एन्फाले अपमान गरेको रेफ्रीको आरोप
काठमाडौं : पूर्वफिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिशोधको आधारमा आफूमाथि गम्भीर अपमान गरेको आरोप लगाएका छन्।
गिरीले शनिबार पत्रकार सम्मेलन गरी विश्व फुटबल महासंघ (फिफा) को आयोजनामा अक्टोबर ९ देखि १४ तारिखसम्म सञ्चालित रेफ्री इन्स्टक्टर कोर्समा सहभागी बन्न जाने क्रममा आफू थाइल्यान्डको एयरपोर्टमा पुगेपछि फर्कनु परेको तीतो यथार्थ सुनाए।
‘फिफाको आयोजनामा हाल जारी कोर्स फर रेफ्री इन्स्ट्रक्टरमा मसहित सुरेन्द्र शिख्रकार र कल्पना शर्मा मनोनयनमा परेका थियौं। फिफाले नै पठाएको एयर टिकटमा म अक्टोबर ८ तारिख थाइल्यान्ड पुगेको थिएँ। यस विषयमा मैले एन्फाका प्रवक्ता किरण राईलाई पनि जानकारी गराएको थिएँ। तर त्यहाँ पुगेपछि एन्फाले अन्य तीन जनालाई सिफारिस गरेको जानकारी पाएपछि म अपमानित भएर फर्कन बाध्य भएँ,’ गिरीले भने।
गिरीले आफूले उक्त कुरा थाइल्यान्डमा पुगेर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बताए पनि शेर्पाले आफ्नो कुरालाई बेवास्ता गरेको आरोप लगाए। गिरीको नाम फिफाले पठाएको पत्रमा समेत उल्लेख छ। तर, एन्फाको अन्तर्राष्ट्रिय निकाय हेर्ने नवीन पाण्डेले गिरी र कल्पनाको स्थानमा रेफ्री लव खत्री र शैलेश जोशीलाई पठाएको खबर गिरीले थाइल्यान्ड पुगेपछि मात्र थाहा पाएको बताए। कल्पना भने त्रिभुवन विमानस्थलबाट घर फर्किएको बताइएको छ।
‘थाइल्यान्डमा पुगेर पनि कोर्समा सहभागिता जनाउन नपाउँदा मैले ३२ वर्ष फुटबलमा गरेको लगानी खेर गएको महसुस गरेको छु। एन्फाकै जिम्मेवार पदाधिकारीले मलाई कोर्समा सहभागी नगराउन पत्र लेखिएको थाइल्यान्ड पुगेर मात्रै थाहा भयो।
नेतृत्वका लागि परिवर्तनको नारा दिएका पदाधिकारीले व्यक्तिगत आग्रहकै आधारमा यसरी नै काम गर्दै जाने हो भने भविष्यमा फुटबलमा आउन चाहने व्यक्तिले १० पटक सोच्नुपर्ने हुन्छ,’ गिरीले भने। उनले कोर्स जारी रहेकोले सकिएपछि आफूले फिफामा उजुरी दिने पनि बताए।