घटेको छैन बलात्कारले त्रास
गृहमन्त्री रामबहादुर थापाले हालै संसदमा प्रस्तुत गरेको एक विवरणअनुसार वैशाखदेखि भदौ १७ गतेसम्म नेपालमा बलात्कारका ७१० घटना भए भने ३९१ वटा बलात्कार प्रयास अर्थात् जबर्जस्ती करणीका उद्योग भए। यसले नेपालमा बलात्कार नियमित घटना हुन लागेको हो कि भन्ने आभास दिन्छ।
बलात्कार कहिले र कसबाट सुरु भयो किटेर भन्न सकिने अवस्था छैन। यो समाजमा निरन्तर भइरहने एक गम्भीर सामाजिक समस्या हो। हाम्रो देशमा त झन् दिन दुई गुना रात चौ गुना बलात्कारका घटना बढ्दै छन्। अझ हाम्रो देशको बलात्कार घटना हेर्ने हो भने यसले सांगठनिक अपराधको रूप लिइसकेको छ।
मानवीय समाजमा भएका यी अमानवीय घटनाले मानवीय मूल्य र मान्यतालाई अवहेलित गरेर वर्तमान अवस्थामा दुई वर्ष पनि नपुगेका अबोध बालिकादेखि ७५ वर्षमाथिका वृद्घासमेत बलात्कार भएको देखिन्छ। यस्ता घृणित कार्यमा ८० वर्षमाथिका वृद्घहरूसमेत संलग्न भएकाले सामाजिक अनैतिकता र असभ्यताको प्रवृत्ति कति तलसम्म झरेको छ भन्ने प्रस्ट हुन्छ।
कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या भएयता पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत एक प्रकारले बलात्कारसम्बन्धी सचेतना फैलाएको छ भने अर्कोतर्फ सिंगो मानवीय संवेदनामा नै प्रश्नचिह्न खडा गरेको छ।
रक्सीले मातेर १० वर्षीय छोरी बलात्कार गर्न ललितपुर कोडका बाबु होस् वा डोटीमा ७४ वर्षीय वृद्घालाई बलात्कार गर्ने होस् वा कन्चनपुरमा नै १० वर्षीय बालिका बलात्कार गर्ने आइते सुनुवार होस् वा हालै भक्तपुरमा मामाले भान्जीलाई प्रलोभनमा पारेर बलात्कार गर्देै आएको घटना होस् वा म्याग्दीमा लखेट्दै लगेर राति सामूहिक बलात्कार गरेको घटना वा पोखरामा ७० बर्से महिला बलात्कृत भएको घटना होस् वा रामेछापमा बलाकृत हुनबाट जोगिन नातिनीद्वारा आफ्नै हजुरबुबाको हत्याको हत्या। यी त प्रतिनिधि घटना मात्र हुन्। वास्तवमा चर्चामा नआएका, प्रलोभनमा, डर, त्रास, धम्की वा अन्य कारणले भित्रभित्रै गुपचुप भएका घटना हेर्दा सबै बालिकादेखि वृद्घासम्मले हरेक पुरुषलाई बलात्कारी देख्न थालकोे भान हुन थालेको छ। यस अवस्थामा के यो समाज सकारात्मक दिशातर्फ अघि बढ्न सक्ला ?
