नेपालको बलिङसामू सिंगापुर निरीह, ८१ रनमै समेटियो
काठमाडौँ : मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले कसिलो बलिङ गरेपछि सिंगापुर ८१ रनमै समेटिएको छ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिमान बनाएको खेलमा सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै केबल ८१ रन जोड्न सफल भएको हो ।
उसका लागि सुरेन्द्र चन्द्रमोहनले ३२ बलमा सर्वाधिक २५ रन बनाए । सिंगापुरका मनप्रीत सिंह र सिधान्तले समान १०-१० रन जोडे । उसका अन्य कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले आज पनि चार विकेट लिए । त्यसैगरी सोमपाल कामीले २ विकेट लिन सफल भए । अर्को दुई विकेट करण केसीको नाममा रह्यो । अन्य १/१ विकेट वसन्त रेग्मी र ललित राजवंशीको नाममा रह्यो ।