चीनबाट रेल ल्याउँदा ४ सय खर्ब लाग्छ, सजिलो छैन रेल : डा. महत
पोखरा : नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारका हावादारी गफले विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।
पोखरेली लेखक संघको आयोजनामा पोखरामा शनिबार भएको संघीय प्रादेशिक एवं स्थानीय कर प्रणाली विषयक अन्तरक्रियामा बोल्दै पूर्व अर्थमन्त्री महतले ‘सरकार हावादारी गफ गर्न मै सिमित रहेको’ टिप्पणी गरे ।
डा. महतले भने, ‘चीन र भारतबाट रेल ल्याउने विषय सजिलो छैन । चीनबाट रेल ल्याउँदा ४ सय खर्व लाग्छ । र भारतबाट रेल ल्याउँदा पनि त्यस्तै महंगो पर्ने भएकोले ऋण लिएर रेल ल्याउन सम्भवना छैन ।’
सरकर दुरदर्शी, व्यवस्थापकीय क्षमता, इमान्दार हुनु पर्नेमा त्यसो हुन नसकेको महतको भनाइ थियो । सरकारका गलत काम र रबैयालाई सुधार गर्न नेपाली कांग्रेस सचेत हुनुपर्ने पनि उनले बताए ।
सरकारसँग देशलाई विकास र समृद्धितर्फ लग्ने कुनै योजना र कार्यक्रम नहुँदा देश झनै परनिर्भर तर्फ धकेलिएको उनको दावी छ । संघ, प्रदेश र स्थानीय सरकारहरुले अनुउत्पादक क्षेत्रमा बढी खर्च गरेको, भत्ता, सेवासुविधामा रमाएको डा. महतको आरोप छ ।