यौन अपराध वा बलात्कारलाई प्राचीन कालदेखि अति नै निन्दनीय र गहन अपराध मानिन्छ। हाडनाता करणीका अपराधीलाई कठोर दण्डको व्यवस्था किरातहरूको धर्मशास्त्र मुन्धुममा उल्लेख छ। किरातकालमा विवाहित स्वास्नीलाई करणी गर्ने जारलाई साधुले काट्न पाउने प्रावधान भएको नेपाल कानुन परिचर्चा अंक २ मा उल्लेख गरिएको छ। मनुस्मृतिमा जबर्जस्ती करणी गर्ने पुरुषको लिंग छेदन गरी मृत्युदण्ड दिनू भन्ने उल्लेख गरेबाट पनि वर्तमानमा भन्दा प्राचीनकालमा यस प्रकारको अपराधलाई कति गम्भीररूपमा लिएको रहेछ भन्ने कुरा दण्ड सजायको व्यवस्था गरेबाट प्रस्ट हुन्छ।
हिन्दु समाजमा बलात्कृत महिलाले सामाजिक बहिष्कारसम्म व्यहोर्नुपर्ने अवस्था त छँदैछ। त्यसैगरी प्राचीन रोम समाजमा समेत बलात्कारलाई गहन अपराध मानिन्थ्यो। रोमन कानुनअनुसार घटनास्थलमै बलात्कारी भेटेको खण्डमा केटीका बाबुलाई बलात्कारी मार्नेसम्म अधिकार थियो। यो धारण विस्तारै युरोप र अमेरिका हुँदै विश्वभरि यौन आपराधलाई गहन अपराधका रूपमा लिन थालियो।
बलात्कारीलाई विभिन्न देशमा भिन्नभिन्नै दण्डको व्यवस्थामध्ये हाल भारतमा निर्भया बलात्कार काण्डपश्चात् बलात्कारीलाई मृत्युदण्डसम्म दिइयो भने चीन, अरबी देशहरूमा मृत्युदण्डकै व्यवस्था रहेको छ। नेपालमा हाल आएर बलात्कारपीडित महिलाको उमेर हद हेरेर जन्मकैदसम्मको व्यवस्था गरिएको छ।
६० प्रतिशत बलात्कारनजिकाका नाता पर्नेले गर्ने कुरा विभिन्न घटनाबाट प्रस्ट भइसकेको छ भने २० प्रतिशत चिनजानका व्यक्तिले भने बाँकी २० प्रतिशत अन्जानबाट हुने गरेको तथ्य प्रकाशित भएको छ। विश्वको शक्तिसम्पन्न राष्ट्र संयुक्त अधिराज्य अमेरिकाको सन् १९९२ को तथ्यांक हेर्ने हो भने एक लाख नौ हजार ६२ वटा बलात्कारका घटना अमेरिकामा दर्ता भएका छन् भने जसमा १६ प्रतिशत १२ वर्षमुनिका बालिका बलात्कृत भएका थिए। ती १२ मुनिका बालिका भने सबै आफ्ना नातेदार र चिनजानका व्यक्तिबाट। सन् १९९३ देखि २०१३ सम्ममा बलात्कारका घटना एकदम घटेको छ भने २०१७ मा केही बढेर एक लाख पुगेको छ। तर पनि १९९२ को तुलनामा २०१७ मा अमेरिकामा बलात्कारको घटना कम भएको छ।
बलात्कारका घटना हेर्दा सबै बालिकादेखि वृद्घासम्मले हरेक पुरुषलाई बलात्कारी देख्छन्। यस अवस्थामा हाम्रो समाज सकारात्मक दिशातर्फ कसरी अघि बढ्ला ?
