परदेशको दसैं
मनको कुनै कुनामा चाडपर्वमा परिवारजनसित भेट्न नपाएको पीडाले सर्पझैं डस्छ। देश फिर्न नपाएको दुःख छँदै छ।
आज दसैंको महाअष्टमीको दिन हो। साथीहरूले खसी काट्ने योजना बनाएका छन्। घरदेशदेखि टाढा भए पनि गल्फमा नेपालीहरूलाई दसैंको रन्कोले गजब छुन्छ। हाम्रो क्याम्पमा बिहानैदेखि चहलपहल छ। यो वर्षको दसैं मनाउन एउटा खसी किनेर ल्याएका छन्। कोल्ड स्टोरको फ्रोजन चिकेन र मटनको भोज भतेर त सधैं नै चलिरहन्छ। तर चाडपर्वमा खसी नै काट्न रुचाउँछन्। साथीभाइको समूह, तात्तातो भुटनको साथमा चिरिप्प चिरिप्प रक्सी या बियरको चुस्की तथा नाचगानमा हुने रमझमले चाडपर्वमा मस्ती थप्छ। परदेशमा एकसाथ मिलेर गरेको खानपिनले बेग्लै आनन्द दिन्छ।
चाडपर्व त एउटा बहाना हो, दैनिकीको थकान र भौगोलिक हिसाबले टाढा हुनुको पीडा मेट्न। कुन धर्मावलम्बीको चाड हो वा कुन चाहिँ समुदायको उत्सव हो, खासै फरक पर्दैन। मुस्लिमको ईद होस या क्रिश्चियनको न्यु इयर र क्रिसमस वा हिन्दुहरूको दसैंतिहार यस्ता मौकाहरूमा रमाइलो गर्ने माहोल तयार भइहाल्छ। नेपाली संघ संगठनहरूले अनेक कार्यक्रमको आयोजन गर्छन्, भलिबल या फुटबल टुर्नामेन्ट हुन्छन्। प्रायः हरेक बिदा, विशेष वर्षमा दुई पटक आउने ईद, नेपालीको दसैंतिहार र नयाँ वर्षमा नेपालबाटै गायक तथा कलाकार झिकाएर सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन छ। नाचगान र कमेडीले कार्यक्रमलाई रमाइलो बनाउँछ। उल्लासमय क्रियाकलापले परदेशको नियास्रोपन घटाउँछ र जीवनमा केही ऊर्जा थप्छ।
साथीहरू बिहानैदेखि व्यस्त छन्। आजको काम भनेकै खानपिन र रमाइलो गर्ने हो। किचनबाहिरको खुला ठाउँमा खसी बाँधिएको छ। एकजना साथीले मार हान्ने भयो। कोही ठूलो भाँडोमा पानी तताउँदै छन्। मासुका लागि साथीहरू प्याज, गोलभेंडा काट्दै छन्। साथीहरूले काटिएको खसीमाथि तातोपानी खन्याउँदै सफा गर्न थाले। सफा गरिएको खसीमाथि बेसार दलेपछि हेदाहेर्दै खसीको स्वरूप नै फेरियो। मासु काटकुट गर्दै अनेक गफ पनि निस्किँदै छन्। हुन त मनको कुनै कुनामा चाडपर्वमा परिवारजनसित भेटन नपाएको पीडाले सर्पझैं डस्छ। देश फिर्न नपाएको दुःख छँदै छ। केहीले बिदा माग्दा पनि नपाएका होलान्। यी मनहरू चाडपर्वमा आआफ्नो गाउँघर पुगिसकेका छन्।
वास्तवमा, परदेश सजिलो छैन। आफू जन्मेको हुर्केको माटोदेखि पर रहेर बाँच्नु पर्ने पीडाले हरेक पल मनलाई चिमोट्छ। चाडपर्वको बेलामा आफ्नै घरपरिवार र आफन्तजनदेखि टाढा हुनुको व्यथाले रुवाउँछ। खोला किनार र बेंसीतिर खेतहरूमा हरियो धान लहलह झुलेको तस्बिर मनमस्तिष्कमा कोरिन्छन्। चिटिक्क लिपिएको पिँढी, आँगन र कमेरो माटोे पोतिएको घरको झझल्को आउँछ। चाडपर्वमा टाढाटाढाबाट इष्टमित्र तथा पाहुनाहरू आउँछन्। यी यस्ता माहोलदेखि टाढा परदेशको शून्यताले मन खल्लो बनाउँछ।
परदेशमा दैनिकीलाई कामले नै पेल्छ। तर मानसिक र शारीरिक तनावलाई कम गर्न रमाइलो कार्यक्रमहरूको आवश्यकता हुन्छ। सब मिलेर तयारी गर्छन्। जोरजाम गरिन्छ। साथीहरूले कोठालाई फराकिलो बनाएका छन्। केही सामानहरू खाटमुनि धकेली दिएका छन्। केही सामानलाई अलमारीमाथि पु¥याइएको छ। भुइँमा १०, १५ जना सजिलै अट्ने स्पेस बनेको छ। यहीबेला किचनबाट भुटन तयार भइसकेको संकेत आउँछ। कुक र खाना पस्किने साथीहरूबाहेक अन्य सब भुइँमा बसिसकेका छन्। सबको अगाडि प्लास्टिकको प्लेटमा भुटन छ। आजकै लागि भनेर ल्याएको बियरका कार्टुनहरू बाहिर निस्कन थाल्छन्। हातहातमा बियरको चिल्डकैन छन्। प्लेटहरूमा अनेकथरी सलाद सजिएका छन्। पापडको कडक सुगन्ध नाकको डन्डीमा ठोकिन्छ। साथमा मुखै रसाउने सेलरोटी र चटनी छन्।
