अनौठो यात्रामा निर्दोष : बालापनदेखि पुनर्जीवनसम्म

अनौठो यात्रामा निर्दोष : बालापनदेखि पुनर्जीवनसम्म

काठमाडौं : भित्ताभरि हरियो, रातो, कालो पहेँलो रङले छरपस्ट केरकार गरिएको छ। बांगाटिंगा अक्षरहरू। भित्तामा केही पेपर झुन्डिएका छन्। प्रायः भव्य पेन्टिङ भेटिने बबरमहलको आर्ट काउन्सिलका सेता भित्रा यति बेला यस्तै केरकार चित्रले भरिएको छ। र, प्रदर्शनीको नाम दिइएको छ, ‘वेक’ अर्थात् ‘जाग’।

प्रदर्शनीमा बालमस्तिष्कमा उठेका अनेकन भाव देखाउन र बुझाउन खोजिएको छ। आनन्द शुभम्ले निर्देशन गरेको यो नाटकीय चित्रकला प्रदर्शनी उनको आफ्नै जीवनयात्रा हो। एउटा चित्रकारको यात्रा। १४ वर्ष ओशो तपोवनमा बिताएका आनन्दले लगभग चित्रकारिता बिर्सिसकेका थिए। उनी भन्छन्, ‘चित्रकारितालाई महसुस गर्न म एक दिन त्यहाँबाट बाहिर आएँ।’

बाहिर आएपछि उनले मान्छेहरूबाट बारम्बार सुने, ‘म आर्ट बुझ्न सक्दिनँ।’ आर्टलाई पारम्परिक तरिकाबाट बुझाउन सकिने अवस्था थिएन। ‘आर्ट बनाउनेभन्दा बुझाउनुपर्ने आवश्यकता देखे आनन्दले। भनिन्छ, ‘एक चित्रले हजार भाव समेटेको हुन्छ।’ क्यानभासमा पोतिएका रङका आकृतिले हरेकको नजरमा भिन्न अर्थ राख्छ। तर, त्यही आकृतिलाई शब्दमा बयान गर्न किन हम्मेहम्मे पर्छ त ? आनन्द भन्छन्, ‘आर्टसँग कन्भर्सेसन गर्ने तरिका नै हामीलाई थाहा छैन।’ आर्टलाई अभिव्यक्तिको माध्यम बनाउन उनले यो नाटकीय चित्रकला प्रदर्शनी आरम्भ गरेका हुन्।

यो नाटक एक कलाकारको अन्तरदृष्टिको यात्रा हो। जुन उमेरसँगै भिन्न भिन्न स्वरूपमा ढल्छ। यात्रालाई सविस्तार बुझाउन केही कलाकार छन्। उनीहरूसँगै प्रदर्शनीमा आएका सबै यो यात्राको हिस्सा हुन पाउँछन्। यात्राको सुरुआत हुन्छ एक बालमस्तिष्कबाट। यो यात्रामा भावहरू शब्दमा बयान हुन सक्दैनन्। त्यसैले ती भावले भित्तामा टेढोमेढो केरकारको रूप लिन्छ। त्यही केरकारमा एक बालमस्तिष्क रमाउँछ पनि।

दोस्रो चरणको यात्रा किताब र कापीको बीचमा उल्झन्छ। जहाँ भित्ताभरि अक्षर नै अक्षरले भरिएका कापीका पन्ना मात्र देखिन्छन्। यहाँ विज्ञान, गणित र अंगे्रजीको घोकन्ते पढाइ चल्छ। यो एउटा स्कुले जीवनको यात्रा हो जहाँ एक बाल कलाकारको मस्तिष्कले हिसाबकिताबको लेखाजोखा बुझ्नै सक्दैन। केवल शिक्षकबाट कुटाइ र गाली मात्र खाइरहन्छ।

यात्राको तेस्रो खण्डमा कलाकारका केही नौला प्रतिभा देखा पर्छन्। पेन्टिङ बनाउन ऊ दत्तचित्त देखिन्छ। सानोमा केरमेर गरेका चित्रले परिस्कृत रूप लिन्छन्। चित्रकलालाई बुझ्ने त्यो कलाकारको मस्तिष्क अझै फराकिलो हुँदै जान्छ।

चौथो खण्डमा कलाकार भड्किलो बन्न पुग्छ। उसमा भोक र सोख दुवै बढ्छ। कहिले ऊ मोडर्न म्युजिकमा रमाउँछ त कहिले दुर्व्यसनमा। ऊ अझै पेन्टिङ गर्छ तर त्यसमा कुनै क्रिएटिभिटी हुन्न। मात्र उसको दिनचर्या हुन्छ। त्यसमा चुरोटका ठुटा र त्यसका बट्टाहरूको सजावटबाहेक अरू परिकल्पना शून्य हुन पुग्छ।

पाँचौं चरणको यात्रा भयानक कालो रातको हो। जहाँ कलाकार मृत्युको मुखमा हुन्छ। छैटौं र अन्तिम चरण जीवन र मृत्युसँग जोडिएको छ। एउटा जीवन मन र मस्तिष्कसँग निरन्तरको लडाइँमा देखिन्छ। अन्त्यमा यो यात्रा पे्रम र सद्भावमा आएर टुंगिन्छ जहाँ एक कलाकारले पुनः नयाँ जीवन पाउन सफल हुन्छ।

आनन्द शुभम्को पेन्टिङले भरिएको यो नाटकीय कला प्रदर्शनीमा उनीलगायत मिलन न्यौपाने, प्रसोङ रुप्चा, प्रशना शाह, रुबिना केसी, निश्चल प्रधान, मिनुषा महर्जन, अक्रित श्रेष्ठ, सुगम सुवेदी र भुषिता भषिस्थको अभिनय छ। नाटकलाई रोमाञ्चक बनाउन संगीत र नेपाली छन्द कविताको वाचनलाई अर्थपूर्ण रूपमा प्रयोग गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.