपचारबाट शतप्रतिशत निर्मूल हुन्छ। तर जुन शरीर भित्रबाट उत्पत्ति हुन्छ, जसको उपचार दीर्घकालीन राख्नुपर्छ। उपचार सरु गर्नुअगाडि रोगबारे पूर्ण जानकारी दिई पीडितलाई उच्च रूपमा नैतिक बल प्रदान गर्नुपर्छ। बाथ प्राणघातक रोग हो। यसप्रति जनचेतना फौलाऔं, आफू बचौं र अरूलाई पनि बचाऔं।
—गुप्ता बाथ रोगविशेषज्ञ हुन्।