शैलेन्द्र साकारको कविता - बकपत्र
प्रत्येक चरालाई नांगो शब्द बनाउनुपर्ने
प्रत्येक शब्दलाई जैविक चरा बनाउनुपर्ने
म कविता ।
पृथ्वीबाट भाग्न नपाउन्ज्याल
भाग्नेहरूको ताँतीमा कविताको
कुम्लो कुटुरो बोकेर
कलाकारहरूलाई लिएर
चन्द्रमा जान तम्सिएका व्यापारीहरूलाई
पृथ्वीबाट छोपिएको चन्द्रमाको अँध्यारो मुख
देखाउने म कविता ।
किताबलाई होइन, जीवनलाई छुने
अन्तिम व्यक्तिको खोजीमा ।
राक्षसहरू बीचको विभीषण
र, जनताको मुक्तिका लागि मृत्युवरण गर्न प्रस्तुत ।
काल्पनिक पृथ्वीको खोजीमा
आफ्नो पृथ्वी ध्वंश नगर्ने
दुई प्रतिद्वन्द्वीहरूका बीच अदृश्य न्यायाधीश
अथवा दुई खोलाहरूको बीच अदृश्य तिर्खा
अथवा थुप्रै टुहुराहरूका बीच अपरिचित पिता
अथवा थुप्रै जन्मान्धहरूको जैविकजस्तै पिता
अथवा बलात्कारित मनहरूका बीच
एकमात्र संवेदनशील आस्था ।
प्यूपा विम्बहरूलाई पुतली बनाएर
बगैंचामा डुलाइरहने
म पुस्तक बगैंचा
जीवित हावापानी र आगोको
एक मात्र वितरक— म ब्रह्म बच्चा ।
अथवा कलाकार भ्यानगगको
काटिएको एक मात्र कान
जसबाट चुहिरहेछ हर्दम रगत–विम्ब
हो, त्यही चुहिइरहेको रगतको आहालमा
छटपटाइरहेछ कविता ।
अथवा प्रमिथसले चोरेको आगो
जो प्रत्येक घरमा निभिसकेको छ
त्यही निभिसकेको खरानी बोकेर
म निस्केको छु संसारमा ।
जहाँ अँध्यारोले चारैतिर खोजिरहेछ
कविताको आगो
र जहाँ अँध्यारो चारैतिर चम्किरहेछ
कविताको आगोमा ।