वीरचरित्र : स्मृतियान
करिब एक सय १५ वर्षअघि लेखिएको वीरचरित्रलाई नयाँ समयमा पढ्दा कस्तो हुने हो ? चेतनाको कुन दृष्टि समाएर पुनर्पठन गर्नुपर्ने हो ? एउटा सापियन्सले नपुगेर सापियन्स सापियन्स भएको समय छ।
कतिपय पुस्तकको सम्झना मात्रैले पनि हामीलाई विगतको विशेष क्षणमा पुर्याउँछ। मानौं पुस्तक स्मृतियान हो, जो सररर कतैबाट अवतरित हुन्छ र हुलेर हामीलाई यानभित्र विगतको गन्तव्यतिर उडान भर्छ। त्यस्तै गीत, सुगन्ध वा फूलले पनि हामीलाई विगतको बेग्लै संसारमा हुत्याउँछ। कहिलेकाहीँ जीवन नबुझिने लाग्छ।
महिनादिन, वर्षदिन अघिको घटना बिर्सिइन्छ तर बाल्यकालको स्मृति ताजै रहन्छ ? त्यस्तो कसरी सम्भव हुन्छ ? अनौठै लाग्छ ! तर, थोरै घोत्लने हो भने कारण त्यति अनौठो छैन। स्मृति समयले भन्दा संवेदनाको सघनताले नापिन्छ। संवेदनाले स्मृतिलाई विस्मृतिमा जान रोक्छ। यस्तै प्रसंगमा स्कुले दिनमा पढेको तिलस्मी उपन्यास ‘वीरचरित्र’ मेरो मानसमा गढेर बसेको छ। केही आभाषले संकेत गर्छ। कथानकको सम्झना धुमिल तर पुस्तकले उत्पन्न गरेको प्रभाव भने गाढा।
स्मृति एक : पचासको दशकमा घोरेपानी बसियो। एक्यापको कर्मचारी भई। त्यो अढाई वर्ष आफ्नै रोजाइको आत्मनिर्वासनको वर्षजस्तो बन्यो। गुराँसको घना जंगललाई पछिल्तिर छाडेर घोरेपानीदेखि उत्तरदिशा ओह्रालो झरे आधा घन्टामै चित्रेफलाटे आइपुगिन्छ। उबेला थकालीहरूले मुस्ताङ जान प्रयोग गर्ने चल्तीको बाटो। पोखरा बेनीको बाटो बनेपछि ओझेलमा पर्यो।
गुराँसे वन मानौं, घोरेपानीको अग्लाईबाट तल झर्न मान्दैन बरु खस्रुका रूखहरू अघि सर्छन्। महिनैपिच्छे संरक्षण समितिको बैठकमा संरक्षणकर्मी कमल थापासँग चित्रेफलाटे, सिखघार र नारच्याङ पुग्नुपर्ने जिम्मेवारी ! चित्रेफलाटेको बाटैभरि, कान्लैभरि रूखहरू निख्रिँदै पोथ्रापोथ्री भेटिन्छ। पर्यटकीय मार्ग भए पनि ऊ बेला चित्रेमा नमस्ते, धौलागिरि होटेल र एकाध भट्टीपसल मात्र थियो। बस्ती प्रायशः सुनसान हुन्थ्यो।
एकदिन चित्रेको दोबाटोमा फिल्डबाट फर्कंदा सिन्कामा धागो बाँधेर टपरामा चामल, तिल, जौ हालेको, कुखुराको भुत्ला फरर हल्लिरहेको, कालोे ध्वजा नजिकैको बोटमा टांगिएको, रगत यत्रतत्र छरिएको र माटो कोतारिएको दृश्यमा आँखा पुग्यो। कसैले भूतप्रेत पिचास, बोक्सी भगाउन प्रचलित धार्मिक विश्वास अनुरूप कर्मकाण्ड गरेको थियो। त्यो दृश्य देखेपछि मलाई सम्पूर्ण वातावरण रहस्यमयी लाग्दै गयो। मानौं चित्रेफलाटे पर्यटकीय बस्ती होइन, बरु महिनौं हिँडेपछि पुगिने रसातलको कुनै चमत्कारिक लोक होे।
