एकै योजनालाई चार ठाउँबाट बजेट

एकै योजनालाई चार ठाउँबाट बजेट

गोरखा : सरकारी ४ र अरु गैरसरकारी संस्थाबाट बजेट खर्च भएको गोरखा नगरपालिका ७ स्थित मान्द्रेढुंगा खानेपानी योजना तीन वर्षदेखि अलपत्र परेको छ। योजना अलपत्र हुँदा निर्माण भइसकेका संरचना पनि जीर्ण भएको उपभोक्ता समितिले जनाएको छ।

२०७२ सालमा तत्कालीन जिल्ला विकास समितिको १४ लाख रुपैयाँबाट निर्माण सुरु भएको योजनाका लागि गोरखा नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन र कारितास नामको गैरसरकारी संस्थाको बजेट खर्च भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर खवासले जानकारी दिए। ‘सहयोग त सबैले गरेका हुन्, तर रिजर्भ ट्यांकीसम्म पनि पानी चलेको छैन’, उनले भने, ‘पुरानै योजनाको पानी खाइरहेका छौं।’

गाउँलेले गाउँमुनिको मूलको पानी लिफ्टिङ प्रविधिबाट तानेर झन्डै एकसय घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने उद्देश्यसहित काम सुरु गरेका थिए। आर्थिक वर्ष २०७२/७३ मा तत्कालीन जिविसको १४ लाख रुपैयाँ अनुदानमा २० प्रतिशत साझेदारी गर्न घरैपिच्छे ५ हजार रुपैयाँका दरले रकम संकलन पनि गरेको उनले बताए। जिविस र स्थानीयको श्रमदानबाट संकलित रकमले ५० हजार र ८० हजार घनमिटरको दुईवटा ट्यांकी र इन्टेक निर्माणको लगायत काम भए पनि रकम अभावका कारण काम अधुरै रहेको उनको भनाइ छ।

निर्माण सुरु भएको दोस्रो वर्ष अर्थात आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन जिविसले थप १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेबाट जिआई पाइप र पोलिथिन पाइप खरीद गर्नुका साथै पालेघर निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ। सबै काम पूरा गर्न नसक्दा १५ लाखमध्येको ५ लाख रुपैयाँ फ्रिज भएको खनखवासले बताए। 

सोही वर्ष खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २ चरणमा गरी साढे ४ लाख रुपैयाँको जिआई पाइप र पोलिथिन पाइप सहयोग गरेको थियो। त्यति सहयोगबाट पनि योजना निर्माण गरी घरघरमा पानी वितरण गर्न नसकिएको उपभोक्ता समितिका अर्का अध्यक्ष रामबहादुर खत्रीले बताए।

योजना निर्माणकै लागि यो वर्ष कारितास नामको गैरसरकारी संस्थाले ४ लाख ८० हजार रुपैया सहयोग गरेको खत्रीको भनाइ छ। सो सहयोग रकमबाट नौसय मिटर जिआई पाइप र १२ सय मिटर पोलिथिन पाइप गाडिएको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताए। योजना निर्माण सम्पन्न गर्न अझै २० लाख रुपैयाँ चाहिने उनको भनाइ छ। पालेघर निर्माण सम्पन्न गरी पानी तान्ने मोटर खरिद, घरघरमा वितरण गर्ने पाइप, थ्रीफेज बिजुली लाइन विस्तार, पोल खरिद लगायत काम गर्न उक्त रकम आवश्यक पर्ने उपभोक्ता समितिका पदाधिकारीले बताएका छन्।

चालु आर्थिक वर्ष गोरखा नगरपालिकाले सो योजना सम्पन्न गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसमा केही रकम थप्न सके यही वर्ष योजना निर्माण पूरा गरी घरघरमा खानेपानी पुर्‍याउने उपभोक्ता समितिको विश्वास छ। आयोजना निर्माण सम्पन्न नहुँदै यसअघि निर्माण गरिएका संरचना भने जीर्ण बन्दै गएका छन्। इन्टेकको ट्यांकी चुहिन थालेको छ। यसअघि गाडिएका जिआई पाइपमा पनि खिया लाग्न थालेको छ। १० बोरा सिमेन्ट जंगलमै सडेर गएको अध्यक्ष खनखवासले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.