पन्ध्र पृष्ठको मतपत्र, ८ सय उम्मेदवार, कसरी हाल्ने भाेट ?
काबुल : आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका। अनि मतपत्र १५ पृष्ठको। तर मत दिने हो एकजनालाई। अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दै छन्। अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८ सयजना उम्मेदवारको तस्बीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ। त्यो पनि एकजना मात्र।
एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दै छन् अफगानिस्तानका मतदाता। अर्कातर्फ विद्रोहीले मत हाल्न नजान र गएमा आक्रमण गर्ने भनी दिएको धम्की झेल्नु त छँदै छ। तैपनि अफगान नागरिकले तालिबानबाट निरन्तर खतरामा रहेको यस शहरमा मतपत्रमा आफ्ना उम्मेदवार छनोट गर्न निकै मिहिनेत गर्नुपर्नेछ।
अक्टोबर २० मा अफगानिस्तानमा संसद्को तल्लो सदनको निर्वाचन हुँदै छ। उक्त निर्वाचनमा करिब २ हजार ५ सयजनाले उम्मेदवारी दिएका छन्। ढिलागरी आह्वान गरिएको अफगानिस्तानको संसद्को तल्लो सदन वोलेसी जिर्घामा प्रतिनिधित्वको निर्वाचनका लागि ठूलो संख्यामा उम्मेदवारी दिइएको छ। ठूलो संख्यामा उम्मेदवारी दिएकाले यति काबुलका मतदाताका लागि भने अप्ठेरो परेको छ। यहाँका मतदाताले एकजनालाई मात्र मत हाल्नुपर्नेछ तर मतपत्रमा उम्मेदवारको संख्या भने ८ सय रहेका छन्।
उनीहरूलाई १५ पृष्ठको सो मतपत्रबाट छानेर एकजनालाई मात्र मत दिन गाह्रो हुनसक्ने समाचारमा जनाइएको छ। त्यो मतपत्र एउटा ट्याबलोइड अखबारको आकारमा छ। यो मतदान प्रक्रिया बढी नै जटिल हुने देखिएको छ। जसका कारण उम्मेदवारहरूले मतदाताहरूलाई आफ्नो पहिचान दिन नम्बर याद गराएर प्रचार प्रसार गर्ने गरेका छन्। प्रचारका क्रममा उम्मेदवारहरूले मतपत्रमा आफ्नो तस्बीर कति पेजमा छ र कस्तो छ भनेर मात्र चिनाउने गरेका बताइन्छ।
साथै उम्मेदवारले मतपत्रमा छापिएको आफ्नो तस्बीर पनि टेलिभिजन र पत्रिकामार्फत प्रचार गर्ने गरेका छन्। प्रचार सामग्रीमा उम्मेदवारहरूले ‘यो तस्बीर यति पेजमा छ हेर्नुहोला’ भनेर आफ्नो तस्बीर चिनाउने गरेका छन्। यो निर्वाचनमा पनि पहिलेजस्तै तालिबान र इस्लामिक स्टेटले कारबाही गर्ने जनाएका छन्। उनीहरूले मतदान केन्द्रमा पनि हमला गरिरहेका छन्। उनीहरूले मतदान गर्न नजान सर्वसधारण नागरिकलाई भनिरहेका छन्।
एएफपी