भावुक बनाउँदै बाहिरिए मीनराज

भावुक बनाउँदै बाहिरिए मीनराज

काठमाडौं : बुद्धनगरमा रहेको एपी वान एचडी टेलिभिजनको स्टुडियोभित्रको हल । नेपाल आइडल सिजन–२ अन्तर्गत २०औं एपिसोड चलिरहेको थियो । उत्कृष्ट १० बीच कडा प्रतिस्पर्धा छ । प्रतियोगीले बिहीबार दिएको प्रस्तुतिका आधारमा शुक्रबार एलिमिनेसन राउन्ड चलिरहेको थियो । यत्तिकैमा एकजनाले नेपाल आइडलको मञ्च छोडेर जानुपर्ने क्षण आयो ।

एकाएक माहोल सुनसान भयो । प्रतिस्पर्धी सबैले शुक्रबारको आफ्नो प्रस्तुति सकेपछि उद्घोषकले जब मञ्चबाट बाहिरिने व्यक्तिको नाम लिए, त्यसपछि सुरु भयो बिदाइ कार्यक्रम । बाहिरिँदै थिए, चितवनका मीनराज पौडेल । उनका सबै साथी भक्कानिँदै थिए अनि मीनराजलाई अँगालो हालेर आत्मीयता दर्शाइरहेका थिए ।

मीनराज भने आँखाबाट खस्न लागेको आँसु लुकाउँदै मुस्कुराउने कोसिस गरिरहेका थिए । सबै भावविह्वल थिए । जजहरू पनि निःशब्द थिए । मीनराजलाई सम्झाउन कसैले शब्द निकाल्न सकिरहेका थिएनन् । मेगा अडिसनमा पहिलोपटक गोल्डेन माइक जितेर उनी सीधै टप १२ मा सहभागी भएका थिए ।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो । नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन् । कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन् ।

यस्ता छन् उत्कृष्ट प्रतियोगी

विक्रम बराल

विक्रम बराल लामो समयदेखि संगीतमै लागेका छन् । चितवन स्थायी घर भएका उनी हाल पोखरामा बसेर पढाइसँगै सांगीतिक क्षेत्रमा समेत काम गरिरहेका छन् । संगीत सिक्ने र यही क्षेत्रमा केही विशेष गर्ने तिर्खाले उनलाई कहिले क्लासिक भोकल सिक्ने ठाउँमा पुर्‍यायो त कहिले गजल ब्यान्डमा । हाल उनी पोखराकै रक ब्यान्ड अडियो फर्ममा काम गरिरहेका छन् ।

उनले नेपाल आइडलमा सबैले मन पराएका प्रतियोगीका रूपमा आफ्नो परिचय बनाइसकेका छन् । नेपाल आइडलको पहिलो सिजनमा पनि सहभागी भएका उनी मेगा अडिसनबाटै बाहिरिएका थिए । जसरी पनि यही क्षेत्रमा राम्रो गर्छु भन्ने आत्मविश्वास राखेका उनकी आमा पनि गीत गुनगुनाउने गर्छिन् । उनले त्रिवेणी संगीतालयमा दुई वर्ष संगीतको औपचारिक शिक्षा लिएका छन् ।

पवन गिरी

आफ्नो मीठो स्वरको जादुले सबैको मन जित्न सफल भएका छन्, दोलखाका पवन गिरी । काठमाडाैंको शंकरदेव कलेजमा बीबीएस पढ्दै गरेका पवनले औपचारिक रूपमा संगीत सिक्न भने पाएका छैनन् । कहिले पसलमा सेल्स ब्वाइ त कहिले मार्केटिङको काम गरेर गुजारा गरिरहेका गिरीको मनमा संगीतको नशा भरिएको छ ।

नेपाल आइडल सिजन–१ मा छनोट नभएपछि केही समय त उनी निकै फ्रस्टेड पनि भए । घरनजिकै चर्च थियो । एउटा साथीको सहयोगले उनी त्यहाँ पुगे । त्यहाँ संगीतका सबै साधन थिए जसले उनलाई आफ्नो क्षमता बढाउने मौका दियो । दिनदिनै चर्च जाने, गीत गाउने र त्यहाँ गितार, हार्मोनियम बजाउन सिक्न थाले । यही मेहनतले उनलाई नेपाल आइडलको उत्कृष्ट १० प्रतियोगीको रूपमा ल्याउन सफल भयो ।