भूतप्रेत, पिचास, बोक्सी, डाकिनी बास गर्ने। अनायस भाव प्रकट भयो, वीरचरित्र, जुन पुस्तक मैले कक्षा ६ वा ७ को विद्यार्थी छँदा पढेको थिएँ। त्यो पुस्तकमा कतै चित्रेफलाटेजस्तै स्थानको वर्णन छ। ऐयारले अद्भुत काम यस्तै लोक वा भूखण्डमा गरेको छ। चित्रेफलाटेको वर्णन नहुन पनि सक्छ। तर मलाई त्यस्तो लाग्यो। त्यो दृश्यसँग वीरचरित्रको कथानक सोहोरिँदै नजिक आएजस्तो अनुभव भयो।
वीरचरित्र पढ्दा पक्कै मभित्र सघन रोमाञ्च, भय वा विस्मयभाव उब्जेको हुनुपर्छ। करिब ४० वर्षअघि अद्भुत स्वैरकल्पनाले निथ्रुक्क भिजाएको मेरो मस्तिष्क अझै पूर्णतया सुकिसकेको रहेनछ। पुस्तकका प्रभावहरू स्मृतिका वाष्प बन्दै यी हरफमा अनुदित भएको अनुभव गर्दैछु। त्यसैले त्यो दृश्य स्मृतियान बन्यो र मलाई बाल्यकालको स्वप्नलोकतिर लिएर उड्यो।
स्मृति दुई : विसं २०७४ को वैशाखमा काम विशेषले म पाल्पामा थिएँ। स्कुले जीवनमा सिद्धार्थ राजमार्ग अनेकौं पटक हिँडियो। तर, पाल्पामा बस्ने अवसर मिलेको थिएन। कहिले बर्तुङबाटै, कहिले पाल्पा बस स्टेसनमा थोरै समय रोकेर बस कुदिहाल्थ्यो। तर, यसपालि केही दिन बस्ने, अन्तरकुन्तर हेर्ने र श्रीनगर डाँडा घुम्ने मौका मिल्यो।
फिल्ड कार्यक्रम सकेर एक साँझ ह्वाइट लेक होटेलको रूफटपमा कागती चिया पिउँदै थिएँ। गोधूलि साँझ भर्खर उदाएको थियो। माछाको कत्लाजस्तो गह्रामा बसेको पाल्पाबाट दक्षिणमा तल प्रवास र बुटवलतिर मोडिएको राजमार्ग देखिन्थ्यो। गाडीहरू उकालो चढिरहेको वा बुटवलतिर झरिरहेको दृश्य वास्तवमै मनमोहक थियो। तर, पश्चिम दिशामा त्यस्तो केही देखिँदैनथ्यो।
अन्धकारजस्तै चौतर्फी ढाकिएर उभिएको पातलो बस्ती बोकेको डाँडाहरू उस्तै रहस्यमयी देखिन्थ्यो। निर्जन। मान्छेभन्दा बढी अरू नै बस्नेजस्तो ! मौन बसिरहेका थिए, अनायस वीरचरित्रका सेटिङ यही यस्तै भूखण्डमा भएको हो भन्ने भाव मनमा पलायो। पश्चिम नेपालका यही पाल्पा, नजिकैको रिडी, अर्घाखाँचीतिर।
जीवनमा कुनैबेला दुई/चार हप्ता समय निकालेर वीरचरित्रमा वर्णित यी स्थानहरू घुम्नुपर्छ भन्ने सोचाइ आयो। अहिले सोचाइ मत्थर भएको छ तर मरेको छैन। फेरि वीरचरित्र पढ्छु र त्यसले एक हदको प्रभाव अझ पनि उत्पन्न गर्यो भने यात्राको योजना बनाउनु पर्ला। तर अनुमान गर्छु, त्यस पुस्तकले मभित्र कहिल्यै प्रलय नहुने संसारको निर्माण गरेको रहेछ। नत्र किन इलन मस्कले अन्तरिक्षमा पर्यटक पठाउने युगमा मध्यकालीन तिलस्मी कथाले आकर्षित गरिराख्छ ?
