यौन दुर्व्यवहारमा ओनिल पनि
अभिनेत्री टाटुम ओनिल (५४) ले आफू बच्चा बेलामा थुप्रै पटक यौन दुर्व्यवहारमा परेको तथ्य खुलाएकी छिन्। कुनै बेला एकेडेमिक अवार्ड हात पारेकी ओनिलले केही दिनअघि यो जानकारी बाहिर ल्याएकी हुन्।
सानोमा आफूलाई यौन दुर्व्यवहार गर्नेहरू सबै बूढा मान्छेहरू रहेको उनले बताएकी छिन्। ‘म महिला हुँ र एक पटक हैन थुप्रै पटक यौन दुर्व्यवहारमा परेको छु। यो मेरो गल्ती हैन। म ५÷६, १२÷१३, १५ वर्षको हुँदा मलाई बूढा मान्छेहरूले यौन दुर्व्यवहार गरे,’ उनले भनिन्। उनका बाबु रेन ओनिल र आमा जोना मुरे दुवैजना अल्कोहल र अन्य ड्रग्स एडिक्सनमा थिए त्यतिबेला। ओनिलले भनेकी छिन्, ‘जब तपाईंको परिवार ड्रग्स वा अन्य दुर्व्यवहारमा फँस्छ, उनीहरूले आफ्नो बच्चाको ख्याल गर्दैनन्। म वर्षौंदेखि यौन दुर्व्यवहारमा परिरहँदा उनीहरूले मेरो केही वास्ता गरेनन्।’
एकपटक आफूलाई बुवाकै साथीले यौन दुर्व्यवहार गरेको ओनिलले बताएकी छिन्। बुवाको साथीमात्र हैन, आमाकै ब्वाईफ्रेन्डले समेत आफूलाई बलात्कार गरेको दाबी गर्छिन्। सन् २००४ मा प्रकाशित उनको आत्मकथामा भनिएको थियो, ‘ड्रग्स बेच्ने बुवाको साथीले समेत मलाई यौन दुर्व्यवहार गरेको थियो। त्यतिबेला म १२ वर्षको थिएँ।’