क्रिसल कँडेल

धादिङबेँसीका क्रिसल सानैदेखि गीत गाउने रुचि राख्थे । पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गाउने सीप सिके । घरमा हुँदा उनका दाइ पनि गीत गाउने गर्थे ।

सबै प्रकारका गीत गाउन सक्ने क्रिसल मेहनत गरेमा चाहेको कुरा पाइन्छ भन्नेमा ढुक्क छन् । गीत सुन्दै गर्दा जस्तो सुन्यो त्यस्तै आफूले पनि गाउन कोसिस गर्छन् । दैनिक पाँच छ घन्टा रियाज गर्ने क्रिसल संगीतलाई कुनै परिभाषाले समेट्न नसकिने बताउँछन् ।

रवि ओड

स्थानीय सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएर जिल्लामा परिचय बनाइसकेका छन्, कञ्चनपुरका रवि ओडले । सानो हुँदा नै आमा गुमाएका रवि गाईबस्तु चराउन जाँदा साथीसँग गीत गाउने गर्थे । यसले उनलाई संगीततर्फ तान्दै लग्यो ।

स्कुल कलेजका कार्यक्रममा रवि छुट्दैनथे । आफूलाई लोकदोहोरी, देउडा, क्लासिक, मेलोडियस फिल्मी सबै प्रकारका गीतमा फिट हुने स्वरको साथ पाएका ओड यही क्षेत्रमै आफूलाई समर्पित गर्ने बताउँछन् । संगीतमा लाग्न घरपरिवारबाट पनि सहयोग मिलिरहेकोमा आफूलाई भाग्यमानी ठान्छन् उनी ।

अमित बराल

बुटवल सैनामैनाका अमित बराल पनि नेपाल आइडलका रुचाइएका प्रतियोगी हुन् । बुटवलमा रहेको लुम्बिनी कला केन्द्रमा करिब दुई वर्ष उनले संगीत सिक्ने मौका पाए । घरमा दाजु पनि संगीतमै चाख राख्ने गर्थे । दाजुले गीत गाएको देखेरै उनमा पनि यो क्षेत्रप्रति सम्मान जाग्यो । आफूलाई संगीतको नशा भरिदिने दाजुको साथ भने उनले लामो समय पाएनन् ।

एक दुर्घटनामा दाजुको मृत्यु भएपछि अमितमा झन् जिम्मेवारी बढ्यो । दाजुको सपना आफूले पूरा गर्नुपर्छ भन्ने लाग्यो । उनी यस क्षेत्रप्रति दिलोज्यान दिएर लागे । हरेकपटक गीत गाउनुअघि दाजुलाई सम्झिने अमितले बुटवलमा ब्यान्ड पनि खोलेका छन् । उनी भन्छन्, ‘मेरो जिन्दगीको अन्तिम लक्ष्य र बाँच्ने आधार पनि संगीत हो ।’

सुमित पाठक

नेपाल आइडलको बिहीबारको एपिसोडमा दमदार प्रस्तुति दिएका थिए, झापाका सुमित पाठकले । सांगीतिक माहोलमा हुर्किएका सुमितका बुवा पनि संगीत शिक्षक हुन् । बच्चादेखि नै उनी गायनमा अब्बल थिए । सानोमै आमाको मायाबाट वञ्चित पाठकलाई संगीतले भने निरन्तर साथ दिइरह्यो । 

उनले अडिसनमा गोल्डेन माइक प्राप्त गरेका थिए । संगीतमा औपचारिक सीप सिक्न र साधना गर्न नपाएको बताउने सुमितले युट्युब हेरेर गाउन सिकेको बताए । अडिसनमा छनोट भएपछि मात्र उनले आफ्नो भोकल तिखार्ने मौका पाए । उनले संगीतगुरु इन्द्र आर्वीसँग संगीतका सुर, ताल, राग, साधना र सरगम सिकिरहेका छन् ।

अस्मिता अधिकारी

पेसाले नर्स हुन्, अस्मिता अधिकारी । स्वास्थ्यसँगै संगीतमा केही खास गर्ने रहर भरिएको छ उनमा । उनी संगीत र नर्सिङ पेसालाई एकसाथ लाने सोचबाट अघि बढेकी छन् । झापामा जन्मिएकी उनी हाल काठमाडौं बसेर आफ्नो पढाइ अगाडि बढाइरहेकी छन् ।