तेस्रो स्मृति : तेस्रोे स्मृति प्रचलित भाष्यमा स्मृति होइन। तर, आलोचनात्मक दृष्टिले हेर्दा स्मृति नै हो। हामीले केही भन्नासाथ, केही गर्नासाथ त्यो समय बितिसक्ने भएकोले त्यो पनि स्मृति नै हो। तात्तातो स्मृति। समयको खातमा त्यो विस्मृत हुन्छ, हुन्न, त्यो अर्कै पक्ष। तेस्रो स्मृति छरिएका छन्।
वर्ष दिनअघि, लेखकत्रय राजकुमार बानियाँ, विमल आचार्य, गुरुङ सुशान्तसँग खोकना घुम्न निस्केको थिएँ। शनिबारको दिन। लेखक वृत्तमा साहित्यकै त कुरा हुन्छ। कहाँबाट सन्दर्भ ‘वीरचरित्र’को आयो। मैले भने ‘त्यो किताब फेरि पढ्न मन छ। हेर्नुछ, अबको पटक त्यसले कस्तो प्रभाव उत्पन्न गर्छ।’
विमलजीले कतै पाउने कुरा गरेको थिए, सबै रमरमको प्रभाव क्षेत्रमा भएकोले सम्झन सकिनँ, सन्दर्भ पनि अर्कैतिर मोडियो। फलफूलको रस र हास्यरसमा शनिबार अद्भुतै भिजेको थियो।
केही महिनाअघि हिमालय रिडर्स कर्नरले वीरचरित्र वा वीर सिक्काको कभर फेसबुकमा राखेको थियो। मैले उपलब्ध भए, बुक गर्दिनु भनी अनुरोध गरेँ। सायद उपलब्ध रहेनछ। प्रतिक्रिया आएन। समय बित्दै गए तर स्मृति बितेन। उल्टो, स्मृति झन् ब्यँतियो, जब ‘फुर्सद’का संयोजक दीपक सापकोटाले कुनै पुस्तकको आफूमा परेको प्रभावबारे लेख्न आग्रह गरे। हठात् ‘वीरचरित्र’ स्मृतिपटमा देखा पर्यो।
स्मृति पर्याप्त छ तर पुस्तकको कथानक लगभग बिर्सिइनै सक्यो। पुस्तककै बारेमा चाहिँ के भन्ने ? सोचमा परेँ। र, फेसबुकमा लेखेँ ‘कसैसँग वीरचरित्र उपलब्ध भए, जानकारी पाउँ। फेरि पढ्न मन छ।’ आश्चर्य, विमल आचार्यले १५ मिनेट पनि नबित्दै वीरचरित्र आफूसँग रहेको र उपलब्ध गराउने बताए। आनन्द लाग्यो। वि.सं १९६० मा प्रकाशित ‘वीरचरित्र’ लेख्य रूपमा नेपालकै पहिलो उपन्यास मानिँदोरहेछ। नेपाल प्रज्ञा प्रतिष्ठानले आख्यानको शतवार्षिकी यसै उपन्यासलाई आधार मानेर मनाएको थाहा पाएँ।
उपसंहार : पुन वीरचरित्र पढी यो संस्मरण लेख्दा मज्जा नआउला। ४० वर्षे लक्का स्मृतिका केही धुमिल बिम्बहरू भने सल्बलाइरहन्छ। गिरिशवल्लभ जोशीकृत उपन्यासको नायक अग्निदत्त, वनझाक्री, रहस्यमयी तालतलैया र गुफा, स्नानादी, मोहपासमा पार्ने बिखालु सुन्दरीहरू, राक्षसनीले रासलीलापश्चात ‘ढुंगाको पुतली’ बनाएको सन्दर्भ, क्षणमै बिलाउने, प्रकट हुने र बहुरूप धारण गर्ने ऐयारहरू, भिर्कोट, मुसीकोट, रिडी, उल्लेरी र बागलुङजस्ता स्थान र काम, क्रोध, ईष्र्या, महत्वाकांक्षामा बुनिएको आख्यान।
करिब एक सय १५ वर्षअघि लेखिएको वीरचरित्रलाई नयाँ समयमा पढ्दा कस्तो हुने हो ? चेतनाको कुन दृष्टि समाएर पुनर्पठन गर्नुपर्ने हो ? एउटा सापियन्सले नपुगेर सापियन्स सापियन्स भएको समय छ। वैज्ञानिकका अनुसार, आधारभूत तहमै मान्छेको सोच्ने क्षमतामा गुणात्मक परिवर्तन भएकोले सापियन्स सापिन्यस। तर, नेपाल लोकमा त्यसको सान्दर्भिकता कति होला ? थाहा पाउने इच्छा छ तर उपाय छैन। बरु एउटैै कुरामा नियन्त्रण छ। विमलजीको मोबाइल पर्खनु ! उनले किताब लिएर आउनुअघि खबर गर्छु भनेका छन्।