छिमेकी राष्ट्र भारतको कुरा गर्ने हो भने दिनप्रतिदिन सयौंको संख्यामा बढ्दै गएको छ। सन् २०१३ मा करिब १० हजार, २०१४ मा करिब १५ हजार, २०१६ मा १९७६५ बलात्कृत भएका छन्। भारतमै दुई सयजना भारतीय छात्रालाई बलात्कृत गर्ने शिक्षकलाई प्रहरीले गिरफ्तार गर्यो। भारतमा तान्त्रिक तरिकाले महिलालाई सन्तान प्राप्त गराइदिने बहानामा सात सयजना महिला बलात्कार गर्ने राम प्रसादलाई प्रहरीले समात्यो। शिला नाम गरेकी महिलालाई बलात्कारपछि हत्या गरेपछि यो नक्कली तान्त्रिकको रहस्य खुलेको थियो।
नेपालको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको ०५१÷५२ को प्रतितेदनमा जम्मा ९८ जान महिला बलात्कृत भएका थिए भने चारजना पाँच वर्षमुनिका नाबालिका थिए। सोही अवधिमा काठमाडौंमा जम्मा मात्र २१ बलात्कार भएका थिए भने हाल राजधानीमा ४२ बलात्कार भएका छन् भने नेपालभर ५२ दिनमा २२५ वटा बलात्कार घटना भएका छन्।
बलात्कारका कारण
बलात्कार एक जघन्य सामाजिक अपराध हो। नारीमाथि गरिने सबैभन्दा पीडायुक्त, अमर्यादित, अमानवीय अपराध हो। बलात्कार मात्र यौनेच्छा पूर्ति गर्न मात्र गराइएको छैन, यो सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि कारणले पनि बलात्कारका घटना भएका छन्। बलात्कारका घटना हेर्दा सामूहिक बलात्कार बढीभन्दा बढी अपरिचित व्यक्तिबाट भएको पाइएको छ भने व्यक्तिगत बलात्कार नजिकका चिनेजानेका व्यक्ति हुँदा बलात्कारपछि हत्या हुने गरेको पाइएको छ।
मनोवैज्ञानिक कारण
बलात्कारीलाई मानसिक रोगी पनि भनिन्छ, तर सबै बलात्कारी मानसिक रोगी हुँदैनन्। यस्ता व्यक्ति महिलाप्रति नकारात्मक सोच राख्ने हुन्छन् भने बालिकासँग यौनेच्छा राख्ने हुन्छन्। प्रसिद्ध यौनशास्त्री एवं मनोवैज्ञानिक सिगमन फ्रायडका अनुसार यौन विकृतिको प्रमुख कारण मानिसले बाल्यकालमा प्राप्त गरेको गलत शिक्षा नै हो।
यौन शिक्षाको अभाव
वर्तमान अवस्थामा यौन शिक्षालाई विकसित देशहरूमा महत्वका साथ शिक्षा दिने गरेकाले उक्त देशमा बलात्कारका घटना हुँदै गएका छन्। अल्पविकसित देशहरूमा भने यौन शिक्षाका कमीले यस्ता घटना बढ्दै गएका छन्।
नशाको प्रभाव
मादक पदार्थ, लागूपदार्थ, एवं यौन उत्तेजना औषधि प्रयोगले मानिसलाई मानवीय संवेदना निकै टाढा पुर्याउने हुँदा उनीहरूले सामाजिक मूल्य र मान्यता बिर्सेर अझ भन्नुपर्दा लागूपदार्थ दुव्र्यसनीले यस्ता घटना गराउने गरेको पाइन्छ।
अश्लीलताका कुरा
वर्तमान सञ्चार युगमा यौन उत्तेजना फैलाउने खालका अश्लील चलचित्रमा हरेक व्यक्तिको पहँच पुगेकाले पनि यस्ता घटना हुने गरेको पाइन्छ। अझ यस्ता चलचित्र बालबालिकालाई देखाई उत्तेजित बनाएर बलात्कार गर्ने गरेको पनि पाइन्छ।
अन्त्यमा बलात्कारविरोधी अभियन्ता नादिया मुराद र डेनिस मुकवेलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेबाट पनि के प्रस्ट हुन्छ भने विश्व यस्ता घटनालाई निस्तेज पार्न कसरी लागिपरेको छ। यो कुनै पनि ठाउँमा घटना हुन्छ र विकसित देशमा दोषीले उन्मुक्ति पाउँदैन। हाम्रो देशमा भने २०३८ साल पञ्चायत कालमा भएको (नमिता–सुनिता) बलात्कारी घटना सेती नदीको गर्भमै तुहियो। प्रधानमन्त्रीको भनाइअनुसार करिब दुई महिनाअगाडिको निर्मला बलात्कारपछि हत्याकाण्ड पुँजीवादले ल्याएकाले १२ वर्षसम्म लाग्न सक्छ। यसले बलात्कार घट्ने होइन, बढ्नेछ भन्ने प्रस्ट पार्छ।
—केसी मानवशास्त्री हुन्।