औपचारिक रूपमा ६ महिना शास्त्रीय संगीत सिकेकी उनी नर्सिङ पढ्दै गर्दा पनि औपचारिक कार्यक्रममा गीत गाउने गर्थिन् । नेपाल आइडलमा उनले धेरै प्रतिस्पर्धीसँग संगत गर्ने, समूहमा गीत गाउने र अन्य धेरै सीप सिक्न पाएको बताइन् । भन्छिन्, ‘संगीतका टेक्निकल पाटोबारे थप जान्ने मौका पाएँ ।’ सेवासँगै संगीतलाई सँगै लान सक्ने क्षमता आफूसँग भएको बताउने अस्मिता नेपाल आइडलले आफ्नो सपना पूरा गर्ने विश्वास गर्छिन् ।

नीलिमा थापा

आइडलको सुरुदेखि नै आफ्नो स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापाले भर्खरै मात्र कक्षा १२ सकाएकी हुन् । धेरैजनालाई साथी बनाउन नसक्ने स्वभावकी नीलिमा गायनलाई नै साथी बनाएको बताउँछिन् । भन्छिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी ।’

उनी पनि गोल्डेन माइक पाएकी प्रतियोगी हुन् । भन्छिन्, ‘नसोचेको सफलता पाइरहेकी छु, यसबाट मलाई थप मेहनत गर्ने हौसला मिलेको छ ।’ आफ्नो बोली र स्वरमा अत्यन्तै फरकफरक टोन भएकी नीलिमाको स्वरमा सबै गीत फिट हुन्छ । उनले विभिन्न औपचारिक कार्यक्रममा स्टेज प्रस्तुति पनि दिने गरेकी छन् । उनी पोखराकै स्कुलमा पढाउँछिन् ।

सुविन सिंह

सुर्खेतका सुविन सिंह पनि नेपाल आइडलका चर्चित प्रतियोगी हुन् । संयुक्त परिवारमा हुर्केका उनी करिब चार वर्ष कतार बसेर आएका हुन् । संगीत क्षेत्रमा उनको रहर पनि सानैदेखिको हो । आफ्नी दिदीसँगै अडिसनमा गए पनि उनी भने छनोट हुन् सकिनन् । उनी अडिसनकै लागि अस्ट्रेलियाबाट आएकी थिइन् ।

अलिकति डर, अलिकति खुसी, अलिकति जिम्मेवारीसँगैको अहिलेको अवस्था उनका लागि जीवनकै अमूल्य समय हो । सुरुमा संगीतमा आशावादी नरहेका सुविन नेपाल आइडलले आफ्नो लक्ष्य नै फेरिदिएको बताउँछन् । भन्छन्, ‘फेरि कतार जान भिसा अप्लाई गरेको थिएँ, अब भने यही क्षेत्रमा मेहनत गर्छु ।’ नामसँगै जिम्मेवारी पनि थपिएकोमा उनी बढी सिरियस देखिन्छन् ।

को हुन् मीनराज

चितवनका मीनराज पौडेल शुक्रबार नेपाल आइडलबाट बाहिरिएका छन् । उनी पेसाले शिक्षक हुन् । घरमा सांगीतिक माहोल थियो ।  उनका बुवा मादल बजाउने, गीत गाउने तथा गाउँघरमा भजन गाउने गर्थे ।

 यसले उनलाई सानैदेखि संगीतको संगत गर्ने मौका मिल्यो । हेटौंडा अडिसनबाट उनले गोल्डेन माइक जित्ने सौभाग्य पाएका थिए ।

रहरैरहरको संगीतप्रतिको लगावले उनलाई नेपाल आइडलको मञ्चमा ल्याइपुर्‍यायो । नेपाल आइडलको आँगनमा संगीतको ताल, सरगम, तराना, राग र आलापका बारेमा सिक्न पाएको मीनराज बताउँछन् ।

उनीमाथि सबैको आशा अनि विश्वास थियो । पछिल्लो समय उनको स्वास्थ्यले साथ दिएको थिएन ।

बिहीबारको उनको प्रस्तुति त्यति राम्रो हुन सकेन । उनलाई स्वरले साथ दिएको थिएन । संगीत जीवनको अन्तिम लक्ष्य हो भन्ने मीनराजले औपचारिक रूपमा संगीत सिक्न भने पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.