विप्लव प्रतीकको कविता - बा
उही हो घर,
उही कोठा,
सब आफ्नो ।
पुस्तक, टीभी, रेडियो
सब मैले चिनेका ।
दराज, सिरक, पत्रपत्रिका, ओछ्यान
सब हाम्रो ।
सब परिचित,
तर, केही अनौठो लागिरहेछ
केही फरक महसुस भइरहेछ,
हो, ओछ्यान छ, तर न्यानोपन हराएको ओछ्यान,
बडो उदास देखिन्छ यो— चिसो ।
यो आज एक्लै सुत्नेछ
वा ओल्टेकोल्टे फेर्नेछ या आज रित्तै हुनेछ यो ।
टीभी बन्द रहनेछ, चुप रहनेछ रेडियो
पुस्तकहरू हत्केलाको सिरानी बनाएर
दलिन हेर्दै बस् टोलाइरहनेछन्,
पत्रपत्रिका घोप्टो परेर रुङ्नेछन्,
सिरक भित्तातिर फर्केर कुर्नेछ ।
यी कोट, पाइन्ट र कमिजहरू
ह्यांगरबाट केही दिनपछि हराउनेछन्
जसरी हराउँछन् केही सम्झनाहरू स्मृतिबाट धूमिल हुँदै ।
यो घरबाट एउटा आवाज हराउनेछ
यो घरबाट एउटा छायाँ हराउनेछ,
यो घरको कुनाबाट रिक्त हुनेछ स्नेह
र, यो घरको जगको एउटा इँट खुकुलो हुनेछ ।
बा, घरबाट हराउनुभएको छ ।