अब त खानपान ढिलो गर्ने कुरै छैन। चियर्स गर्दै कार्यक्रमलाई सुरु गरिसकेका छौं। कोठामा मादकता थपिएको छ। साथीहरू दुनियाँ थरिका गफ गर्छन्। ख्यालठट्टा चल्छ। सब रमाइरहेका छन् तर मन पक्कै गाउँघरतिर परिवारजनको यादमा अल्झेको हुनुपर्छ। कल्पनामा गाउँ वरिपरिका घमाइला पाखाहरू फैलिएका छन्। यस्तो रमाइलोदेखि टाढा चाडपर्वको समयमा परदेशमा हुनु भनेको दुःखै हो। रहर होइन बाध्यता हो। घाँस–दाउराको चटारो हुन्न दसैंतिहारको बेला। बनजंगलतिर उकाली चढ्नु पर्दैन। बेंसीतिर मेलापातमा सामेल हुन ओरालो झर्नु पर्दैन। दिनहरू फुर्सदिला हुन्छन्। वन, खेत, डाँडाकाँडा हरिया देखिन्छन्। सब दसैंतिहारको स्वागतमा उभिएका लाग्छन्। यस समयमा परदेशीको मनको चरी उडेर आफ्नो गाउँघर र घरआँगनमा नपुग्ने कुरै छैन।
यसबेला कोठामा दसैंको स्वागतमा माहोल तातिँदै छ। साथीहरूका अनुहार राता भइसकेका छन् र आँखाहरू लोलाउँदैछन्। बोलीहरू लर्खराउँदैछन्। सब मस्त देखिन्छन्। एकजना भाइले आफ्नो स्मार्टफोनमा गीत बजाउन थाल्यो, ‘कुटुमा कुटु सुपारी दाना, कुटुमा कुटु,’ साथीहरू कम्मर मर्काउँदै नाच्न थाले। गल्फको गर्मी त्यसमाथि डान्सको उन्माद। सब नाचगानमा डुबेका छन्। निधारबाट पसिनाको खोलो बगेको छ। एउटा गीत सिद्धिएपछि अर्को गीत बज्दै छ, ‘वारि जमुना पारि जमुना।’ थाकेर बसेका साथीहरू नाच्नलाई फेरि जुर्मुराउँदै उठेका छन्। कोठा थर्किएको छ तर कसैलाई मतलव छैन। सब आफ्नै तालमा छन्।
नाचगानको साथसाथै खाना पनि रेडी भइसकेको छ। खाना खाएर कोही सांगीतिक कार्यक्रमतिर त कोही भलिबल म्याच हेर्न जानेछन्। कोही चाहिँ कोठामै गीत सुन्दै र तास खेल्दै बस्नेछन्। चाडपर्वको बेलामा देश फिर्न नपाएकाहरू नरमाइलो अनुभव गर्छन्। टीकाको दिन निधारहरू खाली रहन्छन्। कानमा जमरा सिउरिन पाउँदैनन्। यिनका बालबच्चाहरूले परदेशी बाआमाको आशीर्वाद थाप्न पाउँदैनन्। मनभरि घरपरिवारसित बसेर खुसी साट्न नपाएको दुःखको हावाहुरी चल्छ। यस्ता पीर घटाउन साथीहरू भेला भएर खानपिन गर्न रुचाउँछन्। कुनैकुनै देशमा राजदूतबाट अनि कतै आफ्नै क्याम्पतिर उमेर पुगेको दाइहरूबाट टीका थापेर आशीर्वाद लिन्छन्। यस्ता भेटघाटले कामको एकोहोरो रुटिनमा पिल्सिएको परदेशी मनमा केही उल्लास भरिन्छ। खुसीको लहर चल्छ।
परस्पर मित्रता, सहयोग र एकताको अभावमा यस्ता जमघटहरू सम्भव नै हुँदैनन्। भेटघाटले आपसी सम्बन्धलाई अझै कसिलो पार्छ। दिनैभरि साथमा काम गर्ने साथीहरू हुन्छन्। साथमा सुखदुःख बाँड्छन्। सामूहिक प्रोग्रामहरूले यी साथीभाइमाझ उत्साह तथा सकारात्मक सोचको अंकुरण गर्छ। संवेदनाको जरा गहिरो सल्बलाउँछ। भेटघाटहरूले नियास्रोपनको अग्लो होचो झ्यांङ छिचोल्दै खुसीयालीको सुन्दर फाँटमा ल्याई पु¥याउँछन्। मौजमस्तीको माहोल बन्छ। सधैं काममा पेलिनेहरूले एकसाथ केही आत्मीय पलहरू बिताउने अवसर पाउँछन्। यी चाडपर्वहरू बन्धुत्व तथा एकताका द्योतक हुन्। यिनले सामाजिक सहिष्णुताको माहोल सिर्जना गर्छन्।
बिस्तारै बालुवाको पहाडमाथिबाट साँझको घाम ओरालो ढल्किन्छ। भलिबल म्याच हेर्न गएका साथीहरू पनि फर्किसकेका छन्। कुन टिमले जितेको र कुनले हारेको बेली बिस्तार लाउँछन्। कोठामै तास खेल्न बसेका साथीहरू पनि खालबाट उठिसकेका छन्। सांगीतिक कार्यक्रम अबेलासम्म चल्ने हुँदा हेर्न गएका साथीहरू भने मध्यराततिर या भोलिको बिहान मात्रै फर्किनेछन्। यस्तो रमाइलो बेगर परदेश स्वादहीन र बिरानो छ।
अहिले साथीहरू नाचगान र घुमफिरको थकानलाई कम गर्न सुत्ने तयारीमा छन्। भोलि उही चिरपरिचित घाम उदाउनेछ। बिहानै कामतिर लाग्नुपर्छ।