ताल्चा
केही फरक पर्ने छैन
पर्खाल या कारागार नै होस्
निकासविहीन हुन्न
ढोका हुन्छ नै
या एक दिन
कुनै न कुनै दिन, ढुक्कै हो यो
भत्काइन्छ त्यो
ढोका खुल्लै हो भने पनि
बन्द गरेको गराइएको भन्न नि सकिन्छ
खिया लागेको हुन सक्छ, लाग्दै जान सक्छ
राज्य छटपटिएको हुन सक्छ
कुनै नियमले बाँधिएको पनि हुन सक्छ
या केही न केही भएको हुन सक्छ
खुल्लै भए पनि बन्दको स्वाङ पारेको हुन सक्छ
कति दिन या कति नै युग झुक्याउन सकिन्छ र ?
संसारमा ढोकाको उपस्थिति कुनै बेला थिएन
ढोकाले पनि कैल्यै
हो, कैल्यै ताल्चाको अपेक्षा गरेको थिएन सायद
सुदूर गाउँ या
सहरको मध्य भाग
भान्सा, बेडरुम, न्यायालय, संसद्भवन, सडक जहाँ पनि
शक्तिहीनहरू लुटिएको छ, थुनिएकै छ
किन उनीहरूको रगतसँग डर लाग्दैन ?
किन विश्वको हरेक कुना सर्पको चिसो जिब्रोको स्पर्शबाट मुक्त छैन ?
को को किन मौन बस्छन्
पक्ष पनि विपक्ष जस्तो मात्र
विपक्ष पनि पक्ष हो कि जस्तो
सबैलाई थाहा नहुने छैन
जति नै शक्तिशाली भए पनि
एक खेप त पक्कै सोच्नै पर्नेछ
चाबीहरूलाई सधैं त थुन्न सम्भव रहेन, छैन
याद यति चैं नगरी हुन्न है
जस्तो कि ताल्चा भन्नु त
अर्थात् सरकार हो, सत्ता हो,
कुनै पनि समय या युगको
खासमा चाबी त हामी पो हौं
यसो हो, ठीक सोचौं
ताल्चालाई भन्दा चाबीहरूलाई विकल्प ज्यादा हुन्छ है !